नयाँदिल्ली । उँटको आँसु ज्यान जोगाउने औषधीको स्रोत बन्न सक्ने देखिएको छ ।
भारतको उँट अनुसन्धान केन्द्र बिकानेर र दुबईको सेन्ट्रल भेटेरिनरी रिसर्च ल्याबका वैज्ञानिकले संयुक्त रूपमा गरिएको अनुसन्धानबाट थाहा भएको छ कि उँटको एक थोपा आँसुमा २६ प्रकारका सर्पको विषको उपचार गर्ने क्षमता हुन्छ ।
यदि यो खोज सफलतापूर्वक औषधीमा रूपान्तरण गर्न सकियो भने यो सर्पदंश उपचारको क्षेत्रमा ऐतिहासिक मोड सावित हुन सक्छ, विशेष गरी भारत, नेपाल र अन्य दक्षिण एसियाली मुलुकमा जहाँ सर्पदंशबाट हुने मृत्यु र अपाङ्गताको सङ्ख्या निकै उच्च छ ।
अनुसन्धानकर्ताले उँटलाई इचिस क्यारिनेटस सोचुरेकी जस्ता विषालु सर्पको सानो मात्रामा विष दिँदै प्रतिरक्षा प्रतिक्रिया विकास गराए ।
त्यसपछि उँटको रगत र आँसु दुवैबाट लिइएका नमुनामा गरिएको परीक्षणले देखायो कि त्यसमा रहेको एन्टिबडीले २६ प्रकारका सर्पको विष, जसमा न्युरोटक्सिन (स्नायुप्रणालीलाई असर पार्ने) र हिमोटक्सिन (रक्तप्रणालीमा असर पार्ने) विषहरूको उपचार गर्न सक्छन्।
उँटको एन्टिबडी किन विशेष ?
न्यानोबडी
उँटको एन्टिबडी सामान्य एन्टिबडीभन्दा साना हुन्छन्, जसले शरीरभित्र गहिरो तन्तुसम्म पुगेर प्रभावकारी रूपमा काम गर्न सक्छन् ।
एलर्जीको खतरा कम
घोडाबाट बनाइने परम्परागत एन्टिभेनममा देखिने एलर्जिक प्रतिक्रिया उँटको एन्टिबडीमा कम देखिन्छ ।
तातो तापक्रममा पनि स्थिर : उँटको आँसु र प्रोटिन डिहाइड्रेट नभई लामो समयसम्म सुरक्षित रहने भएकाले विद्युत् वा फ्रिज अभाव भएका ग्रामीण क्षेत्रमा प्रयोग गर्न सहज हुन्छ ।
परम्परागत एन्टिभेनम
महँगो हुन्छ । सीमित मात्रामा उपलब्ध हुन्छ । कुनै कुनै क्षेत्रमा मात्र प्रभावकारी हुन्छ तर उँटको आँसुबाट तयार हुने एन्टिभेनमले यी सबै चुनौतीलाई समाधान गर्ने सस्तो, सुरक्षित र फराकिलो विकल्प प्रदान गर्न सक्छ ।
उँटपालकका लागि पनि आशा
बिकानेर, जैसलमेर र जोधपुरजस्ता क्षेत्रका उँटपालक अनुसन्धान टोलीसँग साझेदार बनेका छन् ।
उनीहरूले रगत र आँसु प्रदान गरेबापत प्रति उँट पाँच हजारदेखि १० हजारसम्म मासिक आम्दानी गर्न थालेका छन् ।
‘
यसले न केवल उँटपालक समुदायको आम्दानी बढाउनेछ बरु घट्दो उँट जनसङ्ख्या संरक्षणमा पनि सहयोग पुग्नेछ’ एक वैज्ञानिकले बताए ।
भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाजस्ता प्रमुख औषधी कम्पनीले यो खोजमा चासो देखाइरहेका छन् यद्यपि खोज उत्साहजनक छ । वैज्ञानिकका अनुसार यो अझै प्रारम्भिक चरणमा छ । (एजेन्सी)