अत्तरिया । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय जनमोर्चा कैलालीको आयोजनामा सोमबार बिहान अत्तरिया चोकमा विरोध प्रदर्शन गरिएको हो ।
त्यसक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पास गर्न नहुने बताउनुभयो । एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहाँले चेतावनी दिनुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, जातीय समता समाजका महासचिव गोबिन्द बिक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष हिरा सिंह चन्द, युवक नेता प्रशान्त थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।
आज राजमोले काठमाडौं लगायत देशैभरी एमसीसी विरुद्ध प्रदर्शन गर्ने जनाएको छ । कतिपय स्थानमा अन्य पक्षसँग मिलेर पनि राजमोले प्रदर्शन तथा सभाको आयोजना गर्ने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।