प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले सङ्कटकालीन विशेष बजेट विनियोजन गरेर धानरोपाइँको व्यवस्था मिलाउन सरकारसित माग गर्नुभएको छ ।
मध्यमनसुन बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा धानरोपाइँ प्रभावित भइरहेका बेला उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
युगदर्शन मिडियालाई २०८२ साउन ३ गते शनिबार प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो–’मध्यमनसुन अवधि बित्दा पनि पर्याप्त वर्षा नभएकाले अहिले सङ्कटकालीन विशेष बजेट विनियोजन गरेर धानरोपाइँको व्यवस्था मिलाउनुपर्दछ ।’
नेपालमा अहिलेसम्म पनि मनसुनी सिँचाइमाथि भर पर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले सिँचाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।
तराईमा जमिनमुनिको पानी निकालेर सिँचाइ गर्न सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष रेग्मीले भारतले गण्डक नदीको बाँधबाट पानी नदिँदा सिँचाइ प्रभावित रहेको सन्दर्भमा उहाँले सरकारले भारतसित कूटनीतिक वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेपालमा खाद्यबालीमध्ये धानको प्रमुख स्थान रहेको बताउँदै उहाँले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।
‘अहिले धानरोपाइँ गम्भीर रूपले प्रभावित हुने अवस्था छ’ उहाँले भन्नुभयो–’धान उत्पादनमा कमी आयो भने राष्ट्रिय सङ्कट उत्पन्न हुन्छ ।’
कृषिक्षेत्रलाई प्राथमिकता दिने नीति नभएकोमा उहाँले सरकारको आलोचना गर्नुभयो ।
अहिले जलवायु परिवर्तनका कारणले मनसुन प्रभावित भएको बताउँदै उहाँले भन्नुभयो– ‘मनसुनी चरित्रको व्यवस्थापन गर्ने राज्यले हो । त्यसका दुष्परिणामको सामना गर्न राज्यले दीर्घकालीन योजना बनाउनुपऱ्यो ।’
त्यस्तै उहाँले कृषिमल, बिउको समस्या अहिले पनि त्यस्तै रहेको धारणा राख्नुभयो ।
कृषिमल, बिउ, सिँचाइको समस्याले गर्दा कृषिक्षेत्र सङ्कटमा पर्दै गएको उहाँको धारणा भयो ।
उहाँले भन्नुभयो–’खेतीबाट घाटा पर्दा किसानलाई ऋण लाग्छ । त्यसले गर्दा किसानको विदेश पलायन बढेर जान्छ । यही कारणले गर्दा नेपाली जनताको विदेश पलायन बढ्दै गइरहेको छ ।’
अध्यक्ष रेग्मीले कृषिक्षेत्रको समस्याको बारेमा राजनीतिक पार्टी र किसान सङ्गठनले आवाज उठाउनुपर्ने पनि बताउनुभयो ।