मोहनविक्रम सिंह ##
मेरो उपन्यास ‘कामरेड जलजला’ का सन्दर्भमा मैले एकपल्ट भनेको थिएँ– “मेरो उपन्यास केही ठुलो छ । यो उपन्यासको तयारीका लागि सामग्री जुटाउन अध्ययनका लागि जति धेरै पुस्तकालयमा पुगेको छु वा स्थलगत भ्रमण गरेको छु, ती सबैको विवरण लेख्ने हो भने त्यो पुस्तकको आकार यो उपन्यासको भन्दा दोब्बर हुनेछ ।”
सबै विवरण दिएर अर्को पुस्तक लेख्नु ता मेरा लागि सम्भव छजस्तो लाग्दैन वा त्यो एक प्रकारले असम्भव नै छ । यदि मैले कल्पना गरौँ, त्यो पुस्तक लेखेँ भने त्यो यो उपन्यासभन्दा बढी उपयोगी, ज्ञानवर्धक र रोमाञ्चक पनि हुनेछ तैपनि अहिले यो लेखमा मैले त्यो उपन्यासको तयारीको सिलसिलामा अध्ययनको लागि पुस्तकालयमा गरेको अवलोकन र स्थलगत भ्रमणको केही सङ्क्षिप्त विवरण दिने प्रयत्न गर्नेछु ।
सर्वप्रथमतः यो उपन्यासको तयारीका लागि भनेर बेग्लै पुस्तकालयमा पढ्न जाने वा देश विदेशको भ्रमण कार्य मैले कमै गरेको छु । पार्टीको कामको सिलसिलामा मैले नेपालका विभिन्न भाग, भारतका विभिन्न राज्य र सहर वा युरोपका पनि कैयौँ देशको लगातार भ्रमण गरिराख्नुपऱ्यो । मेरो अध्ययनप्रति धेरै रुचि भएको हुनाले म जहाँ पनि पुग्दथेँ, सर्वप्रथम त्यहाँका पुस्तक पसलमा गएर पुस्तक हेर्ने वा किन्ने वा सम्भव भएजति किन्ने तथा त्यो ठाउँका पुस्तकालयमा गएर अध्ययन गर्ने प्रयत्न गर्दथेँ । कुनै ठाउँमा पुगेर त्यहाँको दृश्यावलोकन गर्दा पनि त्यो ठाउँबारे बढीभन्दा बढी जानकारी प्राप्त गर्ने वा नोट लेख्ने गर्दथेँ । तपाईंहरूले उपन्यास पढ्दा थाहा पाउनुहुनेछ, उपन्यासकी एउटी प्रमुख पात्र सुनन्दाको त्यही प्रकारको विशेषता रहेको छ । जे होस्, त्यस प्रकारको भ्रमण र अध्ययनको बानीले मलाई जुन ज्ञान प्राप्त भयो, त्यसबाट यो उपन्यास लेख्नका लागि मलाई धेरै मदत पुग्यो ।
जस्तो कि मैले अन्यत्र बताइसकेको छु, आगरा विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेपछि नेपालको कर्णाली प्रदेश, गढवाल र कुमाउँका पहाडको कृषिको संरचनाको तुलनात्मक अध्ययनका लागि पिएचडीको अध्ययन गर्न थालेको थिएँ । त्यस सिलसिलामा मैले कुमाउँ र गढवालका धेरै स्थानको भ्रमण गरेँ वा कुमाउँ र गढवालका साथै दिल्ली, आगरा, लखनऊ, इलाहावाद वा बनारसका धेरै पुस्तकालयमा गएर आफ्नो पिएचडीको सामग्री जुटाउने कोसिस गरेँ तर नेपालको पञ्चायत विरोधी आन्दोलन वा पार्टीको कामको व्यस्तताका कारणले मैले पिएचडीको तयारीलाई पूर्णता दिन सकिनँ तैपनि त्यस सिलसिलामा मैले कुमाउँ र गढवालबारे जुन अध्ययन गरेको थिएँ वा सामग्री जुटाएको थिएँ, तिनीहरूलाई मैले आफ्नो उपन्यासमा बढीभन्दा बढी उपयोग गर्ने कोसिस गरेँ । त्यसैको परिणाम हो कि उपन्यासको पहिलो भाग कुमाउँसित नै सम्बन्धित छ र त्यसको शीर्षक नै ॅकुमाउँकी छोरी’ रहेको छ ।
मेरो उपन्यासमा पनि कैयौँ महत्त्वपूर्ण पात्र कुमाउँ, गढवालसित नै सम्बन्धित छन् । उपन्यासकी एउटी महत्त्वपूर्ण पात्र सुनन्दा कुमाउँकी नै छोरी हुन् । त्योबाहेक उपन्यासको अर्को महत्त्वपूर्ण पात्र कामरेड गढवाली कहाँका हुन् ? त्यो ता थाहा छैन तर उनको मुख्य कर्मभूमि गढवाल–कुमाउँ नै हो । डा. जगदीश पनि गढवाली नै हुन् । उपन्यासमा त्योबाहेक गढवाल–कुमाउँबाट अरू कैयौँ पात्र लिइएका छन् ।
पिएचडीको तयारीको बेलामा बाहेक पछि उपन्यास तयारीको सिलसिलामा पनि म गढवाल–कुमाउँका धेरै ठाउँमा घुमेँ । त्यो भ्रमणमा पछि दुर्गाले पनि मलाई धेरै सहयोग गरिन् । उपन्यासको प्रारम्भ अल्मोडाको कौशानीबाट नै हुन्छ । दुर्गा र म सँगै कौशानी गएका थियौँ । कौशानी लक्ष्मी आश्रमका लागि प्रसिद्ध छ । दुर्गा र म कैयौँ दिनसम्म त्यो आश्रममा बसेका थियौँ र त्यसको विस्तृत रूपले स्थलगत अध्ययन गरेका थियौँ । त्यसले उपन्यासमा लक्ष्मी आश्रमको चित्रणको लागि धेरै मदत पुगेको छ । लक्ष्मी आश्रम सरला बहनको लागि पनि प्रसिद्ध छ । उनी एउटी विदेशी महिला थिइन् तर उनले आफ्नो सम्पूर्ण जीवन ग्रामीण महिलाको शिक्षाका लागि समर्पण गरेकी थिइन् । दुर्गा भएकीले त्यो आश्रमका शिक्षिका र छात्रासित कुराकानीका लागि धेरै मदत पुगेको थियो । कौशानी आश्रमबाट हामी सरला बहनले जीवनको अन्तिम समय बिताएको ठाउँ (अहिले मलाई त्यो ठाउँको नाम याद भएन) मा पनि गएका थियौँ । दुर्गा र म कैयौँ पल्ट देहरादुनका एक जना मित्र मोतीलाल दुबेका पनि गएका थियौँ । उहाँ गढवालकै वासिन्दा हुनुहुन्छ । उहाँबाट पनि कुमाउँ र गढवालबारे हामीलाई धेरै जानकारी प्राप्त भएको थियो ।
अल्मोडाको खुराकोटको पर्यावरण आन्दोलन धेरै नै प्रसिद्ध छ । त्यो आन्दोलनको नेतृत्व मालती देवीले गरेकी थिइन् । उनले भनेकी थिइन्– उनका पुर्खा नेपालबाट नै त्यहाँ आएका थिए रे झ् उनले बालाजुको सिद्धार्थ वनस्थलीको विद्यालयद्वारा आयोजित पर्यावरणसम्बन्धी एउटा कार्यक्रममा भाग लिन कौशानी आश्रमकी एउटी शिक्षिका राधा बहनसित काठमाडौँ आएको पनि बताएकी थिइन् । दुर्गा र म उनलाई भेट्न खुराकोटमा गएका थियौँ । हामी त्यो आन्दोलन चलेको खुराकोटको जङ्गलमा पनि पुगेका थियौँ । त्यस प्रकारको स्थलगत भ्रमणका कारणले नै खुराकोटको आन्दोलनबारे उपन्यासमा वस्तुगत र सजीव प्रकारले चित्रण गर्नु सम्भव भएको छ ।
जस्तो कि माथि बताइयो, उपन्यासकी एउटी मुख्य पात्र सुनन्दा नै हुन् । उनी काल्पनिक पात्र हुन् तर उनलाई सजीव रूपमा चित्रण गर्नको लागि मैले कुमाउँ र गढवालका धेरै स्थानको भ्रमण गर्नुपरेको थियो । त्यस सन्दर्भमा एउटा मुख्य विचारणीय प्रश्न यो थियो– उनलाई कुमाउँ र गढवालका कुन स्थानबाट लिने ? एउटा विचार उनलाई कौशानीबाट लिने पनि थियो । पछि उनलाई कौशानीभन्दा केही टाढाको एउटा गाउँ (अहिले मैले त्यो गाउँको नाम बिर्सें) वा रानीखेतबाट लिने पनि विचार गरेको थिएँ । पछि राजुला र बालुशाहीको कथासित सम्बन्धित जोहारको कुनै गाउँबाट उनलाई लिने पनि मैले विचार गरे । त्यसका लागि अल्मोडाबाट कुमाउँका उच्च पहाड हुँदै हामी जोहार पुगेका थियौँ । त्यहाँबाट हामी पहाडैपहाड नदीका तिर हुँदै जौलजीवी पुगेका थियौँ । मेरो सोचाइ धार्चुलाको दारमाको आसपासको कुनै गाउँबाट सुनन्दालाई लिने विचार थियो । अन्तमा पञ्चचुली हिमालको छेडको एउटा शौका गाउँ दाँतुबाट मैले उनलाई लिएँ तर त्यो ठाउँमा हामी पुग्न सकेनौँ ।
मैले दुर्गालाई जौलजीवीमा छाडेर धार्चुलातिर लागेँ । धार्चुला नेपालको दार्चुलाभन्दा वारिको पिथौरागढको एउटा सहर हो । त्यहाँबाट नै दारमा वा दाँतुतिर बाटो जान्छ तर धार्चुला निषेधित क्षेत्र रहेछ । मलाई त्यो कुरा थाहा थिएन । त्यहाँ पुगेपछि नै थाहा भयो । त्यो थाहा पाएपछि मैले जौलजीवी फर्कने विचार गरेँ । त्यो बेला साँझ अबेला भइसकेको थियो । म अबेलासम्म नफर्केको देखेर दुर्गा पनि जौलजीवीबाट मलाई खोज्दै धार्चुला आइपुग्छिन् । धार्चुलामा मेरो कुनै निश्चित ठाउँ थिएन । त्यसकारण उनको मसित भेट नहुन पनि सक्दथ्यो र उनी कतै अलपत्र पनि पर्न सक्दथिन् तैपनि सञ्जोगले उनीसित सँगै भेट भयो र हामी दुवैजना सँगै जौलजीवी फर्कियौँ । सायद त्यहाँका पुलिसले हामी दुबै जनालाई कुमाउनीजस्तै देखेर सोधपुछ गरेका थिएनन् र हामी उम्केका थियौँ, नत्र हामी गिरफ्तार पनि हुन सक्दथ्यौँ ।
त्यो निषेधित क्षेत्र भएको हुनाले म सुनन्दाको गाउँ दाँतु जान सकिनँ तैपनि मैले लखनऊ गएर गजेटियर वा त्यहाँका विभिन्न पुस्तकालयमा त्यो गाउँबारे पाइएसम्म सामग्री खोजेर पढेँ । लखनऊको एउटा बैङ्कमा दाँतु वा त्यसको आसपासका कतिपय गाउँका मानिसले नोकरी गर्दा रहेछन् । उनीहरूसित पनि भेटघाट गरेर त्यो गाउँबारे सकेसम्म सामग्री जम्मा गर्ने कोसिस गरेँ । त्यसबाट त्यो गाउँ, त्यसको नजिकको हिमनदी, पञ्चशील हिमालय त्यहाँका मानिसको पहिलेको व्यापारका लागि भोटयात्रा वा आसपासका गाउँबारे धेरै कुराको जानकारी भयो ।
कुमाउँका मानिस वा त्यहाँको जीवनबारे नजिकबाट जानकारी प्राप्त गर्न म लखनऊको कुर्माञ्चल टोलमा नै डेरा गरेर बसेको थिएँ । त्यो टोलमा धेरैजसो कुमाउँका मानिस नै बस्दछन् । त्यसैले त्यो टोलको नाम कुर्माञ्चल रहेको छ । त्यो टोलमा डेरा गरेर बस्दा कुमाउँका मानिससित मेरो नजिकको र घनिष्ट सम्बन्ध कायम हुन सक्यो । मेरो त्यो डेरामा एकपल्ट का. चित्रबहादुर केसी र का. युवराज पन्थी (उज्ज्वल), का. मित्रलाल पनि पुग्नुभएको थियो । अरू साथीहरू पनि पुग्नुभएको थियो । अहिले मलाई उहाँहरू सबैको नाम याद छैन ।
मेरा कुर्माञ्चलको डेरामा एउटा घटना घटेको थियो । का. उज्ज्वलजीले ग्याँसमा खाना पकाउँदै हुनुहुन्थ्यो । त्यही बेला त्यो ग्याँसमा आगलागी भयो र त्यो पड्क्यो । त्यो आगलागी भएको थाहा पाएर उज्ज्वलजीले हत्तपत्त त्यसमा पानी हालेर निभाउन खोज्नुभयो तर आगो लागेको ग्याँसमा पानी हाल्न हुँदोरहेनछ, त्यो झन् बल्दो रहेछ । कुर्माञ्चल टोलका छिमेकी पनि त्यहाँ जम्मा भए । उनीहरूलाई थाहा रहेछ, एउटा कम्बललाई पानीमा भिजाएर त्यो ग्यास चुलोलाई ढाकिदिए र त्यो आगो निभ्यो ।
उपन्यासमा दोस्रो महत्त्वपूर्ण चर्चा केरलको छ । अजित पार्टीबाट निष्काशित भएपछि पहिले ‘गङ्गाकावेरी एक्सप्रेस’ द्वारा मद्रास (अहिलेको चेन्नई) मा जान्छन्, त्यसपछि केरलमा । त्यही भएको बेलामा नै जलजलासँग उनका धेरै चिठ्ठीपत्र हुन्छन् । उपन्यासका दुईओटा परिच्छेद “दुखान्त प्रेम” र “अनिश्चित यात्रा” मा ती चिठ्ठीपत्रबारे विस्तृत रूपले उल्लेख गरिएको छ ।
म केरलमा लामो समयसम्म, करिब १ वर्षसम्म बसेको छु । त्यसैले त्यहाँ बस्दा मलाई केरलको विषयमा धेरै जानकारी थियो । म केरलका धेरै सहर र त्यहाँको काबलम समुद्र तट, जसलाई एसियाकै सबैभन्दा सुन्दर समुद्र तट मानिन्छ, मा धेरै घुमेको छु । त्यहाँका मानिससित पनि मेरो धेरै घुलमिल र हार्दिक सम्बन्ध कायम भएको छ । मैले आफ्नो उपन्यासमा यो कुराको पनि चर्चा गरेको छु । केरलसित मेरो त्यस प्रकारको प्रत्यक्ष र निकट सम्बन्धका कारणले मैले आफ्नो उपन्यासमा केरलबारे पनि वस्तुगत र सजिव चित्रण गर्न सकेको छु ।
दिल्लीसित मेरो धेरै नै घनिष्ट र निकट सम्बन्ध रहेको छ । म धेरैपल्ट त्यहाँ गएको छु । त्यहाँ डेरा गरेर बसेको छु । डा. बाबुराम भटराईले दिल्लीमा अध्ययन गर्दा म उहाँको होस्टेलमा पनि धेरै बस्ने गरेको थिए । उपन्यासमा दिल्लीका लीलानाथ कुशुम, राजु नेपाली, यामलाल पोख्रेल र उहाँकी पत्नी कल्पना पोख्रल आदिसित पनि मेरो घनिष्ट र निकट सम्बन्ध रहेको थियो । त्यसैले उपन्यासमा उनीहरूबारे सटिक चित्रण गर्नु मेरा लागि सम्भव भएको छ । दिल्लीमा पार्टीको काम गर्न गएको बेलामा नै कामरेड जलजलाको त्यहाँ मृत्यु भएको थियो र उनको अन्त्येष्टिको बेलामा म पनि त्यहाँ पुगेको थिएँ । यी सबै कारणले उपन्यासमा दिल्लीको चित्रण गर्नु मेरा लागि धेरै सजिलो भएको छ किनभने त्यहाँको मैले जे जति चित्रण गरेको छु, त्यो मेरो प्रत्यक्ष जानकारी र अनुभूतिमाथि नै आधारित रहेको छ ।
उपन्यासमा बनारसको पनि धेरै उल्लेख गरिएको छ । पञ्चायती कालमा कार्यालय बनाएर हामी लामो समयसम्म त्यहाँ बसेका थियौँ । त्यसैले बनारस वा त्यहाँका गल्ली र गङ्गा नदीसित पनि मेरो धेरै घनिष्ट सम्बन्ध रहेको छ । त्यहाँ धेरै नेपाली बस्दछन् र उनीहरूसित हाम्रो धेरै नै सम्बन्ध रहने गरेको थियो । त्यहाँ बस्दा एक प्रकारले नेपालमा नै बसेजस्तो लाग्दथ्यो । त्यसैले उपन्यासमा बनारसको पनि सजीव चित्रण गरिएको छ । त्यही कुरा गोरखपुरबारे पनि सत्य हो । त्यहाँ लामो समयसम्म हाम्रो पार्टीको कार्यालय रह्यो । त्यसैले उपन्यासमा त्यहाँको चित्रण गर्न पनि मलाई मुस्किल परेन ।
उपन्यासमा युरोपका फ्रान्स, जर्मनी, रुस र युनानको चित्रण गरिएको छ । पार्टीकामको सिलसिलामा मैले ती देशको धेरै पल्ट भ्रमण गरेको छु । त्यसैले मैले उपन्यासमा ती देशबारे नै चित्रण गरेको छु र युरोपका म नपुगेका देशको कुनै चित्रण गरिएको छैन किनभने अन्य देशको चित्रण गर्नु बढी मनोगत प्रकारको नै हुन्थ्यो । संसारमा मैले घुमेका देशका सहरमध्ये मलाई सबैभन्दा मन पर्ने सहर पेरिस नै हो । त्यो सहरमा घुम्दा एक प्रकारको जीवन्त वातावरण पाइन्छ । त्यहाँका क्याफे र त्यहाँ मानिसको भिड, त्यहाँका मानिसको बोलचाल र स्वभाव धेरै नै मैत्री प्रकारको पाइन्छ ।
म सर्वप्रथम सन् १९८४ मा रिमको स्थापना सम्मेलनको बेलामा फ्रान्समा गएको थिएँ । हाम्रो त्यो सम्मेलन पेरिसभन्दा धेरै टाढा एउटा दूरवर्ती गाउँमा भूमिगत रूपले एक महिनासम्म चलेको थियो । त्यसरी त्यहाँको ग्रामीण वातावरणसित पनि नजिकबाट परिचित हुन मलाई राम्रो मौका मिल्यो ।
रिमले हाम्रो पार्टीलाई निष्काशित गरेपछि म युरोपका विभिन्न कम्युनिस्ट पार्टीसित सम्पर्क गर्न युरोपका कैयौँ देशमा गएको थिएँ । त्यस सिलसिलामा म फ्रान्स, जर्मनी, बेल्जिएम, लक्जमबर्ग, नेदरल्यान्ड र रुस गएको थिएँ । निश्चय नै त्यो बेला मैले त्यहाँका कम्युनिस्ट पार्टीसितको भेटघाट, उनीहरूसितको कुराकानी वा उनीहरूका सम्पर्कबारे जे सामग्री जम्मा गरेको थिएँ, पछि ती सबै हराए तैपनि त्यो भ्रमणको बेलामा मलाई युरोपका ती देशबारे धेरै जानकारी भएको थियो । त्यस प्रकारको भ्रमणपछि हाम्रो पार्टीले जर्मनीको एमएलपिडीसित भाइचारा सम्पर्क गर्ने निर्णय गऱ्यो । त्यस सिलसिलामा हाम्रो आइसी (इन्टरनेसनल कोअर्डिनेशन अफ मार्क्सिस्ट–लेनिनिस्ट पार्टिज एन्ड अर्गनाइजेसन) सित पनि सम्पर्क भयो । पछि सन् २०१० मा हामीले आइसिओआर (इन्टरनेसनल कोअर्डिनेसन अफ रिभोल्युसनरी पार्टिज एन्ड अर्गनाइजेसन) गठन गऱ्यौँ । त्यस सम्मेलनमा त्यसको केन्द्रीय समितिमा म पनि चुनिएको थिएँ । पछि जर्मनीको एमएलपिडीका विभिन्न महाधिवेशन र विचारगोष्ठी कार्यक्रम तथा आइसिओआरका कतिपय कार्यक्रमका सिलसिलामा मलाई युरोपका कैयौँ देशमा भ्रमण गर्ने मौका पनि प्राप्त भयो । त्यो बेला मैले उपन्यास लेख्ने काम सुरु गरेको थिएँ । त्यसैले मैले युरोपका विभिन्न देशमा घुम्ने सिलसिलामा उपन्यासका धेरै सामग्री जुटाउँदै गएँ । जुन ठाउँमा पुग्दथेँ, त्यहाँका कैयौँ नोट तयार पार्दथेँ वा उपलब्ध सूचना सामग्री पनि जम्मा गरेर ल्याउँथेँ । त्यस सिलसिलामा फ्रान्स, जर्मनी, रुस र युनानसित सम्बन्धित सामग्री विशेष रूपले उल्लेखनीय छन् । त्यसैले उपन्यासमा ती देशसित सम्बन्धित सामग्री नै बढी दिइएका छन् ।
माथि नै उल्लेख गरिसकेको छु, मैले घुमेका देशका सहरमध्ये फ्रान्सको पेरिस नै मलाई सबैभन्दा मन पर्ने सहर हो । त्यो सहरको अध्ययनका लागि मलाई डा. केलमेलबाट सबैभन्दा बढी मदत पुग्यो । उनले नेपालको कम्युनिस्ट आन्दोलन र मेरो विषयमा पनि पेरिसको युनिभर्सिटीबाट पिएचडी गरेका छन् । त्यो सोधपत्रका लागि सामग्री जुटाउन उनले धेरैपल्ट नेपालको भ्रमण गरेका छन् । त्यस सिलसिलामा नेपालमा नै उनीसित मेरो घनिष्ट परिचय भएको थियो । फ्रान्समा जाँदा कैयौँपल्ट म उनको घरमा नै बस्ने गर्दथेँ । एक पल्ट ॅकामरेड जलजला’ उपन्यासबारे थबाङबाट सामग्रीको सङ्कलन गर्न म थबाङ जाँदा उनी मसित त्यहाँ पनि पुगेका थिए । पेरिसमा उनले मलाई कैयौँ ठाउँमा घुमाएका थिए ।
सर्वप्रथम हामी जोन अफ आर्कको म्युजियम हेर्न गएका थियौँ । कैयौँ ट्राम, भूमिगत ट्रेन वा बसबाट हुँदै जोन अफ आर्कको म्युजिएम हेर्न पुगेका थियौँ । त्यहाँ उनका मोमका कैयौँ मूर्ति बनाइएका थिए । उनी भर्खरकी किसोरी मात्र थिइन् । उनले फ्रान्समा अङ्ग्रेजको प्रभुत्वका विरुद्ध सेना बनाएर युद्ध गरेकी थिइन् र कैयौँ स्थानमा उनले अङ्ग्रेजी–ब्रिटिस सेनालाई पराजित गरेकी थिइन् । अन्त्यमा उनलाई गिरफ्तार गरेर आगोमा ज्युँदै जलाइएको थियो ।
हामी लुब्रको सङ्ग्रहालय हेर्न पनि गएका थियौँ । त्यो विश्वको नै एउटा महान् सङ्ग्रहालय हो । त्यहाँ संसारभरबाट ल्याएर राखिएका लाखौँ कलाकृति छन् । त्यही विश्वको सबैभन्दा प्रसिद्ध मोनालिसाको चित्र पनि छ । त्यहाँ यति धेरै चित्र छन् र ती चित्रका यति धेरै खण्ड छन् कि तिनीहरूलाई हेर्न सायद एक वर्षको अवधि पनि कम हुन्थ्यो होला ।
हामी पेरिसको इतिहासको सङ्ग्रहालय हेर्न पनि गएका थियौँ । त्यसमा फ्रान्सको इतिहासका बेग्लाबेग्लै कालखण्डका सामग्री बेग्लाबेग्लै खण्डमा राखिएका थिए । तिनीहरूमा फ्रान्सको प्राग्ऐतिहासिक वा ढुङ्गेयुगीन काल, प्राचीनकाल, मध्ययुगीन काल, आधुनिककाल आदि बेग्लाबेग्लै कालका सामग्री व्यवस्थित रूपले राखिएका थिए । तिनीहरूमध्ये राजतन्त्र विरुद्धको सङ्घर्ष तथा पेरिस कम्युनसम्बन्धी सामग्री विशेष महत्त्वपूर्ण थिए ।
हामी पेरिसको नै एउटा अर्को सङ्ग्रहालय पनि हेर्न गएका थियौँ, जहाँ फ्रान्सका मृत्युदण्ड दिइएका राजारानीका मूर्ति राखिएका थिए । त्यहाँको एउटा दुःखद पक्ष यो थियो कि फ्रान्समा गणतन्त्र आएपछि गणतन्त्र पक्षधर पार्टी वा नेताका बिचमा नै अन्तरसङ्घर्ष चल्ने गरेको थियो र आफ्नो सत्ता आएको बेलामा अन्य गणतन्त्र पक्षधर नेतालाई पनि मृत्युदण्ड दिने गर्दथे । तिनीहरूमध्ये एक जना रोबेस्पियर पनि थिए । उनको मूर्ति पनि त्यहाँ राखिएको थियो ।
पेरिसका अन्य कतिपय ठाउँको अवलोकनपछि हामी पेरिसको पेर लासेजको समाधिस्थलमा अबेलार र हेलोइजका शव राखिएका ठाउँ हेर्न गएका थियौँ । अबेलार बाह्रौँ शताब्दीका प्रसिद्ध दार्शनिक थिए भने हेलोइज एउटी प्रसिद्ध महिला विदुषी र अबेलारकी शिष्या पनि थिइन् । उनीहरू दुबै जना मध्ययुगका महान् प्रेमी मानिन्छन् । उनीहरूले गोप्य रूपले विवाह गरेका थिए र उनीहरूको एउटा सन्तान पनि जन्मेको थियो । हेलोइजका अङ्कललाई उनीहरूको प्रेम वा विवाह मन परेको थिएन । त्यसैले उनले गुण्डाद्वारा अबेलारमाथि हमला गरेका थिए र उनलाई नपुङ्सक बनाइदिएका थिए ।
इसाई धर्मको मान्यताअनुसार कुनै पादरीका लागि प्रेम वा विवाह गर्नु निषेध गरिएको थियो र त्यसैले त्यसका लागि अबेलारलाई दण्डित गरिएको थियो । त्यो ाहेक त्यो बेलाको प्रचलित इसाई धार्मिक मान्यतालाई पनि विरोध गरेका हुनाले अबेलारलाई इसाई समाजबाट निष्काशन गरिएको थियो । उनलाई उनले लेखेको आफ्नै किताब जलाउन बाध्य गरिएको थियो । अबेलारले हेलोइजलाई एउटा मठमा भिक्षुणी भएर बस्न भनेका थिए । उनले हेलोइजलाई प्रेम गर्दथे तर उनको जोड यो कुरामा थियो कि उनीहरूले सम्पूर्ण रूपले आफूलाई ईश्वरमा समपूर्ण गर्नुपर्दछ र त्यसरी दुबै जना एकअर्काबाट अलग हुनुपर्दछ । उनी अबेलारबाट अलग हुन चाहदैनथिन् तर आफ्नो पतिको आज्ञाले उनी जनमभरि भिक्षुणी भएर बसेकी थिइन् । उनीहरूका त्यो बेलाका पत्रबाट पनि उनीहरू दुबै जनाले एकअर्कालाई धेरै प्रेम गरेको तर ईश्वरमा आफूलाई सम्पूर्ण रूपले समर्पण गर्नका लागि एकअर्काबाट अलग हुनुपरेको कुराको उल्लेख गरिएको छ । इसाई समाजबाट दण्डित वा निश्कासित भएपछि उनी आश्रयहीन भएर घुम्दै हिँड्नुपरेको थियो । त्यही अवस्थामा उनको मृत्यु पनि भएको थियो । उनीहरूको मृत्युपछि दुबै जनाका शवलाई पहिले एकै ठाउँमा राखियो तर पछि धार्मिक कट्टरपन्थीले ती दुबैका शवलाई एकै ठाउँमा राख्नु उचित ठानेनन् र तिनीहरूलाई करिब ३०० वर्षसम्म बेग्लाबेग्लै राखियो । पछि केही प्रगतिशील पक्षको जोडले उनीहरूका शवलाई पुनः सँगै राखियो र अहिलेसम्म पनि ती दुबै शव सँगै राखिएका छन् । त्यसरी मृत्युपछि पनि उनीहरू धार्मिक कट्टरपन्थीका सिकार भइरहे ।
पेरिसमा उपन्यासको लागि सामग्री जुटाउन जाने क्रममा एकपल्ट दुर्गा पनि मसित सँगै गएकी थिइन् । जर्मनीका कतिपय स्थानमा पनि उनी मसित सँगै गएकी थिइन् ।
जर्मनीमा पनि मैले धेरैतिर भ्रमण गरेँ । एमएलपिडीका साथीहरूले विभिन्न ठाउँमा घुम्नका लागि धेरै नै मदत गर्नुभयो । हामी मार्क्स–एङ्गेल्सका म्युजियम हेर्न गयौँ । त्योबाहेक जर्मनमा हिटलरले बनाएका धेरै यातनागृह हेर्न पनि गयौँ । ती यातनागृहमा हजारौँ मानिसलाई राखेर यातना दिइन्थ्यो वा ग्याँस च्याम्बरमा राखेर सामूहिक रूपले मृत्युदण्ड पनि दिइन्थ्यो । हजारौँको सङ्ख्यामा बन्दीलाई भोकै मार्च गर्न लगाइन्थ्यो र त्यसको परिणामस्वरूप ठुलो सङ्ख्यामा मानिसहरू बाटैमा मर्दथे । कतिपय ठाउँमा साना साना सेल पनि बनाइएका थिए, जहाँ विभिन्न पार्टीका प्रमुख नेतालाई एक्लै राखेर यातना दिने गरिन्थ्यो । ठाउँठाउँमा यहुदीका यातनाका विवरण दिइएका कतिपय सङ्ग्रहालय पनि थिए ।
मैले आफ्नो उपन्यासमा हिटलरद्वारा यहुदीमाथि गरिएका अत्याचारको विस्तृत विवरण दिएको छु । त्यो बेला ६० लाख यहुदीलाई मृत्युदण्ड दिइएको थियो भने ठुलो सङ्ख्यामा उनीहरू विदेशमा भागेर गएका थिए । यो देखेर मलाई धेरै नै दुःख लागेर आउँछ कि तिनै यहुदीको इजरायल सरकारले प्यालिस्टाइनका महिला र साना बालबालिकामाथि पनि बर्बर अत्याचार र निर्मम हत्या गरिरहेको छ तर मलाई लाग्छ, इजरायलका सम्पूर्ण यहुदी जातिले होइन, त्यहाँको फासिष्ट सरकारले नै त्यस प्रकारको बर्बर अत्याचार गरिरहेको छ ।
जर्मन जातिको हिटलर वा फासिवादका विरुद्ध वीरतापूर्ण सङ्घर्षको इतिहास पनि थियो, जसमा कम्युनिस्टले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । जर्मनका साथी वा बुद्धिजीवीको भेटघाटबाट हामीलाई त्यसबारे धेरै जानकारी प्राप्त भयो । जर्मनीमा भ्रमणको समायोजना गर्न का. स्टेफन र का. थोमस र का. गाभीले समेत धेरै मदत गर्नुभएको थियो । त्यहाँ कैयौँ साथीले हामीलाई आफ्नो निवासमा लगेर बसाल्नुहुन्थ्यो र उहाँहरूबाट जर्मनजातिको इतिहास, हिटलरको दमन वा त्यसका विरुद्ध जर्मनमा चलेका वीरतापूर्ण सङ्घर्षबारे धेरै जानकारी भएको थियो ।
रुसमा हामीलाई मदत गर्नको लागि पार्टीको कुनै स्ङगठन थिएन तैपनि त्यहाँ नेपाली मित्रले धेरै मदत गर्नुभयो । त्यो बेला रुसमा नेपाल राजदूत रविमोहन कोपिला, जीवा लामिछाने र रामप्रसाद श्रेष्ठले पनि धेरै मदत गर्नुभएको थियो । अरू धेरै मित्रले मदत गर्नु भएको थियो तर मलाई अहिले ती सबै जनाको नाम सम्झना छैन । रामप्रसादले मलाई स्टालिनग्राड घुमाउन लैजानुभएको थियो । त्यसले गर्दा मैले स्टालिनग्राडको बढी राम्ररी र विस्तृत रूपले अध्ययन गर्न सकेँ ।
म एकपल्ट रुसमा गएको बेलामा डा. सुमन्त बन्जाडेले सुभास राज्यको सेवकसरीमा पढ्नु हुन्थ्यो । म उहाँलाई भेट्न त्यही गएको थिएँ । उहाँले पनि मेरो रुसको यात्रामा धेरै मदत गर्नुभयो । उहाँले डा. भास्करसित मलाई लेनिनग्राड पठाउनुभएको थियो । त्यसबाट मलाई लेनिनग्राडबारे जानकारी प्राप्त गर्न पनि धेरै मदत पुगेको थियो । पछि मलाई लेनिनग्राडसम्बन्धी थप सामग्रीको आवश्यकता पऱ्यो । दिनेश पाण्डे लेनिनग्राड गएको बेलामा मैले उहाँसित त्यहाँका कैयौँ सामग्री मगाएको थिएँ ।
एकपल्ट म रुसमा गएको बेलामा भाषाका कारणले मलाई धेरै अप्ठ्यारो पऱ्यो । त्यहाँ धेरै मानिसले रुसी भाषामा मात्र कुरा गर्दथे र अङ्ग्रेजी बुझ्दैनथे र त्यसले गर्दा त्यहाँ यताउता घुम्न वा टिकट काट्न पनि मलाई धेरै मुस्किल पर्दथ्यो । त्यही बेला मसित अलि अलि अङ्गेजी बुझ्ने युवकसित भेट भयो । उसले भन्दथ्यो– “इन्डिया कामरेड, रसिया कामरेड, अमेरिका नो” । उसले मलाई त्यहाँका ट्राममा घुमाउन र क्रेमलिनलाई देखाउन पनि धेरै मदत गऱ्यो । उसले बिचबिचमा मेरा झोला बोक्न पनि मदत गर्दथ्यो । हामीले सँगसँगै खाना पनि खायौँ । साँझ छुट्टिने बेलामा उसले मेरो सानो पर्स समातेको थियो । ऊ पिसाब फेर्न भनेर गएको मान्छे उतै हरायो । त्यो पाकेटमार रहेछ तैपनि दिनभरि उसले मलाई धेरै मदत गऱ्यो । मैले उसलाई केही पैसा दिने पनि विचार गरेको थिएँ । उसले लगेर गएको पर्समा पनि केही पैसा थियो तर मैले उसलाई दिने विचार गरेकोभन्दा धेरै कम पैसा त्यो पर्समा थियो । मैले अहिले पनि उसलाई ‘कामरेड पाकेटमार’ को रूपमा सम्झने गर्दछु र मैले आफ्ना कतिपय संस्मरणमा उसलाई त्यही प्रकारले उल्लेख पनि गरेको छु ।
रुसबाट दिल्ली आउने क्रममा म युनानको एथेन्समा उत्रेको थिएँ । त्यो बेला त्यहाँ एक जना मित्र शेखर बस्नुहुन्थ्यो । मैले नेपालबाट नै उहाँको ठेगाना लगेको थिएँ । उहाँको मदतले एथेन्सको भ्रमण गर्न र त्यहाँको जानकारी प्राप्त गर्न धेरै मदत पुगेको थियो ।
युरोपका विभिन्न देशको त्यस प्रकारको भ्रमणका साथै त्यहाँ व्यापक रूपमा विभिन्न बुद्धिजीवीसित भेटघाट र त्यहाँ जम्मा गरिएका किताबको अध्ययनबाट मलाई उपन्यासमा युरोपको चित्रण गर्न धेरै मदत पुग्यो । युरोपको चित्रणको सिलसिलामा मैले पेरिसकी जुलियट, जर्मनीका अलफ्रेड र स्टालिनग्राडकी भेलिन्टिनाजस्ता पात्रको पनि सिर्जना गरेको छु । उपन्यासका ती अत्यन्त महत्त्वपूर्ण पात्र हुन् । जुलियट फ्रान्सको नारी जातिकी उत्कृष्ट प्रतिनिधि, अलफ्रेड जर्मनको क्रान्तिकारी मजदुरका प्रतिनिधि र भेलिन्टिना रुसको पुँजीवादी व्यवस्थाभित्रकी एउटी जागरुक महिला प्रतिनिधि हुन् । भेलिन्टिना सेनाकी अफिसर थिइन् तर सुनन्दाको सङ्गतले उनी क्रमशः रुसको पुँजीवादी व्यवस्थाप्रति असन्तुष्ट बन्दै गएकी थिइन् । ती तिनै जना काल्पनिक पात्र हुन् तर उनीहरूलाई मैले मूर्त र जीवित पात्रका रूपमा नै सजीव ढङ्गले प्रस्तुत गर्ने प्रयत्न गरेको छु ।
मैले उपन्यासमा नेपालका काठमाडौँ उपत्यका, नवलपुर, बुटवल, लुम्बिनी, कपिलवस्तु, प्युठान, रोल्पा, कर्णाली प्रदेश र सुदुरपश्चिमका जिल्लाको चर्चा गरेको छु । ती सबै ठाउँ म बसेका वा मैले भ्रमण गर्दै आएका ठाउँ हुन् । त्योबाहेक विभिन्न ठाउँका सामग्री जुटाउन मलाई धेरै मित्रले मदत गर्नुभएको छ । नेपालका धेरै पुस्तकालयबाट पनि मैले सामग्री जम्मा गरेको छु वा पुस्तक पसलबाट धेरै सामग्री किनेर पढेको पनि छु ।
उपन्यासमा नवरपुरको डण्डामा ढुङ्गेयुगीन औजार प्राप्त भएको चर्चा गरिएको छ । त्यो जानकारी मलाई पुस्तक वा पत्रपत्रिकाको अध्ययनबाट नै प्राप्त भएको हो । उपन्यासमा पाल्पाको तिनाउ नदीको तिरमा रामापिथेकसका करिब १ करोड वर्षपहिलेका बङ्गाराको अवशेष पाइएको बताइएको छ । मैले धेरै पहिलेदेखि त्यसबारे पढेको थिएँ तर त्यो ठाउँ देख्न पाएको थिइन । नारायण जिसीले बाइकमा मलाई त्यो ठाउँमा पुऱ्याइदिनु भएको थियो ।
लुम्बिनी र बौद्ध सभ्यताबारे मलाई धेरै जानकारी डा. गीतु गिरीका पुस्तकबाट प्राप्त भएको हो । उहाँसँग प्रत्यक्ष भेटेर पनि मैले लुम्बिनी र कपिलवस्तुको बौद्ध सभ्यता र इतिहासबारे धेरै जानकारी प्राप्त गरेको थिएँ । का. बद्रे आलमले लामो समयदेखि लुम्बिनीमा काम गर्दै आउनुभएको छ । उहाँले मलाई त्यहाँको बौद्ध सभ्यता तथा कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा छरिएका प्राचीन बौद्ध अवशेषबारे धेरै जानकारी दिनुभएको छ । त्यही आधारमा मैले पुरातात्त्विक बौद्ध सहरको परिकल्पना गरेर उपन्यासमा त्यसलाई सामेल गरेको छु । अब मैले त्यो परिकल्पनालाई वास्तविक रूप पनि दिने प्रयत्न गरेको छु । त्यसको लागि दुर्गाको संयोजकत्वमा ॅबौद्ध पुरातात्विक सहर निर्माण अभियान’ को एउटा संस्था बनेको छ । त्यसमा प्राडा श्रीधर गौतम, मनोज भट्ट, बद्रे आलम, घनश्याम न्यौपाने, शिव पौडेल, कृष्ण अधिकारी र राजेन्द्र ढुङ्गाना हुनुहुन्छ । त्यो समितिले लुम्बिनी प्रदेशसित पनि त्यो योजनाको कार्यान्वयनको लागि माग गरेको छ । त्यस सन्दर्भमा तिनाउ नदीको तिरमा रामापिथेकसको बङ्गाराको अवशेष पाइएको ठाउँमा बृहत् पर्यटकीय स्थलको निर्माणको पनि माग गरेको छ ।
कपिलवस्तुको निग्लिहवा, सगरहवा आदि बौद्ध इतिहासबारे शिव पौडेलले मलाई धेरै जानकारी दिनुभएको थियो । उहाँले मलाई ती स्थानको अवलोकन गर्न पनि लैजानुभएको थियो । उपन्यासको लागि सामग्री जुटाउने क्रममा मैले लुम्बिनी, तिलौराकोट, निग्लिहवा र सगरहवासमेतका धेरै स्थानमा भ्रमण वा अवलोकन गरेको छु ।
अहिले कर्णाली प्रदेश भनेर सुर्खेत राजधानी भएको एउटा प्रदेशलाई नै मानिन्छ तर पुस्तकमा कर्णाली प्रदेश भनेर अहिलेको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश दुबैलाई लिइएको छ । पुस्तकमा कर्णाली प्रदेशबारे जानकारी प्राप्त गर्नको लागि मलाई मजोज भट्ट र प्रेम कैदीले पनि धेरै जानकारी दिनुभएको थियो । मैले कर्णाली प्रदेशका धेरै स्थानमा पनि भ्रमण वा अवलोकन गरेको छु ।
पुस्तकमा थारू, मगर र खस जातिको इतिहास पनि दिइएको छ । त्यससम्बन्धी सामग्री जुटाउन कैयौँ मित्रले सहयोग गर्नुभएको छ । मगर जातिको इतिहाससम्बन्धी सामग्री जुटाउन मलाई भोजविक्रम बुढाले धेरै मदत गर्नुभयो । थारू जातिको इतिहास वा उनीहरूबारे जानकारी प्राप्त गर्न मलाई रश्मिराज नेपाली, दधिराम आचार्य, शिव पौडेल र सुरेश थापाले धेरै मदत गर्नुभयो । त्यस सम्बन्धमा टेकनाथ गौतमले लेखेको एउटा पुस्तिकाबाट पनि मलाई धेरै मदत पुग्यो । थारू, मगर वा खस जातिको इतिहासबारे सामग्री जुटाउन मैले धेरै ठाउँको यात्रा गर्नुपऱ्यो वा धेरै तिरबाट सामग्री जुटाएर अध्ययन गर्नुपऱ्यो । त्यस सन्दर्भमा एउटा घटनाको उल्लेख गर्नु सायद अप्रासङ्गिक हुने छैन ।
म एकपल्ट नैनीताल गएको बेलामा त्यहाँ इतिहाससम्बन्धी एउटा विचारगोष्ठी हुँदै थियो । त्यसमा यमुनादत्त वैष्णवले खस जातिको इतिहासबारे एउटा लामो वक्तव्य दिएका थिए । त्यो बेला उनीसित मैले खस जातिको इतिहाससँग सम्बन्धित उनले लेखेको एउटा किताब पनि किनेर ल्याएको थिएँ । पछि उपन्यासमा खस जातिको इतिहाससम्बन्धी परिच्छेद लेख्दा मलाई त्यो पुस्तकको आवश्यकता पऱ्यो तर मैले आफ्ना पुस्तकमा धेरै खोज्दा पनि त्यो पुस्तक पाइनँ । मलाई पार्टीको एउटा कार्यक्रममा दिल्ली जाने काम थियो । दिल्ली जानुभन्दा पहिले म लखनऊबाट यमुनादत्तलाई भेटन नैनिताल गए । त्यहाँ जाँदाखेरी मलाई उनको मृत्यु भइसकेको कुरा थाहा भयो । दिल्लीबाट ट्याक्सीमा नैनिताल आउन थालेको बेलामा काठगोदाममा गुण्डाले उनको हत्या गरेर उनको सुटकेस चोरेर लगेका थिए । वैष्णवको मृत्यु भएको कुरा थाहा भएपछि मैले नैनितालका पुस्तक पसलमा त्यो पुस्तक धेरै खोजेँ तर कतै पाइएन तैपनि उनका कुनै नातेदार दिल्लीमा बस्दछन् र उनीबाट त्यो किताब प्राप्त हुन सक्दछ भन्ने कुरा नैनीतालका उनको परिवारका एक जना मान्छेले मलाई बताए । त्यसपछि म नैनीतालबाट दिल्ली उनको नातेदारको घरमा पुगेँ । त्यहाँबाट मलाई त्यो किताब प्राप्त भयो तर त्यो किताब लिएर म काठमाडौँ आएँ । मेरा पुस्तकमा पहिले मैले किनेको त्यो किताब पनि फेला पऱ्यो ।
भूमिगत कालमा म बरौनी रेल स्टेसनभन्दा केही पश्चिमतिरको अर्को स्टेसनमा उत्रेर बोर्डर काटेर नेपालतिर पस्थेँ र जगदीशपुर गाउँमा हरिराम श्रीवास्तवको घरमा बस्ने गर्दथेँ । त्यहाँबाट भगवानपुर–शिवपुर हुँदै छन्दबहादुरको घरमा गएर बस्ने गर्दथेँ । त्यहाँबाट खोलैखोला माथि गएर प्युठान जाने मूल बाटो छाडेर प्य्ठान दोबाटोबाट खोला र जङ्गलको बाटो माथितिर लाग्ने गर्दथेँ र असुरकोट निस्कन्थेँ । उपन्यासमा त्यो बाटोको उल्लेख गर्नुपर्ने आवश्यकता थियो । मलाई त्यो बाटोको पूरै विवरण याद भएन । त्यो बाटोको ठिक विवरण पत्ता लगाउन म शिवपुरमा गएर जितबहादुर समेतसित सँगै बाइकमा चढेर त्यो बाटोतिर लाग्यौँ । हामी जाने बेलामा त्यहाँ मोटरबाटो खन्न थालेका रहेछन् । केही अगाडिसम्म त हामी मोटरबाटो भएर नै गयौँ तर अगाडि बाइक जान सकेन तैपनि त्यहाँका स्थानीय मानिसलाई सोधेर त्यो बाटोको मोटामोटी विवरण पत्ता लाग्यो र त्यसको आधारमा उपन्यासमा त्यसको उल्लेख गर्नु सम्भव भयो तर माथिबाट असुरकोटसम्म पुग्ने बाटाको पूरै विवरण थाहा हुन सकेन ।
त्यसपछि अर्घाखाँची गएको बेलामा त्यहाँ साथीको मदत लिएर मैले त्यो बाटोको विवरण पत्ता लगाउने विचार गरेँ । भूमिकास्थानको मेयर झबिलाल थापाले आफ्नो गाडी दिनुभयो र हिमलाल वाग्लेसहित हामी राति गएर गजेडाको दलबहादुर कुँवरको घरमा बसेका थियौँ । अर्को दिन बिहान हामी पत्थरकोट निस्केर कपिलवस्तु पुगेका थियौँ । गजेडा पुग्दा हामीलाई के थाहा भएको थियो भने हामी त्यहाँ पुग्नुभन्दा केही दिन पहिले तराईबाट आएर त्यो गाउँमा काम गर्न बसेको एक जना मान्छेले उहाँकी आमालाई खोल्सामा लगेर हत्या गरेर उहाँले लगाएका सुनका सबै गहना लुटेर गएको थियो तर पछि त्यो मान्छे गिरफ्तार भएको थियो र अब जेलमा थियो । त्यो यात्राका कारणले हामीलाई त्यो बाटोको पूरै विवरण थाहा हुन सक्यो ।
मैले उपन्यासमा पूरै ठाउँको विवरण दिँदा त्यहाँको भौगोलिक विवरणलाई सकेसम्म सही प्रकारले दिने कोसिस गर्दछु । त्यसैले नै मैले सबै ठाउँको विवरण सकेसम्म यथार्थ रुपले पत्ता लगाउने प्रयत्न गर्दछु ।
उपन्यासको प्रारम्भ कौसानीबाट सुरु हुन्छ र उपसंहारबाहेक थबाङमा त्यसको अन्त्य हुन्छ । जलजलाले थबाङ गएर नै त्यहाँ १० महिनाजति भूमिगत रूपले बसेर पार्टीको काम गरेकी थिइन् । त्यसकारण उनले त्यहाँ कसरी बसेकी थिइन् ? त्यहाँ उनको जीवन र गतिविधि कस्तो थियो ? मलाई त्यो जम्मा गर्नुपर्ने आवश्यकता थियो । मलाई थबाङका कैयौँ मानिस शिवपुरको भगवानपुरमा आएर बसेको कुरा थाहा भयो । त्यसपछि शिवपुरका जितबहादुरसहित केही साथीहरूलाई लगेर म शिवपुर गएँ । त्यहाँ शान्ति नाम गरेकी एक जना बहिनी बस्दथिन् । थबाङमा उनको घरमा पनि जलजला बसेकी थिइन् । उनीबाट मलाई थबाङमा जलजलाको बसाइबारे धेरै कुरा थाहा भयो । मैले त्यसबारे केही पेज लेखेर टाइप गर्नका लागि दिएँ, तर त्यो पछि कतै हराएछ । पछि मैले खोज्दा त्यो कापी पनि फेला परेन । त्यसपछि म ५/६ जना साथीको साथमा थबाङ गएँ । त्यस बेला खाली खुङ्ग्रीसम्म मात्र बस जान्थ्यो । हामी हिड्दै थबाङ गयौँ । त्यो बेला जलजला धुरीमा कृष्णाष्टमीको मेला लाग्दथ्यो । पहिले हामी त्यहाँ गयौँ । त्यहाँबाट थबाङ जाँदा बाटामा बर्मन बुढाकी बहिनी तुलकुमारीसित भेट भयो । उहाँले हामीलाई कामरेड जलजलाबारे कैयौँ कुरा बताउनुभयो । त्यहाँबाट हामी थबाङ गएर एक दिन बस्यौँ र जलजलाबारे धेरै कुरा पत्ता लगायौँ । त्यो बेला मसित जाने अन्य साथीमा फ्रान्सबाट आएका केलमेल, शशिधर भण्डारी, सुवर्ण पौडेल, मेघनाथ विष्ट आदि हुनुहुन्थ्यो । त्यो बेला लेखेर ल्याएको कापी पछि कतै हरायो । त्यसकारण केही वर्षपछि म पुनः थबाङ गएँ । यसपल्ट थबाङ नै गाडी जान्थ्यो । कृष्ण खड्काले मलाई गाडी पठाइदिनु भएको थियो । तिलक जिस र मेघनाथ विष्ट पनि सँगै हुनुहुन्थ्यो । त्यो राति हामी थबाङको नजिकैको झिम्पुगाउँमा धनप्रसाद बुढाको घरमा गएर बस्यौँ । म त्यहाँ गएँ र कामरेड जलजलासम्बन्धी अरू सामग्री जम्मा गरेर ल्याएँ ।
मेरो उपन्यासमा एउटा प्रसङ्ग थबाङ गाउँमा पुलिसले घेरा हाल्ने कुरा थाहा भए पनि अजित, खगुलाल गुरुङ, बर्मन बुढा र सुनन्दासहित त्यहाँबाट भागेर जानुपर्ने हुन्छ । त्यसका लागि थबाङबाट माथि पहाडै पहाड निक्लने बाटोको आवश्यकता पऱ्यो । मैले पहिले जम्मा गरेको थबाङको सामग्रीमा त्यो विवरण थिएन । त्यो बाटोको विवरण पत्ता लगाउन मैले बासुदेव पोखरेललाई फोन गरेँ । उहाँले शत्रुघन श्रेष्ठको नाम दिनुभयो । उहाँले पुनः धनप्रसाद बुढाको फोन नम्बर दिनुभयो र मैले त्यो बाटोको पूरा विवरण प्राप्त गरेँ र त्यसअनुसार उपन्यासमा उल्लेख गरेँ ।
उपन्यासको उपसंहारमा का. अजित र सुनन्दाको, जसको पार्टी नाम का. भामा रहेको हुन्छ, को विवाह हुन्छ । त्यो विवाह बनारसको गङ्गा नदीमा एउटा डुङ्गामा सम्पन्न हुन्छ । डुङ्गामा विवाहको त्यो कार्यक्रम पनि एउटा वास्तविक घटनामा आधारित थियो । धेरै पहिले निनु चापागाईंको विवाह गङ्गा नदीमा डुङ्गामा नै भएको थियो । त्यही आधारमा उपन्यासमा का. अजित र का. भामाको विवाह पनि त्यसरी नै डुङ्गामा हुन्छ ।
अन्तमा उपन्यासको रचनाको सिलसिलामा मैले धेरै अध्ययन त गर्नुपरेको छ तर त्यसका साथै धेरै सम्पर्क, दौडधुप र यात्रा पनि गर्नुपरेको छ । ती सबै काममा धेरै साथीबाट धेरै धेरै मदत पुगेको छ । त्यसरी प्रस्तुत उपन्यास एउटा व्यक्तिगत रचना मात्र नभएर एउटा सामूहिक प्रयत्नको परिणाम पनि हो ।