काठमाडौँ । जातीय समता समाजका पूर्व महासचिव रामबहादुर नेपालीले दलित समुदायमाझको अन्तरदलित भेदभाव गौण भएको, प्रमुख समस्या वर्णाश्रम भएको बताउनुभएको छ ।
युगदर्शन मिडियालाई २०८२ साउन २९ गते भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘हामीले अन्तरदलित भेदभाव गौण हो भनेका छौँ’ उहाँले भन्नुभयो– ‘प्रमुख समस्या ब्राह्मणवादी संस्कार हो । वर्णाश्रम हो । कथित धर्मशास्त्रको आधारमा गरिएको जातीय भेदभाव र छुवाछुत हो ।’
उहाँले वर्णाश्रमको प्रभाव दलित समुदायमा पनि प्रशस्त मात्रामा परेको धारणा व्यक्त गर्नुभयो ।
‘अन्तरदलित भेदभाव दलितले आफैले बनाएका हैनन् । यो भेदभाव त वर्णाश्रमले नै बनाएको हो’ उहाँले भन्नुभयो ।
अन्तर्वार्ताको क्रममा उहाँले आफूहरूले अन्तरदलित भेदभावलाई बेवास्ता भने नगरेको बताउनुभयो ।
‘अन्तरदलित भेदभावलाई हामीले कमजोरीका रूपमा लिएका हौँ’ उहाँले भन्नुभयो– ‘हामीले दलित जनतामाझ प्रशिक्षण गर्न सकेनौँ । जनचेतना जागरण गर्न सकेनौँ ।’
दलितको समस्या वर्गीय समस्या
अन्तर्वार्ताको क्रममा उहाँले दलित समुदायको समस्या मूलतः वर्गीय प्रकृतिको रहेको दाबी गर्नुभयो ।
‘दलित समुदायमाथिको भेदभाव, छुवाछुत ब्राह्मणवादी संस्कारका कारण मात्रै होइन’ उहाँले भन्नुभयो– ‘दलितको समस्या श्रमजीवीको समस्या हो । यो अन्ततः वर्गीय समस्या नै हो ।’
कतिपयले दलित समुदायको समस्यालाई विशुद्ध सांस्कृतिक समस्या भएको तर्क गरिरहेका बेला उहाँले यो समस्यालाई आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारको समस्या भएको बताउनुभयो ।
दलित समुदायको समस्या समाधानको सन्दर्भमा उहाँले भन्नुभयो– ‘श्रमजीवी वर्गको समस्यासँगै दलित समुदायको पनि समस्या समाधान हुनेछ । त्यसैले दलित समुदायले श्रमजीवी वर्गसँग मिलेर सङ्घर्ष गर्नुपर्दछ ।’
मात्रात्मक सुधार
पूर्व महासचिव नेपालीले २०६२–६३ सालको जनआन्दोलनपछि दलित समुदायको समस्यामा केही फरक परेको स्वीकार्नुभयो ।
उदाहरण प्र्रस्तुत गर्दै उहाँले भन्नुभयो– ‘दलित समुदायले ६० वर्षको उमेरमा वृद्धभत्ता पाउँछ, जबकि अन्य समुदायले वृद्धभत्ता पाउनका लागि ७० वर्ष पुग्नुपर्दछ । यो एउटा उपलब्धि हो ।’
समावेशिता, संविधानमा भूमिहीन दलित समुदायलाई जमिन दिनु, छुवाछुतमुक्त राष्ट्रको घोषणा र केही कानुन निर्माणलगायत उपलब्धि प्राप्त हुनुलाई स्वागतयोग्य गर्दै उहाँले यसलाई मात्रात्मक सुधार मान्न सकिने बताउनुभयो ।
उहाँले माग गर्नुभयो– ‘दलित आयोग प्रभावशाली भएन । दलित समुदायको लागि बलियो कानुन बनाइनुपर्दछ ।’
अन्तर्वार्ताको क्रममा उहाँले दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र घोषणा गर्ने मागसमेत राख्नुभयो ।
पूर्वोत्तर भारतमा नेपाली बसोबासको कारण
अन्तर्वार्ताको पूर्वार्द्धमा उहाँले भारतस्थित नेपालीका समस्याबारे पनि चर्चा गर्नुभयो ।
भारतको जालन्धरमा एकता समाजको टोल समितिबाट राजनीति सुरु गरेको बताउँदै उहाँले भारतमा रहँदै तत्कालीन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा र जातीय समता समाज दुवैको महासचिव बनेको जानकारी दिनुभयो ।
पेसेवर कार्यकर्ताको रूपमा पूर्वोत्तर भारतमा लामो समय काम गर्नुभएका नेपालीले पूर्वोत्तर भारतको भूगोल र हावापानी नेपालको जस्तै भएकाले त्यहाँ नेपाली आवादी बाक्लो रहेको विचार व्यक्त गर्नुभयो ।
‘पूर्वोत्तर भारतको भूगोल ठ्याक्कै नेपालको जस्तो, हावापानी पनि चिसो’ उहाँले भन्नुभयो– ‘त्यहाँ बस्दा आफूलाई नेपालमै बसेकोजस्तो महसुस हुने भएकाले त्यहाँ धेरै नेपालीको बसोबास छ ।’
आफू पूर्वोत्तर भारतको जिम्मा रहँदा नेपालीलाई एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा यात्रापास माग्ने चलन रहेको स्मरण गर्दै उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गुवाहटीमा जुलुस गरेपछि यात्रामाथिको प्रतिबन्ध हटेको जिकिर गर्नुभयो ।
सो स्थानमा जातीय, क्षेत्रीय सङ्गठनबाट नेपालीलाई भगाउने खतरा अहिले पनि रहेको बताउनुभयो ।
उहाँको भनाइ थियो– ‘पूर्वोत्तर भारतका नेपालीको सुरक्षाको समस्या अझै पनि गम्भीर छ ।’
त्यहाँ सबैभन्दा पहिला नेपालीभाषीलाई भगाउने, त्यसपछि भारतका अन्य प्रदेशका नागरिकलाई भगाउने खतरा अझै पनि रहिरहेको भनाइ उहाँको थियो ।
कोइलाखानीको समस्या
पूर्वोत्तर भारतका कोइलाखानीमा काम गर्ने नेपालीका समस्या गम्भीर रहेको उहाँको दाबी थियो ।
‘खानी खन्दै काठको पाया राख्दै भित्र जाने, कोइला निकालेर फर्कंदा त्यही पाया भत्काउँदै बाहिर निस्कने क्रममा कैयौँ नेपालीको मृत्यु हुने गरेको छ’ उहाँले भन्नुभयो ।
भारतका पश्चिम बङ्गाल, बिहारमा ठुला ठुला कम्पनीले कोइला निकाल्ने ठेक्का लिएर मसिनको प्रयोग हुने गरेको तर पूर्वोत्तरमा नेपालीले गैँतीबेल्चा प्रयोग गरेर कोइला निकाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।
(अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=WPO6kesZV1g वाच गर्नुभयो)