काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतले अतिक्रमण गरेको नेपालको भूमि सजिलै फिर्ता नगर्ने भन्दै अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभामा निशान छाप सम्बन्धी संविधान संशोधन प्रस्ताव उपरको छलफलमा भाग लिँदै सांसद पौडेलले कूटनीतिक वार्ताबाट समस्या समाधान भएन भने विश्व समर्थनतिर जानुपर्ने बताउनुभएको हो ।
सांसद पौडेलले सबै दललाई एक भएर नयाँ प्रस्ताव पारित गर्न आग्रह गर्नुभयो । ‘यो कुनै पार्टीको विषय नभएको हुनाले सबै एक भएर यसमा मतदान गरौँ । यसलाई पूर्ण रूपले समर्थन जनाऊँ । अहिले निसान छापको कुरा मात्रै छ, भोलि भूमि नै फिर्ता गरेर ल्याउने कुरामा हामी सबै एक भएर लागौँ’ पौडेलले भन्नुभयो, ‘हाम्रो कूटनीतिक वार्ता चल्छ । यदि त्यो कूटनीतिक वार्ताले भएन भने विश्व जनसमर्थनतिर पनि जानुपर्ने आवश्यकता छ । सजिलै भूमि फिर्ता दिन्छ भन्ने लाग्दैन, तर यो भूमि हरहालतमा फिर्ता लिने यति ठूलो जनमत सरकारको साथमा छ भने यसलाई अन्तर्राष्ट्रिय अदालतसम्म जान पनि हिचकिचाउनुहुँदैन ।’
यस्तै, मंगलबार नै उर्जा मन्त्रालय अन्तर्गत खर्च कटौतीको प्रस्ताव राख्दै पौडेलले अपर कर्णाली नेपाली जनताले नै बनाउनुपर्ने बताउनुभयो । उहाँले अपर कर्णाली र पश्चिम सेती वर्षौंसम्म नबन्नुको कारण केहो भनि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीलाई प्रश्न पनि गर्नुभयो ।
पौडेलको प्रश्न थियो, ‘अपर कर्णाली जीएमआर कम्पनीसँग गरिएको सम्झौता हरेक वर्ष समय थप्दा पनि बनेन । अहिले पनि सम्झौताको समय सकिन लाग्यो । त्यो सम्झौता तोडियो कि तोडिएन ? त्यो जान्न चाहन्छु । अपर कर्णाली सस्तो परियोजना भएको हुनाले स्वयम् सरकारले आफ्नो प्राथमिकतामा राखेर कार्य अगाडि बढाउन सक्नु पर्ने हो, केले रोकेको छ ? त्यो सँगैगै कर्णाली चिसापानी बहुआयामिक परियोजना के करणले रोकिएको छ ? पश्चिम सेती प्राथमीकतामा किन परेन ?’