• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कामरेड जलजला उपन्यासको कथानक र प्रमुख पात्रहरू


  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित
  • (सन्दर्भ : जलजला उपन्यास– २०)

    Advertisement

    – मोहनविक्रम सिंह ##

    कुनै पनि उपन्यासमा कल्पनाको ठुलो अंश समावेश हुन्छ । तर त्यो विशुद्ध रूपमा काल्पनिक मात्र हुँदैन । त्यसमा वास्तविक जीवनका घटनाहरू पनि समाविष्ट भएका हुन्छन् । कुनै रचनामा, चाहे त्यो महाकाव्य, नाटक, निबन्ध, कथा वा उपन्यास आदि जुनसुकै होस्, त्यसमा लेखकको दृष्टिकोण नै प्रतिबिम्बित भएको हुन्छ । कथा वा घटनाहरूको व्याख्या लेखकको दृष्टिकोण अनुसार नै गर्ने गरिएको हुन्छ । त्यो कुरा लियो टालस्टायको उपन्यास’युद्ध र शान्ति’बारे पनि सत्य हो र कार्ल मार्क्सको पुँजीबारे पनि सत्य हो । रामायण, महाभारत, गीता, आदि जस्ता ग्रन्थहरू पनि त्यो नियमबाट अपवाद छैनन् र ती सबै लेखकको दृष्टिकोणद्वारा नै प्रभावित भएका थिए । युद्ध र शान्ति विश्वको नै एउटा महान् उपन्यास हो । तर त्यो उपन्यासमा पनि एक वा अर्को प्रकारले लेखकको जीवनप्रतिको दृष्टिकोण वा विश्व दृष्टिकोण र कतिपय व्यक्तिगत अनुभवहरू पनि समाविष्ट भएको कुरा सत्य हो ।

    कामरेड जलजला उपन्यासका प्रमुख पात्रहरू कामरेड जलजला, कामरेड अजित र सुनन्दा नै हुन् । पूरै उपन्यास उनीहरूका वरिपरि घुम्दछ । उपन्यासको केन्द्रीय विषयवस्तु कामरेड जलजला र कामरेड अजितका बिचको प्रेम नै हो । त्यो एउटा विवादग्रस्त विषय हो । उनीहरूका बिचको त्यो प्रेम एउटा विवाहित र एकजना अविवाहित युवतिका बिचको प्रेम थियो । त्यसैले, स्वभावतः, एउटा विवादित विषय बन्न गयो र त्यसका लागि अजितमाथि उनको पार्टीले कारबाही गर्दछ र उनीहरू दुवै जनालाई पार्टीको सदस्यताबाट निष्कासित गरिन्छ । त्यसपछि अजित आफ्नो निर्वासित जीवन बिताउन दक्षिण भारततिर जान्छन् । उपन्यासमा त्यो कुरालाई प्रस्ट शब्दमा प्रस्तुत गरिएको छ । जलजला र अजितका बिचको प्रेम अवश्य पनि विवादित रहेको छ र त्यसको लागि उनीहरूमाथि गरिएको कारबाहीलाई उपन्यासले गलत पनि बताएको छैन । समग्रतः उनीहरू बिचको त्यो प्रेम आफ्ना समयमा पनि विवादित थियो र सायद वा निश्चित रूपले, आउने दिनहरूमा पनि लामो समयसम्म त्यसबारे विवाद भइरहने छ । यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न त्यो प्रेम विवादित यस कारणले भयो कि एउटा विवाहित व्यक्तिको अविवाहित व्यक्तिसित प्रेम हुन्छ । तर निश्चय नै, उनीहरूका बिचको त्यस प्रकारको प्रेम समाजको एउटा मात्र उदाहरण होइन, तर अन्य व्यक्तिहरूले त्यस प्रकारका प्रेमलाई प्रायः अस्वीकार गर्ने, लुकाउने वा दबाउने गर्दछन् । तर उपन्यासमा त्यसो गरिएको छैन । त्यो प्रेमलाई स्पष्ट शब्दमा स्वीकार गरिएको छ । त्यसलाई अस्वीकार गर्नु वा लुकाउनु त्यो प्रेमलाई अपमान गर्नु हुन्थ्यो । त्यसो गर्नु जलजला वा उनको प्रेमलाई अनादर गर्नु पनि हुन्थ्यो । त्यसैले उपन्यासमा त्यो प्रेमलाई स्पष्ट शब्दमा स्वीकार गरिएको छ र त्यसरी जलजलाप्रति सम्मान प्रकट गरिएको छ । सायद जलजला प्रतिको सम्मानको प्रतिकका रूपमा नै कामरेड जलजला उपन्यास पनि लेखिएको छ र त्यो, उपन्यास उनलाई नै समर्पण पनि गरिएको छ ।

    जलजला र अजितका बिचको प्रेम निश्चित रूपले विवादित रह्यो र त्यसैले त्यसका लागि उनीहरूमाथि कारबाही पनि गरियो । त्यो, सम्बन्धित विषयको एउटा पक्ष मात्र हो । त्यस सन्दर्भमा त्यो प्रेमको अर्को पक्षप्रति पनि ध्यान हटाउनु सही हुने छैन । त्यो पक्ष हो, पार्टी र क्रान्तिप्रति उनीहरू दुवै जनाको पूर्ण समर्पण र अविचलित रूपले देखापरेको दृढता वा निरन्तरता आफ्नो प्रेमका लागि उनीहरू समाज वा पार्टीबाट धेरै आलोचित हुनुपर्याे, बदनाम हुनुपर्याे, टाढा टाढासम्म दुःख, कष्ट, गरिबी र अभावको सामना गर्दै भड्किनु पार्याे । तैपनि दुवै जनाको पार्टी र क्रान्तिप्रतिको आस्था र सक्रियता वा सङ्गठनको भावनामा कहिल्यै पनि कमी आएन । त्यसै गरेर उनीहरूको एकअर्काप्रतिको प्रेममा पनि कहिल्यै कमी आएन । त्यस प्रकारको पृष्ठभूमिमा पनि उनीहरूका बिचको प्रेमको मूल्याङ्कन गर्नुपर्दछ । आउने दिनहरूमा त्यो प्रेमलाई आलोचना गर्ने बेलामा त्यससित सम्बन्धित पार्टीप्रतिको उनीहरू दुवै जनाको अविचलित रूपमा रहेको आस्था, सक्रियता वा समर्पणको कोणबाट पनि त्यसको मूल्याङ्कन गरिने छ वा छैन त्यो कुरा हामीले भन्न सकिने कुरा होइन र त्यो कुरा सायद आउने पिँढी वा आउने दिनहरूको जिम्मामा नै छाडिदिनु उचित हुने छ ।

    कामरेड जलजला उपन्यासको कथाको प्रवाह यसरी अगाडि बढ्छ, जस्तो कि माथि भनियो, जलजला र अजितमाथि उनीहरूका बिचको प्रेमका लागि उनीहरूमाथि कारबाही गरियो । त्यसपछि अजित निर्वासित जीवन बिताउन दक्षिण भारततिर लाग्दछन् र जलजला मध्यभारततिर, जहाँ उनका मावलीहरू हुन्छन्, त्यहाँ पनि उनी तिरस्कृत र अपमानित हुनुपर्दछ । त्यहीबेला उपन्यासमा एउटी नयाँ पात्र, सुनन्दाले प्रवेश गर्दछिन् । उनी जलजलालाई खोज्नको लागि नेपालतिर जान्छिन् र भैरहवा जेलमा पर्दछिन् । त्यसपछि जलजला खोज्दै उनी काठमाडौँ र नेपालका धेरै भागहरूमा पुग्दछिन् । अन्तमा लखनऊमा नै उनको जलजलासित भेट हुन्छ । त्यसको केही दिन पछि दिल्लीमा एउटा बस दुर्घटनामा उनको मृत्यु हुन्छ । त्यसबाट सुनन्दालाई ठुलो धक्का पुग्दछ । त्यही बेला रुसबाट डा. जगदीशले उनीसित विवाहको लागि प्रस्ताव पठाउँछन् । जलजलाको मृत्युबाट पुगेको धक्काबाट उम्कनका लागि दिल्लीबाट टाढै जान उनले डा. जगदीशको विवाहलाई स्वीकार गरेर युरोपतिर जाने निर्णय गर्दछिन् र रुसमा पनि पुग्दछिन् । तर पछि उनी डा. जगदीशसित विवाह नगर्ने निर्णय गरेर भारतमा फर्कन्छिन् । त्यतिबेला उनलाई जलजलाको मृत्युपछि अजितले लेखेको एउटा डायरी पनि पढ्ने अवसर प्राप्त हुन्छ । त्यसबाट उनलाई जलजलाको मृत्युले अजितलाई मिलेको क्षतिबारे थाहा हुन्छ र उनी अजितलाई खोज्न नेपालतिर लाग्दछिन् । वास्तवमा उनले मनमनै अजितलाई प्रेम गर्न थालेकी हुन्छिन् । अन्त्यमा रोल्पाको जलजला धुरीमा उनको अजितसित भेट हुन्छ । पछि बनारसमा गङ्गा नदीको एउटा मोटर बोटमा सुनन्दा र अजित दुवैको विवाह हुन्छ र उपन्यासको अन्त्य हुन्छ । उपन्यासको कथावस्तुको सार यही नै हो । त्यसरी उपन्यासमा सुनन्दाका दुईवटा पक्षहरू रहेको देखिन्छ । प्रथम, उनी जलजलालाई खोज्दै नेपालमा लाग्दछिन्, द्वितीय, पछि उनी अजितलाई खोज्दै नेपालमा लाग्दछिन् । ती दुवै पक्षहरूले उपन्यासको प्रवाहलाई अगाडि बढाउन र उत्सुकतालाई निरन्तरता दिन महत्त्वपूर्ण योगदान दिन्छन् ।

    जस्तोकि माथि दिइएको उपन्यासको कथा सारबाट प्रस्ट हुन्छ, सुनन्दा उपन्यासकी एउटी प्रमुख पात्र हुन् । उनको व्यक्तित्वको विकास क्रमको पृष्ठभूमि पनि धेरै महŒवपूर्ण रहेको छ । उपन्यासमा उनको निर्माणका लागि वा उनको व्यक्तित्वलाई उच्चतम रूप दिनका लागि धेरै नै प्रयत्न गरिएको छ । त्यस प्रकारको प्रयत्न यस कारणले गरिएको देखिन्छ कि अन्त्यमा उनलाई जलजलाको रूपमा प्रतिस्थापित गर्नु थियो । उनी कुमाउँको एउटा सामान्य ग्रामीण र सौका परिवारमा जन्मिन्छिन् । सानैदेखि उनले कडा परिस्थिति वा समाजको दबाबको सामना गर्नुपर्दछ । उनी सानै बालिका छदा नै गाउँको एउटा धनी व्यक्तिको छोरासित उनको थैचो (बालक कालमा नै विवाहको ठेगान गरिने प्रथा) गरिन्छ । तर उनले त्यसका विरुद्ध विद्रोह गर्दछिन् । यो सामान्य कुरा होइन कि एउटा पिछडिएको ग्रामीण वातावरणमा हुर्किएकी सानी बालिकामा त्यस प्रकारको विद्रोहको भावना देखापर्दछ । उनमा भएको उच्च प्रकारको सौर्यता, उनको मावली गाउँमा भएको केदाली मेला (कुमाउँको पाँगु गाउँमा १२/१२ वर्षमा लाग्ने मेला)मा उनले देखाएको सौर्यतामा पनि प्रकट हुन्छ । उनको त्यसप्रकारको सौर्यता यति आकर्षक थियो कि त्यो मेलामा आएका कामरेड गढवालीको त्यसप्रति ध्यान आकर्षित हुन्छ र उनले उनका कैयौँ फोटाहरू पनि खिँच्दछन् । संसारका कैयौँ म्यागेजिनहरूमा ती फोटाहरू पनि प्रकाशित हुन्छन् । पछि उनी आफ्नो जेठाबासित घरबाट भागेर जान्छिन्, उनी पर्वतारोही बन्दछिन् । लखनऊमा बसेर उच्च शिक्षा र कराँतेको उच्च ज्ञान पनि प्राप्त गर्दछिन् । पछि उनमा समाज सेवाको भावना देखापर्दछ र कौसानीमा बसेर सरला वहन (कुमाउँको ग्रामीण क्षेत्रका महिलाहरूमा शिक्षाको प्रसारका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने एउटी स्विस महिला)को अनुकरण गर्दै आफ्नो सम्पूर्ण जीवन समाजसेवाको लागि समर्पण गर्ने निर्णय गर्दछिन् । त्यसका लागि उनले गान्धिवादलाई आफ्नो आदर्श मान्दछिन् । तर उनका लागि समाजको सेवा बाहेक कैयौँ व्यक्तिगत इच्छा, आकाङ्क्षा वा महत्त्वाकाङ्क्षा बाँकी रहँदैनन् । आफूलाई समाज सेवाका लागि सम्पूर्ण रूपले समर्पण गर्ने उनको निर्णय उनको जीवनको उत्कर्ष थियो । उनमा विकसित त्यसप्रकारको गुणले नै पछि उनलाई पार्टी र क्रान्तिको लागि सम्पूर्ण रूपले समर्पण गर्न योग्य बनायो ।

    घटनाक्रमले उनलाई जलजलाको खोजीमा नेपालतिर लैजान्छ । उनी भैरहवाको जेलमा पर्दछिन् । संयोगले उनले त्यहाँ जेलमा पहिलेका वामपन्थी राजबन्दीहरूले भूमिगत रूपले राखेका मार्क्सवादी–लेनिनवादी पुस्तकहरू फेला पार्दछिन् र ती सबै पुस्तक पढेकी मार्क्सवादी–लेनिनवादी बन्ने दिशातिर उनको प्रक्रिया सुरु हुन्छ । त्यो प्रक्रिया अगाडि बढ्दै जान्छ र उनले जलजलालाई कम्युनिस्ट पार्टीको सदस्यताका लागि दर्खास्त दिन्छिन् र सुनन्दाबाट का. भामा बन्दछिन् । उपन्यासमा यो देखाइएको छ कि उनले नयाँ दिल्लीको जवाहरलाल नेहरु युनिभर्सिटीमा पिएचडी गर्दैछिन् र उनी उच्चस्तरको दार्शनिक र ज्ञानप्राप्त युवती पनि थिइन् । त्यसरी सुनन्दाबाट कामरेड भामा बन्न वा जलजलामा रूपान्तरित हुनका लागि उनको व्यक्तित्वमा क्रमबद्ध प्रकारले उच्च स्तरमा विकास भएको थियो । त्यसरी अन्तमा उनले अजितको जीवनमा जलजलाको मृत्युबाट पुगेको अभावलाई जलजलामा रूपान्तरित भएर पूरा गर्दछिन् । डा. जगदीश र विद्या रोका पनि उपन्यासमा सुरुदेखि अन्त्यसम्म रहेका देखिन्छन् । ती दुवै पात्रहरूको चित्रणमा उपन्यासमा विशेष ध्यान दिएको पाइन्छ । डा. जगदीश भारतीय कम्युनिस्ट पार्टीका एउटा सदस्य थिए । उनी पहिले कौशानीको एउटा कलेजमा प्राध्यापक थिए भने पछि उनी दर्शन सम्बन्धी अनुसन्धानको एउटा प्रोजेक्टमा काम गर्नका लागि सोभियत रुस गएका थिए । उनी कम्युनिस्ट थिए तर सिद्धान्त वा पार्टीको आस्थालेभन्दा बढी आफ्नो व्यक्तिगत स्वार्थ र महत्त्वाकाङ्क्षा पूरा गर्न वा करियर बनाउनको लागि नै उनी कम्युनिस्ट बनेका थिए । त्यो बेला भारतीय कम्युनिस्ट पार्टीको सोभियत सङ्घको कम्युनिस्ट पार्टीसित नजिकको सम्बन्ध थियो र त्यसबाट उनका लागि व्यक्तिगत रूपमा बढी फाइदा उठाउने सम्भावना थियो त्यसैले उनले सोभियत सङ्घ र ख्रुश्चेभको सोभियत संशोधनवादी विचारलाई समर्थन गरेका थिए । सुनन्दा मार्क्सवादी–लेनिनवादी बनेको थाहा पाएपछि उनले बताएका थिएकी उनले भनेमा उनीसित विवाह गर्नका लागि उनी ख्रुश्चेभको विरोध गर्न वा माओत्सेतुङ्ग विचारधारालाई समर्थन गर्न पनि तयार थिए । त्यसैले उनी पूरै सिद्धान्तहीन व्यक्ति भएको कुरामा कुनै शङ्का थिएन । डा. जगदीशको त्यो उदाहरणले व्यक्तिगत स्वार्थ वा महत्त्वाकाङ्क्षा पूरा गर्नका लागि कम्युनिस्ट पार्टीमा सामेल हुने वा आफ्ना स्वार्थ अनुसार दल बदलु गर्ने ठुलो समूहको प्रतिनिधित्व गर्दथ्यो ।

    विद्या रोकाले जलजलालाई धेरै प्रेम वा आदर गर्दथिन् र जलजलासितको सम्बन्धका कारणले नै एउटा कट्टर कम्युनिस्ट समर्थक पनि बनेकी थिइन् । तर उनको त्यस प्रकारको भावनाबाट प्रभावित भएर नै सुनन्दाले जलजलालाई खोज्न नेपाल जाने निर्णय गरेकी थिइन् । एउटा पञ्च र सीडीयो कि पत्नी दिव्यासितको केहीबेरको भेटघाट पछि नै उनी कम्युनिस्ट पार्टीकी विरोधी बनेकी थिइन् र जलजलालाई पनि घृणा गर्न थालेकी थिइन् । पछि, जलजलाको मृत्यु पछि उनले पहिले दिव्याको कुराबाट प्रभावित भएर गरेको व्यवहारका लागि पूरै पश्चात्ताप गरेकी थिइन् । त्यसबाट कुनै व्यक्ति जतिसुकै इमानदार र सच्चा कम्युनिस्ट भएपनि सैद्धान्तिक परिपक्वताको अभावमा त्यो कसरी अस्थिर, ढुलमुल र अवसरवादी पनि बन्न पुग्दछ ? त्यसको एउटा उदाहरण हो । त्यसले यो देखाउँछ कि कुनै व्यक्ति सच्चा कम्युनिस्ट बन्नका लागि उसमा भावनात्मक प्रकारले उच्च त्याग, बलिदान, उत्साह, जोस् वा साहस हुनु मात्र पर्याप्त हुँदैन, उसमा सैद्धान्तिक परिपक्वता हुनु अनिवार्य हुन्छ र त्यो अवस्थामा नै ऊ सच्चा क्रान्तिकारी बन्छ वा उसको क्रान्तिकारितामा निरन्तरता रहिरहन्छ । त्यसरी विद्या रोकाको उदाहरणद्वारा उपन्यासले त्यो कुरामाथि प्रकाश हाल्ने प्रयत्न गरेको छ ।

    उपन्यासमा अरू पनि सबल पात्रहरूको चर्चा गरिएको छ, जसका बेग्ला–बेग्लै प्रकारका चरित्र वा विशेषताहरू रहेका छन् । तिनीहरूमध्ये का. गढवालीको उदाहरण विशेष रूपले उल्लेखनीय छ । कामरेड जलजला उपन्यासलाई अङ्गेजीमा अनुवाद गर्ने एकजना प्रोफेसर डा. हरिशरण शर्माले उपन्यासका पात्रहरूमध्ये का. गढवालीबाट सबैभन्दा बढी प्रभावित भएको बताएका थिए । उनी सुनन्दाको व्यक्तित्वबाट पनि धेरै नै प्रभावित भएका थिए । त्यही प्रकारले उपन्यासमा जलजलाको जुन मृत्यु भयो त्यसबाट पनि उनी धेरै नै दुःखी भएका थिए । का. गढवाली कुमाउँ, गढवालका एउटा प्रसिद्ध कम्युनिस्ट नेता थिए । उनी पार्टी र क्रान्तिप्रति पूरै समर्पित थिए । उनको व्यक्तिगत घर वा परिवार थिएन । पार्टी, क्रान्ति वा जनताको सेवा बाहेक उनको कुनै बेग्लै इच्छा वा महत्त्वाकाङ्क्षा थिएन । उनी भारतीय कम्युनिस्ट पार्टीका सदस्य थिए । पछि त्यसमा विभाजन भएर सीपीआई र सीपीएम बने । सीपीएमबाट पनि फुटेर नक्सलाइट बन्यो र पछि त्यो कैयौँ टुक्राहरूमा विभाजित भयो । त्यो अवस्थामा उनी कुनै सङ्गठनमा आबद्ध हुन सकेनन् । तर क्रान्ति र जनताप्रतिको उनको आस्थामा कुनै कमी आएन । व्यक्तिगत रूपमा पनि जहाँ आवश्यक हुन्छ, उनी त्यहाँ पुग्दथे र सबै सम्भव तरिकाले जनताको आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गर्दथे । पार्टीमा विभाजन भएर उत्पन्न भएको त्यही प्रकारको विश्रृङ्खलाताको अवस्थामा चन्द्रसिङ गढवाली जस्ता क्रान्तिकारीले पलायनको बाटो समातेका थिए । तर का. गढवालीमा कहिल्यै पनि निराशा वा पलायनको विचार देखा परेन र उनमा जीवन भरि नै जुझारुपन र क्रान्तिको भविष्य प्रतिको आशावादीता रहिरह्यो । तर उपन्यासले यो देखाउने प्रयत्न गरेको छ कि कुनै व्यक्तिमा जतिसुकै उच्च प्रकारको क्रान्तिकारी जुझारुपन भएपनि कुनै क्रान्तिकारीले एक्लै होइन, सङ्गठनमा आबद्ध भएर नै क्रान्तिको बाटोमा लगातार अगाडि बढ्न सक्दछ ।

    उपन्यासमा हर्के र उजेलीजस्ता पात्रहरूको पनि निर्माण गरिएको छ । हर्के एउटा कमाराका सन्तान हुन् । तर प्युठानमा चलेको जनता शिक्षण शिविरमा प्राप्त शिक्षा पछि उनी एउटा लडाकु र जुझारु तथा पार्टी र क्रान्तिप्रति सम्पूर्ण रूपले समर्पित योद्धा बन्न पुग्दछन् । उनकी पत्नी उजेली भने जन्मजात रूपमा नै जुझारु र अदम्य साहस भएकी व्यक्ति थिइन् । पार्टीमा प्रवेश गरेपछि उनी पनि एउटी क्रान्तिकारी कार्यकर्ता बन्न पुग्दछिन् । उनीहरू दुबैजना एउटा आदर्श र क्रान्तिकारी जोडी हुन्छन् । त्यो बेला देशमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था थियो । उनीहरू लगातार र सम्झौताहीन प्रकारले त्यसका विरुद्धको सङ्घर्षमा लागिरहेका हुन्थे । उनीहरू दुबैजना कुनैबेला जेलमा हुन्थे र कुनै बेला भूमिगत पार्टीको कामको सिलसिलामा देशका विभिन्न भागहरूमा पुगेका हुन्थे । तर उनीहरू आपसमा जति टाढा भएपनि, एकातिर पार्टी र क्रान्तिप्रतिको उनीहरूको आस्था र सक्रियता तथा अर्कातिर पारस्परिक प्रेममा कुनै कमी आएको हुँदैनथ्यो ।

    उपन्यासले यो देखाउने प्रयत्न गरेको छ कि समाज वा समाजको सेवाप्रति सम्पूर्ण रूपले समर्पण वा त्याग र बलिदानको भावना खालि कम्युनिस्टहरूमा मात्र हुँदैन । पुँजीवादी समाजमा पनि सेवा, त्याग र बलिदानको भावनाद्वारा सम्पन्न कैयौँ विभूतिहरू हुन्छन् । त्यस सन्दर्भमा अल्मोडाकी कौसानी आश्रमकी सरला बहनको उदाहरण विशेष रूपले उल्लेखनीय छ । उनी एउटी स्विस महिला थिइन् । गान्धीले भनेपछि उनी कुमाउँका ग्रामीण महिलाहरूमा शिक्षा प्रसार गर्ने काममा लागिन् । उनले विवाह पनि गरिनन् र सम्पूर्ण जीवन समाज सेवाको कार्यमा समर्पण गरिन् । वृद्ध अवस्थामा उनी कौसानी आश्रमभन्दा केही टाढाको हिम दर्शन कुटीमा गएर बसिन् र त्यहीँ उनको मृत्यु पनि भयो । त्यस सिलसिलामा बिनोवा भावेको नाम पनि लिन सकिन्छ । उनी गान्धीवादी नेता थिए । भारत स्वतन्त्र भएपछि महात्मा गान्धीले आफ्ना अनुयायीहरूलाई राजनीति छाडेर समाजको सेवामा लाग्ने निर्देशन दिएका थिए । त्यसपछि उनले आफ्नो सम्पूर्ण जीवन समाजको सेवामा समर्पण गरेका थिए । त्यस सन्दर्भमा उनको नेतृत्वमा चलेको भूदान आन्दोलन विशेष रूपले उल्लेखनीय छ । त्यो आन्दोलनको मुख्य उद्देश्य ठुला भूस्वामीहरूबाट जग्गा अनुदानमा लिएर भूमिहीन किसानहरूमा वितरण गर्नु थियो । उनीहरूको यो विश्वास थियो कि त्यसरी शान्तिपूर्ण र अहिंसात्मक तरिकाले नै भारतको किसान समस्याको हल गर्न सकिन्छ । गान्धीवादको त्यो अत्यन्त उच्चस्तरको प्रयोग थियो । स्वाभाविक थियो कि त्यो प्रयोग सफल हुन सकेन । तैपनि त्यो आन्दोलनको सफलताका लागि विनोवा भावेले आफूलाई सम्पूर्ण रूपले समर्पण गरेका थिए । उनी वास्तवमा व्यक्तिगत स्वार्थबाट धेरैमाथि उठेका एउटा सन्त नै थिए । बताइरहनुपर्ने आवश्यकता छैन कि, गान्धीवादको सिद्धान्तले मार्क्सवादी–लेनिनवादी सिद्धान्तसित कुनै मेल खाँदैनथ्यो । तैपनि त्यो सिद्धान्तको अनुसरण गरेर जसले समाजको सेवाका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गरेका थिए, उनीहरूलाई पनि उपन्यासले उच्च सम्मान प्रकट गरेको छ । कुमाउँका अर्का समाजसेवाका लागि आफ्ना सम्पूर्ण जीवन समाप्त गरेका उल्लेखनीय पात्रहरू सुन्दरलाल बहुगुणा र विमला बहुगुणा हुन् । सुन्दरलाल बहुगुणा पहिले काङ्ग्रेसका उच्च स्तरका नेता थिए र पछि उनले पनि काङ्ग्रेस छाडेर पूरै नै समाजसेवाको काममा लागेका थिए । त्यसै गरेर उनकी पत्नी विमला बहुगुणा पनि पूरै नै समाज सेवाको काममा लागेकी थिइन् । त्यसरी उपन्यासले जुनसुकै विचारधारा अपनाएको भएपनि व्यक्तिगत स्वार्थ वा महत्वाकाङ्क्षाभन्दा माथि उठेर समाजको सेवाको लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्ने पात्रहरूलाई विशेष महत्त्व दिएर प्रस्तुत गर्नुका साथै त्यही प्रकारको ढाँचामा काल्पनिक पात्रहरूको पनि निर्माण गर्ने प्रयत्न गरेको छ । उपन्यासले कसैले समाजसेवाको सट्टा व्यक्तिगत स्वार्थलाई कति धेरै प्राथमिकता दिएर काम गर्दछन् ? त्यसका आधारमा खलनायकहरूको पनि चित्रण गर्ने प्रयत्न गरेको छ । त्यस सन्दर्भमा स्वयं कम्युनिस्ट पार्टी भित्रका त्यस प्रकारका पात्रहरूको पनि चित्रण गरिएको छ । त्यस सन्दर्भमा डा. जगदीशको पहिले नै उल्लेख गरिएको छ । उपन्यासको कतिपय ठाउँमा नेपालका डा. केशरजङ्ग रायमाझीको पनि उल्लेख गरिएको छ । एउटा सच्चा कम्युनिस्टमा पनि व्यक्तिगत स्वार्थको भावना प्रबल भएपछि त्यो कति धेरै ढुलमुल र अवसरवादी बन्छ ? त्यस सन्दर्भमा विद्या रोकाको चर्चा गरिएको छ र उनीबारे पहिले नै उल्लेख भइसकेको छ । त्यही प्रकारले व्यक्तिगत स्वार्थ, भय, त्रास, जेलको डर, परिवार वा इष्टमित्रको दबाब आदि कारणले कम्युनिस्ट पार्टीबाट पलायन भएर राजा वा पञ्चायती व्यवस्थाको समर्थन गर्न पुगेका कतिपय पात्रको पनि उपन्यासमा चर्चा गरिएको छ । तिनीहरूमध्ये एकजना सिडिओ र दिव्याजस्ता व्यक्तिहरू हुन्छन्, जसको चरित्रगत रूपले नै पूरै पतन भएको हुन्छ भने कोही शिवध्वज बस्नेत जस्ता पनि हुन्छन्, जो बाÞय प्रकारले आत्मरक्षाको भावनाले गर्दा पञ्चायती व्यवस्थामा लागेका हुन्छन्, तर आन्तरिक रूपमा उनीहरू इमानदार हुन्छन् र पार्टी र क्रान्ति प्रतिको उनीहरूको आस्था कायमै रहेको हुन्छ । त्यसरी उपन्यासले बेग्लाबेग्लै कोणबाट पात्रहरूको निर्माण वा उनीहरूको चरित्र चित्रण गर्ने प्रयत्न गरेको पाइन्छ ।

     उपन्यासमा उल्लेख गरिएका युरोपका दुईवटा महिला पात्रहरू विशेष रूपले उल्लेखनीय छन् । एउटी फ्रान्सकी जुलिएट र अर्की रुसको स्तालिनग्रादकी भेलेन्टिना । जुलिएट एउटी शोध छात्रा र वामपन्थी विचार राख्ने युवती थिइन् । उनले सुनन्दा र डा. जगदीश फ्रान्समा गएको बेलामा उनीहरूका लागि गाइडको काम गरेकी थिइन् । उनी अत्यन्त जीवन्त प्रकारकी महिला देखिन्थिन् । उपन्यासमा यो बताइएको छ कि उनी सम्भवतः फ्रान्सका सम्पूर्ण महिलाहरूकी जीवित प्रतिनिधि वा मूर्त रूप थिइन् । भेलेन्टिना रुसकी एउटी सैनिक अफिसर थिइन् । तर रुसमा समाजवादी व्यवस्थालाई समाप्त गरेर कायम भएको पुँजीवादी व्यवस्थाप्रति उनी असन्तोष थिइन् । उनलाई यो देखेर पनि दुःख लागेको थियो कि सुनन्दा र डा. जगदीशको विचार, स्वभाव वा चरित्रमा धेरै नै अन्तर थियो । उनीहरूका बिचमा विवाह हुन लागेको कुराबाट उनी मनमनै अप्रसन्न र असन्तोष थिइन् । तर स्तालिनग्रादबाट मस्को जाने बेलामा ट्रेनमा सुनन्दाले डा. जगदीशसित आफूले विवाह नगर्ने निर्णय सुनाएकी थिइन् । भेलेन्टिना सेनाको ड्युटीमा साइबेरियामा थिइन् र सुनन्दा लेनिनग्रादमा । सुनन्दाले फोनबाट उनले डा. जगदीशसित विवाह नगर्ने निर्णय गरेको कुरा बताएपछि उनी धेरै नै प्रसन्न भएकी थिइन् । उनीहरू दुबैजना त्यसलाई विवाहभन्दा पहिलेको नै सम्बन्ध विच्छेद बताएका थिए । उनीहरूले त्यसलाई अर्धसम्बन्ध विच्छेद वा पूर्वसम्बन्ध विच्छेद बताउँदै हाँसेका थिए ।

    उपन्यासमा अवेलार्ड र हेलोसीका बिचको प्रेमलाई पनि विशेष रूपले उल्लेख गरिएको छ । अवेलार्ड फ्रान्सका एउटा महान् दार्शनिक र पादरी पनि थिए र हेलोसी उनकी शिष्या र एउटी उच्चस्तरकी विदुषी नव युवती । उनीहरू दुबैका बिचमा प्रेम हुन्छ र उनीहरूको गोप्य प्रकारले विवाह पनि हुन्छ । हेलोसीका अङ्कललाई आफ्नी भतिजीले अवेलार्डसँग विवाह गरेको मन पर्दैन र उनले गुन्डाहरूद्वारा अवेलार्डमाथि हमला गर्न लगाएर उनलाई नपुंसक बनाइदिएका थिए । उनीहरूको एउटा छोरा पनि जन्मिएको थियो, जसलाई उनीहरूले कुनै नातेदारकोमा राख्न दिएका थिए । जीवनभरि नै उनीहरूको त्यो छोरासँग सम्पर्क भएन ।

    इसाई धर्मको मान्यता अनुसार कुनै पादरीका लागि विवाह गर्नु निषेध थियो । त्यसकारण त्यसरी विवाह गरेकोमा अवेलार्डलाई दण्ड गरियो र इसाई समाजबाट निष्कासित पनि गरियो । उनका कैयौँ दार्शनिक मान्यताहरूले इसाई धर्मसित मेल खाँदैनथे । त्यसैले उनलाई आफ्नो पुस्तक पनि सार्वजनिक रूपले जलाउन बाध्य गरियो । स्वयं अवेलार्डले पनि यो सोचेका थिए कि उनले एउटी युवतीलाई प्रेम गर्नु वा विवाह गर्नु गलत थियो । किनभने त्यसरी उनले ईश्वरका अगाडि एउटा ठुलो अपराध गरेका थिए । त्यसैले, उनले त्यो दाम्पत्य जीवनबाट टाढा हुनु नै उचित ठानेर हेलोसीलाई एउटा मठको भिक्षुणी बनाइदिए र उनीबाट सधैँका लागि टाढा बने । तैपनि उनीहरूको मनमा एकअर्काप्रतिको प्रेम रहिनै रह्यो । त्यो कुरा उनीहरूले एकअर्कालाई पठाएका पत्रहरूबाट थाहा हुन्छ । पछि निर्वासित अवस्थामा नै अवेलार्डको मृत्यु भयो र त्यसको बाइस वर्ष पछि हेलोसिको पनि मृत्यु भयो । उनीहरूको मृत्युपछि उनीहरू दुबैजनाका शवहरूलाई एकअर्काका नजिकै राखियो । तर २–३ सय वर्षपछि कट्टर इसाई धर्मावलम्बीहरूले उनीहरूको शवहरूलाई एकै ठाउँमा राख्नु धर्मका विरुद्ध ठानेर तिनीहरूलाई बेग्लाबेग्लै स्थानहरूमा राख्न लगाइयो । तर केही सय वर्षपछि प्रगतिशील विचार राख्ने मानिसहरूको जोडले उनीहरूका शवहरूलाई पुनः एकै ठाउँमा राखियो । ती दुबैका शवहरू अहिले पेरिसको एउटा कब्रिस्तानमा सँगै राखिएका छन् । उनीहरूको प्रेमलाई फ्रान्सको एउटा अमर प्रेमका रूपमा लिइन्छ । उनीहरूको मृत्युपछि पनि शताब्दीयौँसम्म कट्टर धर्मावलम्बीहरूले उनीहरूलाई अपमान गर्ने र दण्ड सजाय दिने कार्य जारी नै राखेका थिए । जुलिएटले अवेलार्ड र हेलोसीका ती शवलाई देखाउँदै डा. जगदीश र सुनन्दालाई भनेकी थिइन् : “तपाईंहरूको प्रेम पनि उनीहरूको जस्तै अमर रहोस् ।” तर त्यो बेला उनलाई थाहा थिएन कि निकट भविष्यमा नै उनीहरूको बिचमा अर्धसम्बन्ध विच्छेद वा पूर्वसम्बन्ध विच्छेद हुँदै थियो ।

    उपन्यासमा फ्रान्स, जर्मनी, रुस वा युनानका अन्य कैयौँ महत्त्वपूर्ण पात्रहरूको पनि चर्चा गरिएको छ । जसमा फ्रान्सका राजतन्त्रको विरुद्धको क्रान्तिकारी सङ्घर्षका सेनानीहरू जर्मनीका हिटलरको फासिस्ट शासनद्वारा उत्पीडित व्यक्तिहरू वा त्यसका विरुद्ध भूमिगत रूपले सङ्घर्ष गरेका लडाकुहरू, रुसका ‘कामरेड’ पाकेटमार, नतासा र युनानका पनि कैयौँ दार्शनिक र ऐतिहासिक व्यक्तिहरू आउँछन् । उपन्यासमा स्तालिनको पनि विशेष रूपले उल्लेख गरिएको छ, जसले सोभियत सङ्घमा समाजवादको निर्माण तथा द्वितीय विश्वयुद्धमा हिटलरलाई पराजित गर्न उच्च प्रकारको रणनीतिक कुशलता देखाएका थिए । तर रुसमा प्रतिक्रान्ति पछि खु्रश्चेवले जसलाई अत्यन्त निम्न स्तरमा उत्रेर निन्दा र चरित्र हत्या समेत गरेको थियो ।

    उपन्यासमा कैयौँ वास्तविक पात्रहरूको पनि चर्चा गरिएको छ । जसमा कामरेड निर्मल लामा, कामरेड जय गोविन्द शाह, कामरेड चित्रबहादुर केसी, कामरेड रश्मिराज नेपाली, कामरेड खगुलाल गुरुङ आदि छन् । उनीहरूको विशेषता यो थियो कि उनीहरूले आफ्नो सम्पूर्ण जीवन पार्टी र क्रान्तिका लागि समर्पण गरेका थिए । उपन्यासमा भैरहवाका बदरे आलमको पनि चर्चा गरिएको छ, जसले आफ्नो सम्पूर्ण जीवन बौद्ध सभ्यता र समाजको सेवामा नै बिताएका थिए । निश्चय नै, उपन्यासमा उनीहरूको जुन चित्रण गरिएको छ, त्यो औपन्यासिक प्रकारको नै रहेको छ । उनी बाहेक उपन्यासमा अरू पनि दर्जनौँ वास्तविक पात्रहरूको चर्चा गरिएको छ, जसमा काठमाडौँ, बागलुङ, बुटवल, भैरहवा, कपिलवस्तु, ओखरकोट, नारिकोट, टिमुरचौर, गेजवाङ, दिल्ली, अर्घाखाँची, गढवाल, कुमाउँ आदि ठाउँका विभिन्न व्यक्तिहरू छन् ।

    उपन्यासमा जर्मनीका अल्फ्रेड जस्ता मजदुर मोर्चाको चर्चा पनि गरिएको छ, जो सङ्घर्षशील वामपन्थी मजदुर कार्यकर्ता थिए । उपन्यासमा एन फ्रेङ्क जस्ती एउटी यहुदी किशोरीको पनि चर्चा गरिएको छ । जसले फासिस्ट हमलाबाट बच्नका लागि आफ्नो परिवार सहित नेदरल्याण्डको एउटा गोप्य कोठामा दुईवर्षभन्दा बढी समयसम्म भूमिगत रूपले बस्नुपरेको थियो । पछि उनीहरूलाई गिरफ्तार गरेर एउटा यातना गृहमा राखिएको थियो । एन फ्रेङ्क भूमिगत रूपमा लुकेर बस्दा उनले भोग्नुपरेका सबै दुःख कष्ट र मानसिक यातनाहरूको उल्लेख गरेर एउटा डायरी लेखेकी थिइन् । यातना गृहमा बसेको बेलामा नै उनको परिवारका अन्य सबै सदस्यहरू मारिएका थिए र पछि उनी छुटेकी थिइन् । आफू मुक्त भएपछि पहिले उनले लेखेका डायरीहरूलाई पुस्तकको रूपमा प्रकाशित गरेकी थिइन्, जसको संसारका ७० भन्दा बढी भाषामा अनुवादन गरिएको थियो ।

    जर्मनीमा यहुदीहरू माथि भएका दमन र अन्याय, अत्याचार सम्बन्धी विवरण राखिएको एउटा सङ्ग्रहालय छ । त्यो सङ्ग्रहालयमा दुईवटा बालबालिकाहरूले आफ्नो पितालाई लेखिएको एउटा सानो चिठी पनि राखिएको छ : “हामीले तपाईँलाई मिस गर्दछौँ । तिनीहरूले हामीलाई बाच्न दिने छैनन् ।” पछि ती दुवै बालबालिकाहरूलाई फासिस्ट सैनिकहरूद्वारा गोली हानेर मारिएको थियो । सुनन्दा र जर्मनकी एउटा भारतीय गाइड अर्चना डा. जगदीशसित नै त्यो सङ्ग्रहालय हेर्न गएका थिए । दुईवटा बालबालिकाहरूको त्यो चिठी र उनीहरूको हत्याको विवरण पढेर उनीहरू दुबैजनाका आँखाबाट आँसु झरेका थिए । उनीहरू दुबैजनाले अत्यन्त कारुणिक आँखाले एकअर्कालाई हेरेर आपसमा अङ्गालो हालेका थिए । उपन्यासमा त्यस प्रकारका कैयौँ पात्र र दृश्यहरूको पनि उल्लेख गरिएको छ ।

    आइतबार, साउन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.