तेजेन्द्र क्षेत्री ##
आमसञ्चार, राजनीति, सामाजिक कार्यमा समेत आममान्छेको दिमागलाई भ्रष्टीकरण गरेर, समाजको प्रधान विषयलाई तोडमोड गरेर भ्रम फिजाएर गलत कार्यलाई ढाकछोप गर्ने कुरा व्यापक भएको छ । जनताको ध्यानलाई अन्तै मोडेर केही समय राज्यसत्ता वा शत्तिीको दुरुपयोग गर्न सकिन्छ । गलत उद्देश्य प्राप्त गर्न सकिन्छ । त्यसवाट आर्थिक लाभ र केही सामाजिक समर्थन पनि हासिल गर्न सकिन्छ तर जब त्यो भ्रमको पर्दा खुल्छ, त्यसपछिका संसारका उदाहरण हेर्ने हो भने अबको नेपालको राजनीति पनि एउटा तहमा विस्फोटको दिशामा छ ।
यहाँ विचारलाई कसरी निषेध गरिन्छ भन्ने विषयमा एउटा धारणा प्रस्तुत गर्न प्रयत्न गरिएको छ । प्रस्तुत गरिएको विषय मात्र पूर्ण नहुन सक्छ तर विचारलाई कसरी अराजक बनाउन प्रयत्न गरिन्छ र त्यो कसरी भ्रष्टीकरणको दिशामा पुग्छ भन्ने बुझ्न मोड अफ थिङ्किङ (सोच्ने तरिका) लाई बुझ्न जरुरी हुन सक्छ ।
सोच्ने तरिका
सोच्ने तरिका भन्नाले व्यक्तिको सोच्ने तरिका वा विचारप्रक्रियालाई जनाउँछ । यसले कसरी मानिसले जानकारीको विश्लेषण गर्छन्, समस्या समाधान गर्छन् र निर्णय लिन्छन् भन्ने कुराको प्रतिनिधित्व गर्छ । यसलाई विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ
तार्किक सोच
यसले तथ्य वा डाटा विश्लेषणमा आधारित निष्कर्ष निकाल्ने प्रक्रियालाई जनाउँछ† जस्तै : गणितीय समस्याह समाधान गर्दा प्रयोग गरिने सोच ।
सिर्जनात्मक सोच
सिर्जनात्मक सोच भन्नाले नयाँ विचार वा नवीन समाधान उत्पन्न गर्ने क्षमतालाई बुझिन्छ ।
आलोचनात्मक सोच
आलोचनात्मक सोच भन्नाले जानकारीलाई गहन रूपमा विश्लेषण गरी तर्कसंगत निर्णय लिने प्रक्रियालाई बुझिन्छ† जस्तै : समाचार वा अनुसन्धानपत्रको मूल्याङ्कन गर्नु ।
भावनात्मक सोच
भावनात्मक सोच भन्नाले यी भावनाले प्रभावित गरेको सोच्ने तरिका हो । यसअन्तर्गत व्यक्तिगत सम्बन्धमा लिइने निर्णय आउँछन् ।
रणनीतिक सोच
रणनीतिक सोच भन्दाले दीर्घकालीन लक्ष्य प्राप्त गर्न योजना बनाउने प्रक्रिया हो ।
शासकहरूले मान्छेका सोचाइको तहलाई राम्रोसँग केलाएर, तिनीहरूको सामाजिक, मानसिक अवस्थालाई अध्ययन गरेर धेरै तरिकाले आफ्नो सत्तास्वार्थ पूरा गर्न प्रयत्न गरिरहेका हुन्छन् । मान्छेको सोच्ने तरिका खलबल पुऱ्याउन प्रयोग गरिने चार चरणबद्ध तरिकालाई प्रस्तुत गर्न लागिएको छ । जसलाई चार डीले सङ्केत गरिएको छ ।
सोच्ने तरिका (मोड अफ थिङकिङ) मा निराश पार्ने (डिमोरलाइज), ध्यान विचलन गर्ने (डिस्ट्रयाक्ट), विभाजन गर्ने (डिभाइड) र खारेज गर्ने (डिस्मिस) तरिका प्रायः नकारात्मक मनोवैज्ञानिक प्रभाव, सामाजिक नियन्त्रणका लागि प्रचार र हेरफेरको रूपमा प्रस्तुत गरिन्छ । यी तत्त्वले व्यक्ति वा समूहको सोच्ने प्रक्रियालाई कमजोर, अराजक, वा निष्क्रिय बनाउन मदत गर्छन् । व्यक्तिका विचारको तह, सक्रियता, समर्थन आदि आधारमा चरणबद्ध आक्रमण गरिन्छ ।
निराश पार्ने
यसअन्तर्गत व्यक्ति वा समूहको आत्मविश्वास, आशा र प्रेरणालाई नष्ट गर्ने तरिका प्रस्तुत गरिन्छ; जस्तै : “तिमीले यो गर्न सक्दैनौँ” भन्ने बारम्बार भनाइले व्यक्तिलाई असह्य महसुस गराउँछ । मिडिया वा सामाजिक प्रचारद्वारा आम मानिसमा निराशावाद फैलाउने कुरा योजनाबद्ध हो ।
ध्यान विचलन गर्ने
वास्तविक र मुख्य मुद्दाबाट ध्यान हटाएर अप्रासङ्गिक विषयमा केन्द्रित गराउने† जस्तै : राजनीतिज्ञले जनताको ध्यान आर्थिक समस्याबाट अन्य विषयमा तान्ने । सोसल मिडियामा “भाइरल” तर निरर्थक कन्टेन्टले मानिसलाई वास्तविक समस्याबाट टाढा राख्छ । मुख्य विषयलाई निष्क्रिय पार्ने (डिएक्टिभेट) काम हुन्छ ।
विभाजन गर्ने
विचारको एकतामा खलबल पुऱ्याउने, समूहलाई आपसमा फुटाएर कमजोर बनाउने रणनीति हो विभाजन गर्नु । जाति, धर्म, सम्प्रदाय, भाषा, क्षेत्र वा राजनीतिक विचार जेसुकै पनि विषयलाई आधार वनाएर मानिसमा द्वन्द्व सिर्जना गर्ने । “हामी विरुद्ध तिनीहरू” भन्ने मानसिकता फैलाउने काम हुन्छ ।
खारेज गर्ने
कुनै विचार, आन्दोलन वा व्यक्तिलाई महत्त्वहीन ठहराएर अनदेखा गर्ने । “यो त केवल षड्यन्त्र सिद्धान्त हो” भनी वैध चिन्तालाई खारेज गर्ने । महिला वा अल्पसङ्ख्यक, दलितको विचारलाई “अतिभावुक” भनेर बेवास्ता गर्ने ।
यी तरिकाले समाज वा व्यक्तिको तार्किक सोचलाई कमजोर बनाउँछन् । जागरुक रहने कसले, किन यस्ता तरिका प्रयोग गरिरहेछ ? सूचना जाँच गर्ने र भ्रम फैलाउने प्रयास पहिचान गर्ने, एकताबद्ध रहने, विभाजनको रणनीतिलाई अस्वीकार गर्ने, यसका लागि निरन्तर अध्यन र छलफलमा भाग लिने जसले सोचलाई निरन्तर अपडेट गरिरहन्छ ।
उदाहरणका लागि हामी केही कुरा लिन सक्छौँ; जस्तै : हजारौको सङ्ख्यामा युवाहरू पलायनको वाटोमा छन् । राज्यले अल्पकालीन र दीर्घकालीन रोजगारीप्रति बेवास्ता गरिरहेको छ । हजारौँ सहकारीपीडितको घरबार बिजोग भएको छ । दलहरू त्यसैलाई सत्ता बाँडफाँडको मोलमलाइको विषय बनाएर पस्किरहेका छन् । पर्यावरणको विषयमा दुनियाभरका मान्छेसँगै काम गर्नपर्नेछ । संसारका शक्तिशाली राष्ट्रको ध्यान युद्ध र प्राकृतिक स्रोतको कब्जा गर्नेतिर छ । आम जनताको सोच्ने तरिका राजनेता, सञ्चार, सामाजिक अभियन्ता सबै मिलेर भ्रष्ट बनाइरहेका छन् । यो अवस्था नेपालमा मात्रै नभएर संसारभरि व्यापक छ, जसले गर्दा परिवर्तनको लागि, अन्याय–अत्याचारको विरोधमा, न्याय समानताको वास्तविक आन्दोलनमा मान्छेको सहभागिता एकदम न्यून छ । कोलाहल, भ्रम, अराजकता र उद्धण्डप्रति उच्च सहभागिता र उपस्थिति छ ।
आम मान्छेको सोच्ने तरिकामा सुनियोजित प्रकारले पुऱ्याइएको यो क्षति एक दिन यसरी विस्फोट हुनेछ । त्यस दिशामा काम गर्न तयार हुनु अहिलेको प्राथमिकता हो । हेर्दा राजनेता, सञ्चारकर्मी, प्रोफेसर, धार्मिक गुरु, समाजसेवीजस्ता देखिने छद्मभेषी जनताका ज्यानी दुस्मनसँग निर्भीकतापूर्वक सङ्घर्ष गर्नु नितान्तै कठिन तर अनिवार्य आवश्यकता हो ।