गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले वर्तमान सरकारले भ्रष्टाचारी र बिचौलियालाई संरक्षण गर्दा देशमा सुशासन उल्लङ्घनका घटना बढेर गएको बताउनुभएको छ ।
भ्रष्टाचार, कालोबजारी, बलत्कार र महँगीको नियन्त्रण तथा सङ्घीयता र एमसिसी खारेजीको माग गर्दै राजमो अर्घाखाँचीले २०८२ साउन ३० गते शुक्रबार सन्धिखर्कमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो– ‘काङ्ग्रेस र एमाले मिलेर बनेको ओली नेतृत्वको सरकारले आफ्ना नेता तथा कार्यकर्ता संरक्षण र भ्रष्टाचारमा लिप्त भएको छ । त्यसले गर्दा देशमा भ्रष्टाचार बढ्दै गइरहेको छ ।’
भ्रष्टाचारी र बिचौलिया नै भए पनि आफ्नालाई काखा र अर्कालाई पाखा गर्दा देश अझ अप्ठ्यारोमा फसेको उहाँको तर्क थियो ।
राज्यका हरेक निकायमा बढेको संस्थागत भ्रष्टाचारले देशको विकासनिर्माण पछाडि परेको पनि प्रदेश अध्यक्ष खत्रीको दाबी थियो ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसीको सञ्चालनमा सम्पन्न कोणसभामा राजमो नेता शेरबहादुर बिसी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाललगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
मसालबजारबाट नाराजुलुस सहित सुरु भएको ऱ्याली चुत्राबेसी भक्तिटोलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
