तमघासबजार । गुल्मीमा राष्ट्रिय जनमोर्चाले भ्रष्टाचारको विरुद्धमा सभा सम्पन्न गरेको छ ।
राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभाकी सांसद तारा थापाक्षेत्रीको प्रमुख आतिथ्यमा २०८२ साउन २९ गते बिहीबार तमघासबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि थापाले भ्रष्टाचारका कारणले देशको विकासनिर्माण पछि परेको बताउनुभयो ।
राजमोले जनताको चेतनास्तर उठाएर भ्रष्टाचारलाई समूल अन्त्य गर्ने लक्ष्य राखेको बताउँदै उहाँले अहिले त्यस दिशामा साङ्केतिक कदम मात्र उठाएको दाबी गर्नुभयो ।
आगामी दिनमा भ्रष्टाचारका विरुद्धको आन्दोलन निरन्तर सञ्चालन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा राजमो गुल्मीका सचिव छविलाल सर्तुङी र राजमो गुल्मीका सल्लाहकार रामेश्वर खत्रीले पनि मन्तव्य राख्नुभएको थियो ।
सभाको सञ्चालन राजमो गुल्मीका सहसचिव हरि न्यौपानेले गर्नुभएको थियो ।
