वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एकदलीय प्रणाली’ भनेर वर्णन गरेको कुरालाई चुनौती दिन अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गरेको बताउनुभएको छ ।
संसारका सबैभन्दा धनी व्यक्ति तथा सन् २०२४ को चुनावमा ट्रम्पका सबैभन्दा ठुला राजनीतिक दाता मस्कसँग तथाकथित सरकारी दक्षता विभाग (डिओजिई) को प्रमुखका रूपमा खर्च कटौती र सङ्घीय जागिर घटाउने ट्रम्पको प्रयासको नेतृत्व गरेपछि राष्ट्रपतिसँग तितो मतभेद भएको थियो ।
मस्कले राष्ट्रपतिको विशाल घरेलु खर्च योजनालाई लिएर ट्रम्पसँग विवाद गर्नुभएको छ । यसले अमेरिकी ऋण विस्फोट गराउनेछ भन्दै उहाँले यसका लागि मतदान गर्ने सांसदलाई पराजित गर्न आफ्नो शक्तिमा सबै गर्ने वाचा गर्नुभएको थियो ।
अब उहाँले कथित ‘अमेरिका पार्टी’ आफ्नै राजनीतिक ढाँचा सिर्जना गर्नुभएको छ र यसमार्फत त्यो हासिल गर्ने प्रयास गर्नुहुनेछ ।
‘हाम्रो देशलाई बर्बादी र भ्रष्टाचारले दिवालिया बनाउने कुरामा हामी एकदलीय प्रणालीमा बाँचिरहेका छौँ, लोकतन्त्रमा होइन’ स्पेस एक्स र टेस्लाका मालिकले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्नुभयो–’आज अमेरिका पार्टी तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिन गठन गरिएको छ ।’
मस्कले शुक्रबार, अमेरिकी स्वतन्त्रता दिवसमा अपलोड गरिएको एउटा सर्वेक्षणलाई उद्धृत गर्नुभयो । उक्त सर्वेक्षणमा उहाँले उत्तरदातालाई ‘लगभग दुई शताब्दीदेखि अमेरिकी राजनीतिमा प्रभुत्व जमाएको दुईपार्टी (कोहीले एकपार्टी भन्छन्) प्रणालीबाट स्वतन्त्रता चाहन्छन् कि’ भनेर सोध्नुभएको थियो ।
यस सर्वेक्षणले १२ लाखभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको थियो ।
‘दुईदेखि एकको अनुपातले तपाईंहरू नयाँ राजनीतिक दल चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ’ उहाँले शनिबार पोस्ट गर्नुभयो ।
मस्कले दुई टाउको भएको सर्पको चित्र र एकदलीय प्रणालीको अन्त्य गर भन्ने क्याप्सन भएको मिम पनि साझा गर्नुभयो । (रासस/एएफपी)