गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४० जनाभन्दा बढी प्यालेस्टिनीको ज्यान गएसँगै इजरायल–हमासबिचको वार्ता स्थगित भएको छ ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायल र हमासबिचको युद्धविरामको लागि वार्ता हाललाई रोकिएको हो ।
इजरायल र प्यालेस्टिनी लडाकु समूहका प्रतिनिधिमण्डलले गाजापट्टीमा २१ महिनादेखि चलेको युद्ध रोकी युद्धविराममा सहमतिका लागि एक हप्तादेखि वार्ता जारी राखेका थिए ।
नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले पानी वितरण केन्द्रमा भएको ड्रोन आक्रमणमा १० जना पीडितमध्ये आठ जना बालबालिका रहेको उल्लेख गर्नुभयो ।
इजरायली सेनाले मध्यगाजाको नुसिरात शरणार्थी शिविरमा एक आतङ्ककारीलाई लक्षित गरी आक्रमण गर्दा ‘प्राविधिक त्रुटि’ भएको जनाउँदै हतियार लक्ष्यबाट दर्जनौँ मिटर टाढा खसेको बताएको छ ।
वासिङ्टन इजरायलको शीर्ष सहयोगी हो भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेको र आफू सम्झौताको लागि आशावादी रहेको बताउनुभएको छ ।
इजरायली नागरिक सुरक्षा निकायका प्रवक्ता बासलले भने युद्ध अन्त्यको तत्काल कुनै सङ्केत नभएको र आइतबार प्यालेस्टिनी क्षेत्रभरि भएको आक्रमणमा गाजा सहरमा ११ जनासहित कम्तीमा ४३ जनाको मृत्यु भएको बताउनुभयो ।
हाल गाजाभरि सैन्य कारबाही तीव्र पारेको इजरायली सेनाले गत २४ घण्टामा वायुसेनाले एक सय ५० भन्दा बढी आतङ्ककारी लक्ष्यमा आक्रमण गरेको बताएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले अधिकांश नागरिकसहित कम्तीमा ५८ हजार २६ जना प्यालेस्टिनीहरू इजरायलको जबाबी अभियानमा मारिएको जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घका निकायले शनिबार इन्धनको अभाव गम्भीर स्तरमा पुगेको र गाजाको २० लाखभन्दा बढी मानिसको अवस्था थप बिग्रने खतरा रहेको चेतावनी दिएका छन् ।
इजरायल र हमासले एकअर्कालाई सम्झौता रोक्न खोजेको आरोप लगाएपछि शनिबार कतारको राजधानी दोहामा ६० दिने युद्धविराम र बन्धक मुक्तिका लागि वार्ता स्थगित भएको थियो ।
हमासले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता लिन चाहन्छ तर वार्ताको जानकारी भएको प्यालेस्टिनी स्रोतले इजरायलले ४० प्रतिशतभन्दा बढी क्षेत्रमा सेना राख्ने योजना प्रस्तुत गरेको बताएको छ । (रासस/एएफपी)