ढाका । गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएपछि र उहाँको १५ वर्षको शासनको अन्त्य गरेर उहाँलाई भारत भाग्न बाध्य पारिएपछि बङ्गलादेश नयाँ सुरुआतको सम्भावनामा थियो ।
नयाँ अन्तरिम सरकारका प्रमुखका रूपमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले जुलाई १५, २०२४ मा सुरु भएको हिंसामा सयौँको मृत्यु भएपछि लोकतन्त्रमा फर्कन, चुनावी र संवैधानिक सुधार सुरु गर्न र सडकमा शान्ति पुनःस्थापना गर्न विश्वसनीय चुनाव गर्ने वाचा गर्नुभएको थियो ।
एक वर्षपछि युनुसको नेतृत्वमा रहेको प्रशासनले विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ । बङ्गलादेश बढ्दो राजनीतिक अनिश्चितता, धार्मिक ध्रुवीकरण र चुनौतीपूर्ण कानुन र व्यवस्थाको स्थितिमा फसेको छ ।
हसिनालाई अपदस्थ गर्ने विद्यार्थी प्रदर्शनकारीले दुई प्रमुख वंशवादी राजनीतिक दल बङ्गलादेश नेसलिस्ट पार्टी ९बिएनपी० र हसिनाको अवामी लिगको अत्यधिक प्रभाव तोड्ने वाचा गर्दै नयाँ राजनीतिक दल गठन गरेका थिए तर पार्टीका विरोधीले यसलाई युनुसको नेतृत्वमा रहेको प्रशासनको नजिक रहेको र राज्यसंस्थाको प्रयोग गरेर राजनीतिक लाभका लागि अराजकता सिर्जना गरेको आरोप लगाएका छन् ।
विद्यार्थी नेतृत्वको पार्टीसँग गठबन्धन गरेर यसले मे महिनामा प्रतिबन्धित अवामी लिगले छोडेको शून्यता भर्न प्रयास गरिरहेको छ । अवामी लिगका नेता हसिनाले मानवता विरुद्धको अपराधका लागि मुद्दाको सामना गरिरहनु भएको छ । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेशको स्वतन्त्रताको विरोध गर्ने जमात ए इस्लामीको शक्ति अज्ञात छ ।
बिएनपी र जमात ए इस्लामी पार्टी दुवै अहिले प्रशासन, न्यायपालिका र विश्वविद्यालय क्याम्पसमा समेत वर्चस्व स्थापना गर्न आपसी द्वन्द्वमा छन् ।
यता युनुसले चुनावमा ढिलाइ गर्नुभएको छ किनभने उहाँले संविधान र चुनावदेखि न्यायपालिका र प्रहरीसम्मका परिवर्तनमा सुधार चाहनुभएको छ । हसिनाको आवामी लिगबाहेक राजनीतिक दलसँग छलफल जारी छ ।
केही सुधारमा एक व्यक्ति कतिपटक प्रधानमन्त्री बन्नसक्छ भन्नेमा सीमा राख्नु, दुई तहको संसद्को थालनी र प्रधानन्यायाधीशको नियुक्ति समावेश छ ।
युनुसको शासनकालमा बङ्गलादेशमा मानव अधिकार गम्भीर चिन्ताको विषय बनेको छ ।
अल्पसङ्ख्यक समूह, विशेष गरी हिन्दुले आफ्नो पर्याप्त सुरक्षा गर्न असफल भएकामा उहाँको प्रशासनलाई दोष दिएका छन् । बङ्गलादेश हिन्दु बौद्ध क्रिस्चियन युनिटी काउन्सिलले गत वर्ष सयौँ आक्रमणमा अल्पसङ्ख्यक हिन्दु र अन्यलाई लक्षित गरिएको बताएको छ ।
हसिनाको पार्टीले पनि आफ्नो दशौँ हजार समर्थकलाई पक्राउ गरेकामा अन्तरिम सरकारलाई दोष दिएको छ । युनुसको नेतृत्वमा रहेको प्रशासनले यी आरोप अस्वीकार गर्दछ ।
हसिनाको १५ वर्षको शासनकालमा बङ्गलादेश दक्षिण एसियामा भारतको सबैभन्दा नजिकको साझेदार थियो । उहाँको पतनपछि युनुसको नेतृत्वको प्रशासन चीनसँग नजिक गएको छ । चीन यस क्षेत्रमा भारतको मुख्य प्रतिद्वन्द्वी हो ।
युनुसको पहिलो राजकीय भ्रमण मार्चमा चीनको थियो । त्यो भ्रमणले उहाँलाई लगानी, ऋण र अनुदान प्राप्त गरायो ।
अर्कोतिर भारत आफ्नो पुरानो सहयोगी हसिनाको निष्काशनबाट क्रोधित छ र उहाँलाई सुपुर्दगी गर्ने ढाकाको अनुरोधको जवाफ दिएको छैन । हसिनाको पतनपछि भारतले बङ्गलादेशीहरूलाई भिसा दिन रोकेको छ ।
विश्वव्यापी रूपमा युनुसलाई पश्चिम र संयुक्त राष्ट्र सङ्घको बलियो समर्थन रहेको देखिन्छ र बङ्गलादेशले आफ्नो विदेश नीति जारी राख्ने देखिन्छ, जसले लामो समयदेखि धेरै विदेशी शक्तिबिच सन्तुलन खोज्ने प्रयास गरेको छ । (राससरएपी)