कैलाली । राष्ट्रिय जनमोर्चा कैलालीले लम्की बजारमा एमसीसी विरुद्ध विरोध सभाको आयोजना गरेको छ ।
बिहीबार बिहान आयोजित सभालाई राजमो सुदूरपश्चिम प्रदेश समितिका सदस्य तिलक परियार, जिल्ला अध्यक्ष दयाराम सञ्ज्याल, सचिव जगत जोशी र नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाहीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमो लम्कीचुहा नगर समितिका अध्यक्ष रत्न सञ्ज्यालले गर्नुभएको थियो ।
सम्बोधनका क्रममा नेताहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाले नेपाललाई अमेरिकी साम्राज्यवादको क्याम्पमा जवर्जस्ती लैजाने भएकाले त्यसको खारेजीको विकल्प नभएको बताएका थिए ।

राष्ट्रिय जनमोर्चाले एमसीसीको खारेजीका लागि देशब्यापी विरोध प्रदर्शन गरिरहेको छन् । सम्भव भएसम्म अन्य राजनीतिक दल वा संगठनहरुलाई समेत सामेल गरी विरोधलाई निरन्तरता दिने राजमोले जनाएको छ ।