० ९१ वर्षको उमेरमा पनि तपाईंको सक्रियता आश्चर्यलाग्दो छ । बिहानदेखि बेलुकासम्मको दिनचर्या कसरी बित्छ ? के कुराले यो उमेरमा पनि यति धेरै ऊर्जा दिन्छ ?
: मेरो दिनचर्या सामान्य नै छ । म बिहान ५ बजेतिर उठ्छु र राति १० बजेतिर सुत्छु । दिनभर पार्टीको काममै सक्रिय हुन्छु । कहिले विभिन्न बैठकमा जान्छु, कहिले जिल्लामा जान्छु, कहिले भारत वा युरोपका देशमा पनि जान्छु । पार्टीका जे जति कार्यक्रम हुन्छन्, त्यसमा म निरन्तर लागिरहेको हुन्छु ।
राजनीतिबाहेक मेरो अर्को मुख्य काम भनेको लेख्ने हो । निरन्तर लेख्ने काम मेरो जिन्दगीभरिको दैनिकी हो । बिहानदेखि बेलुकासम्म, जब समय मिल्छ, मैले एउटा न एउटा लेख वा किताबमा काम गरिरहेको हुन्छु । यही लेखन र अध्ययनले मलाई ऊर्जा दिन्छ । मलाई लाग्छ, साहित्यले एउटा राजनीतिक कार्यकर्तालाई पनि बल, प्रेरणा, उत्साह दिन्छ । एक प्रकारको रस प्रदान गर्छ ।
पानी, अन्न, फलफूलले हाम्रो शरीरलाई जसरी ऊर्जा दिन्छ, त्यसैगरी साहित्यले पनि हाम्रो जीवनमा नयाँ शक्ति र ऊर्जा दिइरहेको हुन्छ । यदि म राजनीतिक कार्यमा मात्र लागेको भए सायद मेरो जीवन यति लामो समयसम्म यति सक्रिय र ऊर्जाशील हुने थिएन होला । सुस्त हुन्थ्यो होला । साहित्यले व्यक्तिलाई जीवनमा आनन्द दिन्छ, रस दिन्छ, एउटा बेग्लै क्षमता दिन्छ ।
जब म एउटा कविता लेख्छु, एउटा उपन्यास लेख्छु, यस्ता सबै काम गर्दा र साहित्यको लागि मैले फेरि अध्ययन गर्नुपर्छ । म अध्ययन गर्छु । त्यसले मलाई एउटा नयाँ ऊर्जा प्रदान गरिरहेको हुन्छ । यो पनि मेरो जीवनको एउटा महत्त्वपूर्ण पाटो हो ।
० तत्कालीन राजदरबारसँग निकट मानिने एउटा खानदानी परिवारमा जन्मिएर पनि त्यो सुविधा र पहुँचको जीवन छोडेर साम्यवादको यो कठिन र अनिश्चित बाटोमा लाग्ने प्रेरणा कसरी मिल्यो ? राजनीतिमा लहैलहैमा लाग्नुभयो कि जानीबुझी लाग्नुभयो ?
: होइन, यो कुनै लहैलहैमा भएको निर्णय थिएन । मेरो सानैदेखि नै अध्ययन गर्ने बानी थियो । म जहिले पनि खाली समयमा कुनै न कुनै पुस्तक खोज्थेँ । पुस्तकालयमा जान्थेँ, दिनभरि बसेर पढ्थेँ । छुट्टीका दिनमा, खाली समयमा अध्ययन गर्ने मेरो धेरै गहिरो बानी थियो । त्यही अध्ययनको क्रममा नै मेरो झुकाव माक्र्सवादी–लेनिनवादी अध्ययनतिर गयो ।
मैले त्यसका धेरै अध्ययन गरेँ, माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ र अन्य माक्र्सवादी साहित्य । खासगरी २००७ सालपछि त यहाँ (नेपालमा) धेरै पुस्तकालय खुलेका थिए, माक्र्सवादी किताब पनि धेरै पाइन्थे । त्यो अध्ययनद्वारा नै म कम्युनिस्ट आन्दोलनतिर आकर्षित भएको हुँ । यो कुनै व्यक्तिको प्रभावमा वा कसैको लहैलहैमा लागेर कम्युनिस्ट आन्दोलनमा आएको होइन । यो पूर्णतः मेरो आफ्नै अध्ययन, बोध र विश्वदृष्टिकोणको परिणाम थियो ।
० तपाईंले लेखनलाई आफ्नो जीवनको अभिन्न अङ्ग भन्नुभयो । अहिले के के लेख्दै हुनुहुन्छ ? यहाँका साहित्यिक कृतिहरू पाठकमाझ आउने क्रममा छन् कि ?
: मेरो उपन्यास ‘कामरेड जलजला’ त निस्किसक्यो । त्यसलाई पूरा गर्न मलाई २३ वर्ष लागेको थियो । अहिले पनि ‘कामरेड जलजला’ सँग सम्बन्धित विषयमै मैले युगदर्शन साप्ताहिकको प्रत्येक अङ्क र युगदर्शन डट कममा लेख लेखिरहेको छु, त्यसको विश्लेषण गरेर ।
त्यसबाहेक मेरा अन्य साहित्यिक काम पनि चलिरहेका छन् । मैले आजभन्दा २०–२२ वर्ष पहिले मेरो सानो छोरालाई लेखेका पुराना चिठ्ठी थिए । ती चिठ्ठीलाई एउटा पत्रसाहित्यको रूपमा प्रकाशन गर्ने तयारी भइरहेको छ । त्यो एउटा ऐतिहासिक दस्तावेज पनि बन्न सक्छ । मेरा कविता पनि पहिले नै निस्केका थिए, अहिले त्यसको अङ्ग्रेजी र हिन्दीमा अनुवाद भइरहेको छ ।
अर्को एउटा महत्त्वपूर्ण काम, एक जना घोस्ट राइटरले मेरो आत्मकथा लेख्नुभएको छ । त्यसमा पनि म लागिरहेको छु । उहाँले लेखेर मलाई दिनुहुन्छ तर त्यसमा केही समस्या छ । २००८/०९ सालदेखिको कुरा मलाई सबै कण्ठस्थ छैन । मैले आफैँ लेख्न पाएको भए राम्रो हुन्थ्यो ।
घोस्ट राइटर भएपछि उहाँको आफ्नो शैली हुन्छ, मेरो आफ्नो शैली । उहाँले लेखेर टाइप गरिसक्नुभएको छ, डेढ/दुई वर्ष भइसक्यो ।
त्यसलाई पनि म हेरिरहेको छु र दुई/चार महिनामा त्यसलाई पनि प्रकाशित गर्ने मेरो योजना छ । यसरी आफ्नो दैनिक काम चलिरहेका छन् ।
० तपाईंको जीवनमा राजनीति र साहित्य समानान्तर रूपमा अगाडि बढेको छ । यी दुई फरक कुरा हुन् वा एकअर्काका परिपूरक ? एउटा क्रान्तिकारीको लागि साहित्यको महत्त्व के हुन्छ ?
: यी दुईओटा बेग्लाबेग्लै कुरा होइनन्, परिपूरक हुन् । राजनीति चाहिन्छ नै, यो देश र जनताको जीवनसँग, आन्दोलनसँग सम्बन्धित छ ।
आन्दोलन नगरीकन परिवर्तन हुँदैन । आज देशमा जे जति सकारात्मक परिवर्तन भए, चाहे त्यो राणा शासनको अन्त्य होस्, पञ्चायतको अन्त्य होस् वा गणतन्त्रको स्थापना, त्यो सबै राजनीति र राजनीतिक आन्दोलनले नै गरेको हो तर राजनीतिको साथसाथै साहित्यको पनि त्यति नै महत्त्वपूर्ण भूमिका छ ।
साहित्यले जनमानसमा चेतना जगाउँछ, जागरण दिन्छ तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, राजनीति गर्ने कार्यकर्तालाई साहित्यले ठुलो ऊर्जा र प्रेरणा दिन्छ । मैले त लेखेको पनि छु, यदि म राजनीतिक कार्यमा मात्र लागेको भए, सायद मेरो जीवन सुस्त हुन्थ्यो होला । साहित्यले एउटा राजनीतिक कार्यकर्ताको जीवनमा रस थपिदिन्छ, उसलाई भावनात्मक र बौद्धिक रूपमा बलियो बनाउँछ । यसले एउटा राजनीतिकर्मीलाई मानिसको संवेदना, समाजको गहिराइ र मानवीय भावनालाई बुझ्न मदत गर्छ । त्यसैले राजनीति र साहित्य दुवै महत्त्वपूर्ण छन् ।
० धेरैले यो उमेरलाई विश्रामको उमेर मान्छन् । तपाईंले यति लामो राजनीतिक र बौद्धिक सङ्घर्ष गर्नुभयो । अब धेरै भयो, विश्राम लिऊँ, अब बाँकी जीवन आनन्दले बिताऊँ, सन्यास लिऊँजस्तो लाग्दैन ?
: मान्छे त अहिले मात्र होइन, अरू सय/दुई सय वर्षसम्म बाँच्न पाए हुन्थ्यो भन्ने सोच्छ तर हामीले भनेर त हुँदैन त्यो कुरा । त्यसैगरी पार्टीमा काम गर्ने कुरा पनि मैले अब १० वर्ष, ५० वर्ष काम गर्छु भनेर हुने कुरा होइन । यो मेरो शक्तिले, शरीरले, तागतले निर्धारण गर्ने कुरा हो । जबसम्म म सक्रिय हुन सक्छु, त्यो बेलासम्म गर्ने हो । बिस्तारै बिस्तारै कमजोर भइरहेको छु । हिँड्न सक्ने बेलासम्म हुन्थ्यो, अब हिँड्न नसकेपछि त म आउन सक्दिनँ । यो मेरो इच्छामा मात्र भर पर्दैन ।
लेनिनले एक ठाउँमा भन्नुभएको छ– ‘यदि हाम्रो इच्छाले मात्र क्रान्ति हुने भएको भए, धेरै पहिले नै क्रान्ति भइसक्थ्यो ।’ त्यसैले यो मेरो इच्छाको कुरा मात्र होइन । भोलि पार्टीले भन्न सक्छ, ‘होइन, अब नेतृत्वबाट हट्नुप¥यो’, जसरी पुष्पलालजीलाई कैयौँपटक नेतृत्वबाट परिवर्तन गरियो ।
भोलि महाधिवेशन हुन सक्छ, महाधिवेशनको केन्द्रीय कमिटीले अर्कै निर्णय गर्न सक्छ । केन्द्रीय कमिटीले भन्न सक्छ, ‘होइन, अब उहाँलाई होइन, अर्को मान्छेलाई महामन्त्री बनाऊँ ।’ यो मेरो हातको, मेरो इच्छाको कुरा मात्र होइन । यो पार्टीको इच्छाको कुरा, उनीहरूको विश्वासको कुरा पनि हो । त्यसकारण म कति कहिलेसम्म काम गर्छु भन्ने कुरा मेरो शारीरिक अवस्था, मेरो इच्छा, मेरो सक्रियता र पार्टी तथा साथीहरूको ममाथिको विश्वास—यी सबै कुरामा निर्भर गर्छ । जबसम्म यी सबै कुराले साथ दिन्छ, म लागिरहन्छु ।
० अबको नयाँ पुस्ता, जो राजनीतिमा आउँदैछ वा देशको भविष्यबारे चिन्तित छ, उनीहरूलाई तपाईंको के सन्देश छ ? उनीहरूले के कुरामा ध्यान दिनुपर्ला ?
: यो आउने पुस्तालाई मात्र होइन, अहिलेको पुस्तालाई पनि मेरो भनाइ छ । हामीले खालि आफ्नो व्यक्तिगत स्वार्थको मात्र चिन्ता गर्नुभएन ।
चाहे राजनीतिक पार्टीका मान्छे हुन्, चाहे आम जनता, विद्यार्थी वा अन्य कोही, सबैको सोचाइ ‘म कसरी राम्रो बनूँ, मेरो क्यारियर कसरी राम्रो बनाऊँ, मलाई नोकरीबाट हुन्छ कि, विदेश गएर हुन्छ कि, भ्रष्टाचार गरेर हुन्छ कि, चोरीडकैती गरेर हुन्छ कि’ यस्तो मात्र भयो । आज समाजमा देखिरहेको समस्या यही हो । सबैको मूलमा व्यक्तिगत स्वार्थ प्राथमिकतामा छ ।
नयाँ पुस्तामा पनि मैले यही देखिरहेको छु । आम रूपमा विदेश जाने सोचेका छन् । विदेश जानुहुन्न भन्ने हाम्रो सोचाइ होइन । भारत, चीनजस्ता देशको विकास पनि विदेश गएर ज्ञानविज्ञान, प्रविधि सिकेर आएकाले नै गरेका हुन् । नेपालजस्तो देशले पनि यो गर्नुपर्छ । विदेश जानु, पढ्नु, ज्ञानविज्ञान सिक्नु आवश्यक छ तर गएर त्यहीँ बस्ने होइन । उनीहरूले आफ्नो मुटुमा, आफ्नो हृदयमा एउटा देशभक्तिको भावना राख्नुपर्छ । त्यहाँ गएर सिकेको कुराले मैले आफ्नो देश बनाउने हो, देशको लागि निर्माण गर्ने हो भन्ने भावना हुनुपर्छ ।
अहिले नयाँ पुस्तामा आम रूपमा देश, समाजप्रतिको यो सेवाभाव र सोचाइ एकदम कम हुँदै गएको छ । यदि पुरानो पुस्ता बिग्रियो, नयाँ पुस्ताले पनि देशको विषयमा सोचेन, खालि आफ्नो क्यारियर मात्र सोच्यो भने देश त अन्धकारमा जान्छ । त्यसकारण नयाँ पुस्ताप्रति हाम्रो आग्रह के हो भने तपाईंले आफ्नो व्यक्तिगत क्यारियर पनि सोच्नुपर्छ, परिवार पनि सोच्नुपर्छ, घरगृहस्थी पनि सोच्नुपर्छ, त्यो म सोच्दिनँ भन्ने कुरा होइन तर त्यसका साथै देशको विकासमा नै तपाईंको भविष्य पनि सुनिश्चित हुन्छ, तपाईंको सन्तानको भविष्य पनि सुनिश्चित हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । नत्र भने देश अहिले जस्तो छ, सधैँ त्यस्तै रह्यो भने त देश खत्तम हुन्छ, डुब्न जान्छ । त्यसकारण उनीहरूमा समाज र देशभक्तिप्रति प्रेमको भावना हुनुपर्छ, सेवाको भावना हुनुपर्छ । तपाईंले जो उपलब्धि प्राप्त गर्नुहुन्छ, जो क्षमता प्राप्त गर्नुहुन्छ, त्यसको एउटा अंश देशलाई पनि लगाउनुपर्छ । त्यसो गरे भने मात्र देशको भविष्य राम्रो हुन्छ । नयाँ पुस्तालाई मेरो सबैभन्दा महत्त्वपूर्ण सन्देश यही हो ।
(रातो पाटी डट कमका लागि गणेश पाण्डेले लिनुभएको अन्तर्वार्ता । प्रस्तुत सामग्री सो वेबसाइटमा २०८२ असार २९ गते प्रकाशन भएको थियो ।)