काठमाडौं । पार्टी निर्देशन विपरित निशानछाप सम्बन्धी संविधान संशोधन खारेजीको माग गरेकी सांसद सरिता गिरिलाई समाजवादी पार्टीले कारबाही गरेको छ । समाजवादी पार्टीले सांसद गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउने तयारी गरेको हो ।
नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएर पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए । समाजवादीले सरकारले ल्याएको प्रस्तावमा समर्थन जनाएको थियो भने गिरीले सो प्रस्ताव खारेजीको माग गर्दै निवेदन दर्ता गराएकी थिइन् ।
उनलाई पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन दिएको निर्देशन अटेर गरेका कारण कारबाही गर्न लागिएको ति नेताले बताए ।
उनलाई पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बतायो । गिरी समाजवादी पार्टीको खस आर्य कोटाबाट समानुपातिक सांसद हुन् ।
संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।