नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले गत बिहीबार लिखित रूपमा दिएको जानकारी अनुसार गत वर्ष २०२४ मा मात्रै दुई लाख छ हजार भारतीयहरूले आफ्नो नकमागरिकता त्यागेका छन् । राज्यमन्त्री कीर्तिवर्धन सिंहले भारतीय नागरिकता त्याग्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा राज्यसभामा सबैका अगाडि यो तथ्यांक प्रस्तुत गरेका हुन् ।
राज्य सभाको छलफलका दौरानमा कति जनाले भारतीय नागरिकता त्यागेका छन् भन्ने तथ्याङ्क परराष्ट्र मन्त्रालयसँग मागिएको थियो । यो संख्या गत वर्षको जस्तै भए पनि अघिल्लो वर्षको तुलनामा केही कम भएको बताइएको छ ।
भारतीय नागरिकता त्याग्नका लागि पहिला आवेदन दिनुपर्छ । यसपछि उनीहरूको राहदानी र अन्य कागजातहरू प्रमाणीकरण गरिन्छ, त्यसपछि कागजातहरू उनीहरूको जवाफको लागि सम्बन्धित सरकारी विभागहरूमा पठाइन्छ, जो ३० दिन भित्र बुझाउनु पर्ने हुन्छ । कागजातहरूको प्रमाणीकरण पछि परित्याग प्रमाणपत्र ३० दिन पछि अनलाइन उपलब्ध हुन्छ । यो प्रक्रिया लगभग ६० दिनसम्म लाग्ने गर्दछ ।
आफ्नो भारतीय नागरिकता परित्याग गरेपछि तपाईंले आफ्नो भारतीय नागरिकता, मतदाता आईडी कार्ड, आधार कार्ड, ड्राइभिङ लाइसेन्सको आधारमा प्राप्त सबै कागजातहरू सम्बन्धित अधिकारीहरूलाई बुझाउनु पर्ने हुन्छ ।





