जोन डोनिसन, जारास्लभ लुकिभ, एमी वाल्कर, दमास्कस ।
सिरियाका राष्ट्रपतिले तत्काल युद्धविरामको घोषणा गरे पनि दक्षिणी सिरियामा निरन्तर साम्प्रदायिक झडप भइरहेका विवरण आएका छन् ।
ड्रुज लडाकुले शनिबार बेडोइन बन्दुकधारीलाई सुवेदा सहरबाट धपाएको तर अन्य प्रान्तमा सङ्घर्ष जारी रहेका विवरण आएका हुन् ।
अन्तरिम राष्ट्रपति अहमद अलसाराले यो साताको सुरुमा तैनाथ गरेका सरकारी फौजले ड्रुजमाथि हमला गरेको आरोप लागेको थियो । सबै पक्षले एक अर्कामाथि हिंसाको आरोप लगाएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शनिबार सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै निर्दोष मानिसको बलात्कार र हत्या रोक्न माग गरेका छन् ।
उनले दमास्कसका अधिकारीलाई आफ्ना सुरक्षाबलको परिचालन गरेर आइएसआइएस (स्लामिक स्टेट) र अन्य हिंस्रक जिहादीलाई उक्त क्षेत्रमा छिर्न र नरसंहार गर्नबाट रोक्न आग्रह गरेका छन् ।
‘यदि आइएसआइएस वा इरानी नियन्त्रणबाट मुक्त एकीकृत, समावेशी र शान्त सिरिया प्राप्त हुने सम्भावनालाई जोगाउन चाहन्छन् भने उनीहरूले यो कदम चाल्नुपर्छ’ उनले भनेका छन्– ‘त्यसका साथै उनीहरूले आफ्नै समूहसहितका हिंसामा दोषी जो कोहीलाई जबाफदेही बनाउन र न्यायको कठघरामा उभ्याउन पर्छ ।’
शनिबार साँझ सिरियाको आन्तरिक मामिला मन्त्रालयले आफ्नो बलले सहरमा हस्तक्षेप गरेपछि सुवेदामा झडप रोकिएको जनाएको थियो । रोएटर्सले सुवेदा प्रान्तका अन्य भागमा सङ्घर्ष जारी रहेको जनाएको छ ।
यो साताको सुरुमा ड्रुज पक्षलाई समर्थन गर्ने घोषणा गरेको इजरेलले त्यहाँ हस्तक्षेप गर्दै सरकारी बल र राजधानी दमास्कसस्थित रक्षा मन्त्रालयमा हमला गरेको थियो ।
सुवेदाको सङ्घर्ष रोक्न सुरक्षा बल तैनाथ गरिएसँगै शाराले गत शनिबार युद्धविराम घोषणा गरेका थिए । त्यसमा इजरेली सैन्य आक्रमण रोकिनुपर्ने विषय पनि सामेल थियो । ड्रुज नागरिकको सुरक्षा सुनिश्चित हुनुपर्ने सर्तमा इजरेलले पनि अमेरिकाको मध्यस्ततामा भएको सम्झौताअनुसार उक्त घोषणालाई स्वीकार गरेको थियो ।
सरकारी सैनिकले अरू मानिसलाई लडाइँमा सामेल हुनबाट रोक्न ठाउँठाउँमा जाँचचौकी बनाएका छन् तर शनिबार दिनको सुरुआतमा सुवेदा सहर भित्रबाटै गोलाबारीका विवरण आएका थिए ।
एएफपीका एक जना संवाददाताले उनीहरूले हतियारधारी मानिसले पसलमा लुटपाट गरेको तथा आगो लगाएको देखेको बताएका छन् ।
कारण
शनिबार नै इजरेली विदेशमन्त्रीले अल्पसङ्ख्यक तथा सबै सिरियालीको सुरक्षाका निम्ति राष्ट्रपतिद्वारा जनाइएको प्रतिबद्धताप्रति शङ्का व्यक्त गरेका थिए ।
सुवेदाको ड्रुज समुदायले शिया इस्लाममा आधारित भिन्दै र फरक मतमा विश्वास राख्छ र दमास्कसको हालको सरकारप्रति अविश्वास राख्छ । उक्त समुदाय सिरियासँगै छिमेकी इजरेल र लेबननमा पनि सानो सङ्ख्यामा छ ।
सामाजिक सञ्जालको एउटा पोस्टमा इजरेली विदेश मन्त्री गिडिअन सारले सिरियामा अल्पसङ्ख्यक समुदायको हिस्सा हुनु निकै खरतनाक रहेको र पछिल्लो ६ महिनामा त्यो पटक पटक प्रमाणित भएको बताएका छन् ।
इजरेलमा बसिरहेकासँग तिनको सम्बन्ध भएका कारण इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ड्रुज समुदायलाई क्षति हुनबाट जोगाउने प्रतिबद्धता जनाएका छन् ।
सुवेदामा ड्रुज र बेडोइन समूहबिच लामो समयदेखि चल्दै आएको तनाव गत आइतबार राजधानी दमास्कस जाने राजमार्गबाट एक ड्रुज व्यापारीको अपहरण भएसँगै घातक साम्प्रदायिक झडपमा बदलिएको थियो ।
युकेस्थित अब्जर्भेटरी अफ हुयुमन राइट्स (एसओएचआर) का अनुसार उक्त घटनायता ९४० जना मारिएका छन् ।
सिरियाका निम्ति अमेरिकी विशेष दूत टम बाराकले गत शुक्रवार इजरेल र सिरियाबिच युद्धविराम घोषणा गरेका थिए ।
‘हामी ड्रुज, बेडोइन तथा सुन्नीलाई हतियार बिसाउन र अन्य अल्पसङ्ख्यकसँग सहकार्य गर्दै नयाँ र एकीकृत सिरियाको निर्माण गर्न तथा आफ्ना छिमेकीसँगै शान्ति र समृद्धिका साथ रहन आह्वान गर्छौँ’ उनले भनेका थिए ।
सिरियामा रहेकी बिबिसीकी मध्यपूर्व संवाददाता लिना सिन्जावले ड्रुजमाथिको हिंसा देशैभर फैलिइरहेको बताएकी छन् ।
चिन्ता
यो साताको आरम्भमा संयुक्त राष्ट्र सङ्घका मानवअधिकार प्रमुख फोल्कर टुर्कले आफ्नो कार्यालयले सुवेदामा भएका झडपका क्रममा गैरन्यायिक हत्यासहित मानवाधिकार उल्लङ्घनका घटना फैलिरहेका सङ्केतसहितको विश्वसनीय विवरण प्राप्त गरेको बताएका थिए । त्यस्तो आरोप लाग्नेमा सुरक्षा बल र अन्तरिम सरकारसम्बद्ध व्यक्ति तथा स्थानीय ड्रुज र बेडोइनका हतियारधारी तत्त्व सामेल रहेक टुर्कको वक्तव्यमा भनिएको छ ।
‘यो रक्तपात र हिंसा रोकिनैपर्छ’ उनले चेतावनी दिँदै भनेका छन्– ‘त्यसका जिम्मेवारमाथि कारबाही हुनुपर्छ ।’
शनिवार बिहानको आफ्नो वक्तव्यमा सिरियाका अन्तरिम राष्ट्रपतिले आफ्नो सरकार देशका सम्पूर्ण अल्पसङ्ख्यक सम्प्रदायको सुरक्षाका निम्ति प्रतिबद्ध रहेको र हिंसाका निम्ति जिम्मेवार रहेका हरेक पक्षलाई जवाफदेही बनाउने प्रक्रियामा लागेको बताएका छन्।
‘जवाफदेहिताबाट कोही पनि भाग्न पाउँदैनन्’ उनले भनेका छन् । (बिबिसी)





