मेघराज भट्टराई ##
पञ्चायती व्यवस्थाले नेपाली जनतालाई राजनैतिक अधिकारबाट वञ्चित गर्याे । समाज विकासको गतिलाई दरबारले रोक्न खोज्यो । दरबारले आफ्नो पारिवारिक स्वार्थलाई मात्र हेर्याे ।
जनतालाई सुविधा भएन भनेर हामी आयौँ भने यो देशको कायापलट हुनेछ भनेका अहिले सरकार चलाएका राजनैतिक दलका नेतृत्वकर्ताले आफ्नो व्यक्तिगत कायापलट पक्कै गरे । देशलाई खरानी लिस्टमा पुर्याए ।
काङ्ग्रेसको अर्थनीति नै पुँजीवादी र नवउदारवादी थियो तर एमालेको नीति त माक्र्सवादअनुसारको समाजवादी अर्थनीति भनेर नेताकार्यकर्ता जनता झुक्याउने काम गरे । यसले मात्रै पुगेन, हामी देशको सम्पूर्ण राज्यसत्तामा आमूल परिवर्तन गर्छौं, त्यसको लागि नयाँ जनवाद ल्याउँछौँ भनेर माओवादीले जनझापामा युद्ध पनि लडे तर उहाँहरू पनि काङ्ग्रेस–एमालेको अर्को समूहजस्तो हुन आउनुभयो ।
अहिले भन्ने हो भने काङ्ग्रेस, एमाले, माओवादीमा खासै फरक केही पनि छैन । भ्रष्टाचार गर्नमा समान, राजनीतिक कार्यशैली समान, व्यक्तिगत सम्पत्ति कमाउने र जसरी पनि सरकारमा जानेबारे समान । दस्तावेजलाई हिजोआज कमैले पढ्छन् । यही व्यवस्थामा रमाउन हिजो त्यत्रो बलिदान अवश्य भएको थिएन होला । जे होस्, क्रान्तिकारी बनेर नेपालको कम्युनिस्ट विचारको हत्या गर्न विदेशी शक्तिकेन्द्रले राम्रो प्रयोग गरे, प्रचण्ड–बाबुरामलाई । साँच्चिकै परिवर्तनको निम्ति जीवन अर्पण गर्ने नेपालआमाका वीर सपुतप्रति श्रद्धाञ्जली भन्नुवाहेक अरू केही भन्न सकिन्न ।
अब काङ्ग्रेसको फासीवादी शैलीका कारण प्रतिपक्षीका फरक विचार, फरक दलको कत्लेआमकै कारण देश धेरै पछि पर्याे । २०४८ सालको संसदीय निर्वाचनपछि नेपाली काङ्ग्रेसको बहुमत सरकारले नेपालका सम्पूर्ण कलकारखाना निजीकरणको नाममा भारतीय व्यापारीलाई बिक्री गर्न सुरु गर्याे । राम्रो अवस्थामा रहेको वायुसेवा निगममा गिरिजाप्रसाद कोइरालाको आँखा लाग्यो र छोरीज्वाइँलाई उपहार दिए । एउटा जहाज र जहाजभरि पाटपुर्जा नेपाली विमानचालकले जर्मनी छोडेर आए । त्यस्तै लाउडा धमिजा चेज एयरजस्ता ठुला भ्रष्टाचार गरे । यही समय सांसद खरिदबिक्री, सुत्केरीभत्ता एमालेका पुरुष सांसदले खाए । ईश्वर पोखरेलले भ्रष्टाचार गरेको पैसा पानी टङ्कीमा राखेकोसम्म समाचार आयो । पजेरोकाण्ड आयो । त्यसको चौतर्फी विरोध भयो ।
हामीले यिनी भ्रष्टाचार विरुद्ध आन्दोलन पनि गर्याैँ। प्रहरीको दमन पनि खेप्यौँ । यही बेला सुरु भयो माओवादी सशस्त्र सङ्घर्ष तर घुम्ने कुर्सी माथिको अन्धा शक्ति झन् राष्ट्रघात गर्न लागिपर्याे । २०५३ सालमा राष्ट्रघाती महाकाली सन्धि गरेर एमाले पनि काङ्ग्रेसको साथ भएको र आफ्नो कम्युनिस्ट नीति सिद्धान्त नभएको प्रमाण दियो । यिनीहरू सरकारी संस्थानमा राजनीतिक भागवन्डा मिलाएर भ्रष्टाचार गर्न थाले ।
देशलाई चाहिएको थियो, विकासका योजना तर सरकार विद्रोहलाई सेना लगाएर दबाउन लाग्यो । परिणामस्वरूप देशको अधिकांश क्षेत्र माओवादीमय भयो । काङ्ग्रेस, एमाले दरबारका काला कर्तुतबाट आजित भएका नागरिक माओवादीसँग आशा राखे ।
२०६२–६३ सालपछि माओवादी शान्ति सम्झौतामा आए र पहिलो संविधान सभापछि पहिलो पार्टीमा निर्वाचित भयो र सरकारको नेतृत्व गर्याे । जब माओवादी सरकारमा गए, उनीहरू रक्तचन्दनदेखि सुन तस्करी गर्न लागे । जग्गा प्लटिङ गरेर खेतीयोग्य जमिन मास्नसम्मका हर्कतले उनीहरूले काङ्ग्रेस–एमालेलाई पनि पछि पारे । बिप्पा, एमसिसीजस्ता राष्ट्रघात गर्न पछि परेनन् । कुर्सीको लागि प्रचण्डले एकपछि अर्को गलत क्रियाकलाप गर्दै गए ।
यही कारण वैद्य, विप्लवले पार्टी अलग अलग गराउँदै गए । माओवादी खण्डखण्डमा विभाजित भयो । प्रचण्ड नितान्त निजी सम्पत्ति, नातावाद, पारिवारिक सुखसुविधाभन्दा माथि उठेनन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने यिनीहरूको मिलीजुली काला कर्तुत हुन् ।
केही समय अघिदेखि भ्रष्टाचारका यति ठुला घटना हुन थाल्यो, लाखकरोडका होइनन्, अर्ब खर्बसम्मका भ्रष्टाचार भएका छन् । जनताले राखेका पैसासम्म सुरक्षित हुन सकेन । सहकारी काण्ड यसको उदाहरण हो । यसैको कारण आज पुँजीवादी प्रकारकै सही गणतन्त्र धरापमा परेको छ । यो व्यवस्था ल्याउन हजारौँ नेपालआमाका होनहार नागरिकले जीवनको बलिदान दिएका छन् तर यिनै राजनीतिक दलका कारण आज यो अवस्था आएको छ ।
आजका युवा, जसको अपेक्षा अमेरिकाको जस्तो युरोपको जस्तो अस्ट्रेलिया, जापानजस्तो जीवनस्तर चाहन्छन् तर मिहिनेत गर्न चाहँदैनन् । देशभित्र आफ्नो भविष्य नदेखी, यहाँ सङ्घर्ष नगरी सबै सुखसुविधा पाउने अपेक्षा नै गलत हो भन्ने कुरा विदेश पुगेपछि मात्र बुझिन्छ, त्यो बेला समयले नेटो काटिसकेको हुन्छ किनभने नेपालीसँग न कुनै सिप हुन्छ, उच्च शिक्षा नै । जहाँ गए पनि दुःख पाउनु नेपालीको नियतिजस्तो बनेको छ । यही कारण आज देशमा अराजकताले प्रवेश पाएको छ, जसलाई हामीले रोक्न असम्भवजस्तो भइसकेको छ ।
यहाँका नागरिकको आक्रोश सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिको अध्ययन गर्दा देश ठुलो विखण्डनको अवस्था नजिक छ । यसलाई रोक्न राजनीतिक अपराधीकरणको अन्त्य जरुरी छ । नीतिगत भ्रष्टाचारको अन्त्य र राजनीतिक भागवण्डा तत्काल रोक्न जरुरी छ तर अहिलेका सरकार सञ्चालक दलहरू यो बाटो हिँड्लान भन्नु असम्भवजस्तो छ । यदि राष्ट्रलाई सुरक्षित राख्ने हो भने हामीले अपराधीलाई राजनीतिकरण गर्नबाट रोकौँ ।