मनोज भट्ट ##
०६३ साल चैत्र ७ गते रौतहट जिल्लाको गौरमा माओवादीले आयोजना गरेको कार्यक्रम स्थलमा आएर उपेन्द्र यादव नेतृत्वका कार्यकर्ताहरूले एक तर्फी रुपमा आक्रमण गरी माओवादका २८ जना कार्यकर्ताहरूलाई बर्बर ढंगबाट हत्या गरिएको थियो । उक्त हत्याकाण्ड गौर हत्याकाण्डका नामले चर्चीत छ ।
उक्त हत्याकाण्ड भारतीय सरकार तथा नेपालका दरबारीयाहरू तथा तत्कालिन सरकारको मिलोमतो र साँठगाँठमा घटाइएको थियो । गौर हत्याकाण्डमा उपेन्द्र यादवले भारतका पेशेवर हत्याराहरूलाई प्रयोग गरेका थिए । यो घटना दोहोरो भिडन्त नभएर उपेन्द्र यादवका कार्यकर्ता तथा भारतका पेशेवर अपराधीहरूले एक पक्षीय रुपमा माओवादी कार्यकर्ताहरूलाई अत्यन्तै निर्मम ढंगबाट हत्या गरेका थिए ।
यो घटनामा अत्याधुनिक हतियार एके ४७, थ्री नट थ्री, एसएमजी, माउजर जस्ता हतियारको प्रयोग भएको पाइन्छ । भारतबाट अत्याधुनिक हतियार ल्याएर अपराधिक पृष्ठभूमि भएका मान्छे नेपाल आएर घटना घटाएर भारत फर्किदा पनि नेपाल तथा भारत सरकारले थाहा नभएको वा नपाएको भन्ने कुरामा विश्वास गर्न सकिदैन ।
जानीजानी नै दुइैवटै पक्षले माओवादी कार्यकर्ताहरूको हत्या गर्ने वातावरण बनाई दिएका थिए । नेपाल सरकारलाई पनि माओवादी र उपेन्द्र पक्षले एकै स्थान, मित्ति र समयमा सभा गर्दैछन् भन्ने कुरा अग्रिम जानकारी थियो । त्यति मात्र नभएर स्थिति उत्तेजनापूर्ण रहेको जानकारी हुँदाहुँदै पनि आवश्यक सुरक्षा ब्यवस्थामा ध्यान नदिनु । माओवादीका कार्यकर्ताहरू उपेन्द्र यादव पक्षबाट मारिदा मुक दर्शक हुनु, प्रहरी कार्यालयमा सुरक्षा तथा शरण लिन गएका माओवादी कार्यकर्ताहरूलाई उल्टै उपेन्द्र पक्षका कार्यकर्तालाई बुझाई दिने जस्ता कार्य भएकोले यो घटनामा तात्कालिन सरकारको पनि सङ्लगनता रहेको कुरालाई अस्वीकार गर्न सकिँदैन ।
गौर हत्याकाण्ड दुइैवटा संगठनका बीच भएको राजनीतिक झडपको घटना नभएर अपराधिक घटना थियो । माओवादी पक्षका महिला कार्यकर्ता प्रतिमा खातुन, उषा थापा, रेखा परियार र सरस्वती उप्रेतिलाई उपेन्द्र यादव पक्षका कार्यकर्ताहरूले दर्जनौ पटक बलात्कार गर्नुका साथै गुप्ताङगमा बाँसका लाठी घोचेर, स्तन काटेर जिउदै जलाएर हत्या गरेका थिए ।
आमसभा स्थलबाट भाग्न सफल ११ जना माओवादी कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएर स्थानीय बोधीमाइ मन्दिरमा ल्याएर सामूहिक बली दिएर हत्या गरिएको थियो । कयौँलाई लखेटी लखेटी हत्या गरिएको थियो । यो हत्याकाण्डका मुख्य योजनाकार उपेन्द्र यादवका विरुद्ध रौतहट जिल्ला अदालतमा पीडितहरूले दायर गरेको जाहेरीमाथि यति वर्ष बितिसक्दा पनि कुनै कारवाही नगरेर विचाराधिन अवस्थामा थियो । अहिले सर्वोच्च अदालतले उक्त हत्याकाण्डको छानबिन तथा संलग्न व्यक्तिहरूमाथि कारवाही गर्न आदेश जारी गरेको छ ।
गौर हत्याकाण्ड माओवादी विरुद्ध भारतीय तथा तात्कालीन नेपाल सरकार र उपेन्द्र यादव बीचको साँठगाँठमा मच्चाइएको नरसंहार हो ।