• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

विश्व कम्युनिस्ट आन्दोलनको पतनोन्मुख दिशा !

"सन्दर्भ 'कामरेड जलजला’ उपन्यास–१७ "

  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    मार्क्सवादी दर्शनले खालि मात्रात्मक प्रकारले मात्र होइन, गुणात्मक प्रकारले पनि विश्व सर्वहारा आन्दोलनलाई धेरै माथिल्लो शिखरमा पुऱ्याइदियो । पहिले मजदुरले स्वतःस्फूर्त रूपले नै आफ्नो वर्गसङ्घर्षलाई सञ्चालन गर्दै आएका थिए तर मार्क्सवादी दर्शनले उनीहरूलाई एउटा पथप्रदर्शक सिद्धान्त पनि दियो । त्यसका साथै मार्क्सवादी–लेनिनवादी सिद्धान्तका आधारमा विश्वव्यापी रूपमा कम्युनिस्टको एउटा विशाल सेना पनि तयार भयो, जो विश्व सर्वहारा वर्गको एउटा सचेत र अग्रगामी दस्ता थियो । त्यसले वर्गसङ्घर्षलाई धेरै नै उच्च शिखरमा पुऱ्यायो र कैयौँ देशमा समाजवादी राज्य पनि कायम हुँदै गए । संसारमा एउटा विश्व समाजवादी व्यवस्थाको पनि निर्माण भयो ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– रुसमा समाजवादी व्यवस्था कायम भएपछि १४ ओटा साम्राज्यवादी देशले एकैपल्ट त्यहाँ आक्रमण गरेका थिए । त्यहाँ समाजवादी क्रान्तिको स्थापनापछि त्यसलाई उल्टाउन भीषण गृहयुद्ध पनि चलेको थियो । हिटलरले समाजवादी रुसमाथि भीषण आक्रमण गरेको थियो तर तीनैपल्ट त्यहाँ समाजवाद विजयी भएको थियो तर जलजलाको ध्यान यो कुराप्रति गएको थियो कि अन्तमा सोभियत सङ्घमा मात्र समाजवादको पतन भएको थिएन, विश्व समाजवादी व्यवस्थाको पनि पतन भएर पुँजीवादको पुनर्स्थापना भएको थियो । त्यो कुरातिर ध्यान जानेबित्तिकै कामरेड जलजला धेरै दुखित भइन् । उनका मनमा यो प्रश्न उठ्यो– आखिर त्यस्तो किन भयो ?
    त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको छ : “अन्तमा समाजवादको पराजय बाह्य आक्रमणका कारणले होइन, आन्तरिक कारणले नै भएको थियो ।”

    “चीनमा पनि बाह्य आक्रमणका कारणले होइन, आन्तरिक कारणले नै समाजवादी व्यवस्थाको पतन भएको थियो ।”

    “त्यो आन्तरिक कारण के थियो ? कामरेड जलजलाको मनमा बारम्बार त्यो प्रश्न घुमिरह्यो । त्यो आन्तरिक कारण त्यहाँ भएको समाजवादी व्यवस्था वा कम्युनिस्ट पार्टीमा नै अन्तरनिहित त थिएन ?”

    स्टालिनले रुसमा शोषक वर्गको अन्त्य भइसकेको र उत्पादनका साधनमाथि सामाजिक स्वामित्व कायम भइसकेकाले अब त्यहाँ वर्गसङ्घर्षको आवश्यकता नरहेको निष्कर्ष निकालेका थिए । त्यसरी त्यहाँ वर्गसङ्घर्ष शिथिल बनेर गयो र त्यसको परिणामस्वरूप त्यसले सर्वहारा वर्गको अधिनायकत्वलाई पनि केही कमजोर बनायो । त्यसको परिणामस्वरूप वितरणको क्षेत्रबाट पुँजीपति वर्गलाई अघि आउन मौका प्राप्त भयो ।

    सर्वहारा वर्गको अधिनायकत्व कमजोर भएको हुनाले उनीहरूमाथि नियन्त्रण शिथिल बन्दै गयो र उनीहरूले पछि क्रमशः पार्टी र राज्यसत्ता पनि कब्जा गर्दै गए । त्यो कार्यले पनि रुसमा पुँजीवादले विकास गर्ने मौका पायो । स्टालिनको वर्गसङ्घर्षसम्बन्धी त्यस प्रकारको कमजोरीको माओले पनि आलोचना गरेका थिए ।

    सोभियत सङ्घमा नयाँ सत्तामा आएका सोभियत संशोधनवादीमा स्टालिनप्रति यति धेरै घृणा थियो कि सन् १९५३ मा सम्पन्न रुसको बिसौँ पार्टी काङ्ग्रेसमा ख्रुस्चेभले कडा शब्दमा स्टालिनको भर्त्सना गरेका थिए । उनीहरूले प्रकट रूपमा स्टालिनको व्यक्तिपूजाको विरोध गरेको बताएका थिए तर उनीहरूको वास्तविक हमला समाजवाद र कम्युनिस्ट पार्टीमाथि नै थियो । त्यसैले उनीहरूले छिट्टै रुसमा समाजवादलाई समाप्त गरेर पुँजीवादको पुनर्स्थापना गरे र कम्युनिस्ट पार्टीको समेत विघटन गरे ।

    रुसमा पुँजीवादको पुनर्स्थापनाको अर्को एउटा मुख्य कारण के थियो भने, जस्तो कि उपन्यासमा लेखिएको छ– “स्वयम् कम्युनिस्ट पार्टी र समाजवादी व्यवस्थाभित्र मानिसमा सामाजिक हितका अगाडि व्यक्तिगत स्वार्थ वा व्यक्तिगत सम्पत्तिलाई माथि राख्ने प्रवृत्तिले प्रभाव जमाउँदै गएपछि पनि समाजवादको जगलाई आन्तरिक रूपले पनि धेरै नै कमजोर पारेको थियो ।”

    रुसको त्यस प्रकारको अनुभव अर्थात् समाजवादको अन्त्य भएर पुँजीवाद पुनर्स्थापनाको अनुभवप्रति माओत्सेतुङको गम्भीर ध्यान गयो । रुसमा झैँ चीनमा पनि पुँजीवादको पुनर्स्थापना नहोस् भन्नका लागि माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सञ्चालन गऱ्यो । रुसमा स्टालिनको मृत्युपछि पार्टीको नेतृत्व पङ्क्तिले नै दक्षिणपन्थी संशोधनवाद र पुँजीवादको बाटो समातेको थियो । त्यस प्रकारको पृष्ठभूमिमा माओको ध्यान यो कुराप्रति गयो– चीनको पार्टीको “नेतृत्वपङ्क्तिले नै पुँजीवादको बाटो समात्ने त होइन ? कम्युनिस्टमा भएको व्यक्तिवादी, निम्नपुँजीवादी वा गैरसर्वहारा दृष्टिकोणबाट सम्भावित प्रतिक्रान्तिकारी खतराप्रति उनको (माओको) गम्भीर रूपले ध्यान आकर्षित भयो । त्यस अवस्थामा पार्टीको नेतृत्वपङ्क्ति, आम कार्यकर्ता र समाजमा नै क्रान्तिकारी सांस्कृतिक रूपान्तरण आवश्यक थियो । त्यस अवस्थामा पार्टी र पूरै समाजमा सर्वहारा सांस्कृतिक रूपान्तरणको आवश्यकता थियो । निम्नपुँजीवादी सोचाइलाई बदलेर उनीहरूको सोचाइमा सर्वहाराकरण गर्नुपर्ने आवश्यकता थियो ।

    “त्यो कार्य सामान्य प्रकारले हुन सक्दैनथ्यो । त्यस कार्यलाई ठुलो पैमानामा सम्पन्न गर्नका लागि सङ्गठित ठुलो र योजनाबद्ध प्रकारले सांस्कृतिक रूपान्तरण गर्नुपर्ने आवश्यकता थियो ।”

    “त्यही उद्देश्य पूरा गर्न माओले महान् सांस्कृतिक क्रान्तिको उद्घोष गरे ।”

    तर अपशोच झ् त्यो महान् सर्वहारा सांस्कृतिक क्रान्ति सफल हुन सकेन । उनको मृत्युपछि दक्षिणपन्थीले सत्तामाथि कब्जा जमाए र चीनलाई पनि पुँजीवादी बाटोमा लगे ।

    कामरेड जलजलाले यो सोचिन्– रुसमा वर्गसङ्घर्षको विश्लेषणसम्बन्धी स्टालिनको एउटा गल्तीका कारणले पुँजीपति वर्गलाई पार्टीको नेतृत्व र सत्ता कब्जा गर्ने अवसर प्राप्त भएको थियो र त्यहाँ पुँजीवादको पुनर्स्थापना भएको थियो अनि चीनमा सांस्कृतिक क्रान्तिको असफलता र पुँजीवादको पुनर्स्थापनाको कारण के थियो ? त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “चीनमा माओको तर्फबाट भएको एउटा कमजोरीले पनि त्यहाँ प्रतिक्रान्तिलाई मदत पुऱ्याएको थियो ।”

    “महान् सर्वहारा सांस्कृतिक क्रान्तिका दौरानमा उनले दक्षिणपन्थीका विरुद्ध सङ्घर्ष केन्द्रित गरे । त्यो सही थियो तर ॅमध्यपन्थी’ का विरुद्ध उनले सङ्घर्ष चलाएनन् । का. च्याङचिङले त्यो सङ्घर्षमा जोड दिन चाहन्थे तर त्यो कुरामा माओको समर्थन रहेन । यसले प्रतिक्रान्तिको आगमनका लागि झ्याल खुला राखिदिएको थियो । त्यही झ्यालबाट चीनमा पुँजीवादले प्रवेश गऱ्यो ।”

    यो सोचेर जलजलालाई दुःख लागेर आयो कि रुसमा लेनिन र स्टालिन र चीनमा माओको नेतृत्व तथा लाखौँ कम्युनिस्ट र करोडौँ मिहिनतकस जनताको सङ्घर्ष तथा त्याग र बलिदानबाट सम्पन्न समाजवादी व्यवस्था धरासायी भएर गएका थिए । ती दुई देशमा मात्र होइन, संसारका अन्य समाजवादी देशमा पनि त्यस्तै भएको थियो । त्यहाँ बाह्य आक्रमणको कारणले होइन, स्वयम् कम्युनिस्टभित्रको गैरक्रान्तिकारी चरित्रका कारणले त्यस्तो हुन गएको थियो । कतिपय अवस्थामा स्वयम् कम्युनिस्ट पार्टीभित्र नै अवसरवादी वा गैरक्रान्तिकारी तत्त्व पैदा हुन्छन् । जब उनीहरू पार्टी वा सत्ताको नेतृत्वमा पुग्दछन्, उनीहरूका व्यक्तिवादी, स्वार्थपरायण वा जनविरोधी र नोकरशाही प्रकारका क्रियाकलापको परिणामस्वरूप सर्वहारा वर्गको अधिनायकत्व प्रतिगामी प्रकारको अधिनायकत्वमा बदलिन्छ । त्यसले गर्दा जनतामा समाजवादी व्यवस्थाप्रति नै असन्तोष पैदा हुन थाल्दछ । त्यसबाट समाजवादी व्यवस्थामाथि प्रहार गर्नका लागि पुँजीपति वर्गलाई बल प्राप्त हुन्छ । त्यसरी कम्युनिस्ट पार्टी वा समाजवादी व्यवस्थाभित्रको गैरक्रान्तिकारी चरित्र समाजवादी व्यवस्थाको पतनको कारण बन्न जान्छ ।

    रुस र चीन सहित समाजवादी देशमा समाजवादी व्यवस्थाको पतनबारे सोच्दासोच्दै उनको ध्यान क्रान्ति सफल नभएका देशका कम्युनिस्ट पार्टीप्रति पनि गयो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “संसदीय चुनावमा गएपछि पनि कैयौँ कम्युनिस्ट पार्टीले दक्षिणपन्थी बाटो समात्छन् । सरकारमा सामेल भएको कारणले कैयौँ कम्युनिस्ट बिग्रन्छन् तर सरकारमा सामेल भएका कारणले नै सबै कम्युनिस्ट पार्टी बिग्रन्छन् भन्ने होइन । त्यसको निर्णयात्मक प्रश्न यो हो– कुनै पार्टी आफ्नो सङ्गठनभित्र देखा परेको गैरकम्युनिस्ट दृष्टिकोणमाथि कहाँसम्म सुधार वा नियन्त्रण गर्न सफल हुन्छ वा त्यसबारे उदार तथा सम्झौतापरस्त दृष्टिकोण अपनाउँदै जान्छ । त्यसरी आफूभित्रको गैरकम्युनिस्ट दृष्टिकोण वा चरित्रमा नियन्त्रण गर्न नसकेमा सशस्त्र सङ्घर्षको बाटो समातेका कम्युनिस्ट पार्टीमा पनि पतन हुने गरेका थुप्रै उदाहरण छन् ।”

    “स्वयम् सशस्त्र सङ्घर्षका बाटामा गएका कैयौँ कम्युनिस्ट पार्टीले पनि दक्षिणपन्थी बाटो समातेका उदाहरण छन् तर त्यसको अर्थ संसदीय व्यवस्थामा गएका सबै कम्युनिस्ट पार्टी बिग्रन्छन् भन्ने होइन । रुसको बोल्सेभिक पार्टीको उदाहरण पनि अगाडि थियो । जारको डुमामा भाग लिएर पनि त्यसको क्रान्तिकारी चरित्रमा आँच पुगेको थिएन ।”

    “कुनै कम्युनिस्ट पार्टी लामो समयसम्म क्रान्तिकारी बाटोमा अगाडि बढ्छ तर त्यसको जीवनमा पुनः एउटा यस्तो मोड पनि आउँछ, जहाँ पुगेपछि त्यसले एक वा अर्को प्रकारले पतनको बाटो समात्न पुग्छ । लेनिन, स्टालिन, माओ, होचिमिन्ह, क्यास्ट्रो आदिले नेतृत्व गरेका कम्युनिस्ट पार्टीको इतिहासमा त्यस्ता मोड आए । संसारका सयकडौँ पार्टीको जीवनमा त्यस प्रकारका मोड आउने गरेका छन् । आखिर त्यसको कारण के हो ? जलजलाको मनमा यो प्रश्न उठ्यो : के हो ? के हो ? के हो …”

    वास्तवमा त्यो विश्व कम्युनिस्ट आन्दोलनको नै अत्यन्त गम्भीर र जटिल प्रश्न थियो । जलजलाको मनमा कैयौँ बेरसम्म त्यो प्रश्न घुमिरह्यो : “के त्यसको कुनै उपाय छैन ?” क्रान्ति सफल पार्न कम्युनिस्टले त्याग र बलिदान गर्दछन् । भूमिगत जीवन बिताउँछन् । जेल जान्छन् । सशस्त्र सङ्घर्ष गर्छन् । लाखौँकरोडौँ जनता सङ्घर्षमा सामेल हुन्छन् । क्रान्ति सफल पनि पार्दछन् । समाजवादको उच्च रूपमा विकास पनि गर्दछन् तर फेरि यस्तो किन हुन्छ कि त्याग र बलिदानमा खारिएका क्रान्तिकारीले पतनको बाटो समात्छन् । एउटा पुस्ताले क्रान्तिको बाटो समात्छ तर अर्को पुस्ताले प्रतिक्रान्तिको बाटो समात्छ । त्यो सिलसिला यहाँसम्म पुग्दछ कि उनीहरू मार्क्सवादी–लेनिनवादी सिद्धान्तको परित्याग गर्न वा कम्युनिस्ट पार्टीको विघटन गर्न नै पुग्दछन् । रुसमा त्यही भयो । चीनमा अझै कम्युनिस्ट पार्टीको त विघटन गरिएको छैन तैपनि त्यसले मार्क्सवाद र लेनिनवादका उच्च कुरा गर्दै पुँजीवादको बाटो समातेको छ । नेपालको डा. केशरजङ्ग रायमाझीको उदाहरण पनि हाम्रा अगाडि थियो । उनी पार्टीको महामन्त्रीसम्म थिए तर उनले राजावादी लाइन समातेका थिए र उनले कम्युनिस्ट पार्टीको समेत विघटन गरेका थिए ।
    वषौँ वा दशकौँसम्म कम्युनिस्ट पार्टीमा काम गरेका वा नेतृत्वमा पुगेका कम्युनिस्टको पनि पतन भएका विश्व कम्युनिस्ट आन्दोलनमा वा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि असङ्ख्य उदाहरण थिए ।

    कैयौँ मानिस कम्युनिस्ट बन्छन् । कम्युनिस्ट बन्ने बेलामा प्रायः धेरै जना इमानदार नै हुन्छन् तर पार्टीमा प्रवेश गरेपछि या त सैद्धान्तिक अस्पष्टता वा विभिन्न कठिनाइ, पारिवारिक समस्या र परिवारभित्रको दबाव वा प्रेमका कारणले पनि उनीहरूको क्रान्तिकारी स्प्रिटमा कमी आउँछ । उनीहरूले क्रान्तिको लामो, अनिश्चित वा कष्टदायी बाटो समात्नभन्दा व्यक्तिगत वा पारिवारिक जीवनमा बढी ध्यान केन्द्रित गर्न थाल्दछन् । सुरुमा उनीहरूले पार्टी वा व्यक्तिगत जीवनका बिचमा सन्तुलन कायम गर्दै काम गर्ने प्रयत्न गर्दछन् तर त्यो क्रममा कुनै बेला यस्तो बिन्दु आउँछ, जहाँ त्यो सन्तुलन कायम राख्नु सम्भव हुँदैन र पार्टी र व्यक्तिगत जीवनका स्वार्थमध्ये एउटालाई चुन्नुपर्ने स्थिति आउँछ । त्यो अवस्थामा कतिपयले पार्टी र क्रान्तिको सेवालाई निरन्तरता दिने प्रयत्न गर्दछन् भने कतिपयले व्यक्तिगत जीवनलाई नै प्राथमिकता दिएर पार्टीबाट अलग हुने निर्णय गर्दछन् ।

    त्यस प्रकारको द्वन्द्वको बिचमा एउटा अर्को सन्तुलनको बिन्दु पनि प्रायः देखा पर्ने गर्दछ । कतिपय अवस्थामा सम्पूर्ण पार्टीले नै क्रान्तिको बाटो छाडेर दक्षिणपन्थी दिशा लिन पुग्दछ । त्यो अवस्थामा आफ्ना निजी स्वार्थ पूरा गर्दै पार्टीको कामलाई निरन्तरता दिनको लागि अनुकूल वातावरण तयार हुन्छ । संसारका कैयौँ देशमा वा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि त्यस प्रकारका अनुकूल अवस्था पैदा भएका वा अवसरवादी प्रकारका सन्तुलनका विन्दु कायम भएका कैयौँ उदाहरण पाइन्छन् । त्यसबाट गैरक्रान्तिकारी वा पलायनको दिशा समात्न खोजेका कम्युनिस्टको व्यक्तिगत जीवनमा ता सन्तुलन कायम हुन्छ तर सम्पूर्ण कम्युनिस्ट पार्टी वा क्रान्तिकारी आन्दोलनले पतनोन्मुख दिशा लिन पुग्दछ ।

    पार्टीका सदस्य वा पूरै कम्युनिस्ट अवसर वा पलायनको दिशा समात्ने प्रवृत्तिको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “के त्यो यस्तो असाध्य समस्या हो र त्यसको कुनै निदान छैन ? के त्यो एउटा यस्तो ॅभिसस सर्कल’ हो ? जसबाट मुक्त हुने कुनै उपाय छैन ? के त्यो यस्तो चक्रव्यूह हो, जहाँ पस्ने सबैको अभिमन्युको जस्तो अन्त्य हुनुबाहेक कुनै विकल्प छैन ?” अभिमन्युको चक्रव्यूहमा पसेर मृत्यु भएको थियो किनभने महाभारतमा लेखिएअनुसार उत्तरा चक्रव्यूहको विवरण सुन्दासुन्दै बिचमा निदाएकी थिइन् । त्यसैले उनको गर्भमा रहेका अभिमन्युले चक्रव्यूहमा पस्ने विधि सुन्न पाएका थिए तर त्यहाँबाट निस्कने विधि सुन्न पाएका थिएनन् । त्यसैले उनको चक्रव्यूहमा मृत्यु भएको थियो तर अर्जुनलाई चक्रव्यूहमा पस्ने र निस्कने दुबै विधि थाहा थियो । यदि उनी चक्रव्यूहमा पसेको भए उनको मृत्यु हुने थिएन । त्यही प्रकारले क्रान्तिकारी दृष्टिकोणको उच्च रूपमा विकास नभएपछि नै कम्युनिस्टको चक्रव्यूहमा पसेका अभिमन्युको जस्तै मृत्यु वा पतन हुने गर्दछ ।

    मानिस कम्युनिस्ट हुन्छन् तर उनीहरूमा व्यक्तिवादी वा स्वार्थपरायण प्रवृत्ति पनि हुन्छन् । सर्वहारा वा क्रान्तिकारी विश्वदृष्टिकोणद्वारा त्यस प्रकारको व्यक्तिगत वा स्वार्थपरायण दृष्टिकोणमाथि सुधार, नियन्त्रण वा क्रान्तिकारी रूपान्तरण गरियो भने कम्युनिस्टको चरित्रमा स्थिरता वा निरन्तरता आउँछ । त्यसपछि जस्तोसुकै प्रतिकूल वा कडा परिस्थितिमा पनि कुनै कम्युनिस्टको पतन हुँदैन ।

    समाजको एउटा मुख्य समस्या के हो भने सामाजिक हित र व्यक्तिगत स्वार्थको हितमा सधैँ सङ्घर्ष चल्दै आएको छ । कम्युनिस्टहरू पनि त्यस प्रकारको सङ्घर्षबाट मुक्त छैनन् । जति जति उनीहरूमा सामाजिक सेवाभावना प्रबल हुँदै जान्छ, उनीहरू पार्टी र क्रान्तिप्रतिको उसको प्रतिबद्ध वा दृढता बढ्दै जान्छ । त्यसको विपरीत जति व्यक्तिगत पक्ष प्रबल हुँदै जान्छ, उसले अवसरवाद र पलायनको बाटो समात्दै जान्छ ।

    वास्तवमा सामाजिक हित र व्यक्तिगत स्वार्थका बिचको अन्तविरोध नै त्यो मूल कडी थियो, जसमाथि सम्पूर्ण समाज वा सामाजिक संरचनाको निर्माणको दिशा निर्धारित गर्दै आएको थियो । दासयुग, सामन्ती युग वा पुँजीवादी व्यवस्थाको निर्माणका पछाडि पनि मुख्य रूपले सामाजिक हितमाथि कुठाराघात गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने मानसिकताले नै काम गरेको थियो । शोषणको उत्पत्तिको कारण पनि त्यही थियो । त्यस प्रकारको व्यक्तिगत स्वार्थ मानवजातिमा पनि वंशाणुगत रूपले नै विकसित हुँदै आएको थियो । युगयुगदेखि समाजमा चल्दै आएको त्यस प्रकारको रोगबाट कम्युनिस्ट पनि मुक्ति थिएनन् र मुक्त पनि हुन सक्दैनथे । त्यही रोग विश्व कम्युनिस्ट आन्दोलनमा सङ्क्रामक रूपमा फैलिएको थियो र त्यही कारणले ठुलो सङ्ख्यामा कम्युनिस्टको पतन हुने गर्दथ्यो ।

    कुनै बेला व्यक्तिविशेष त्यस प्रकारको रोगका सिकार हुन्छन्, जस्तै कि डा. केशरजङ्ग रायमाझी र ख्रुस्चेभ । कुनै बेला त्यो रोग सङ्क्रामक रूपमा नै फैलिन्छ र कुनै देशको कम्युनिस्ट पार्टी वा विश्व कम्युनिस्ट आन्दोलन नै त्यसको सिकार बन्न पुग्दछ । त्यसैको परिणाम हो कि अहिले विश्व कम्युनिस्ट आन्दोलन नै अत्यन्त कमजोर वा रक्षात्मक अवस्थामा पुगेको छ वा अर्को शब्दमा भनौँ, विश्व कम्युनिस्ट आन्दोलन नै पतनोन्मुख दिशामा पुगेको छ तर जलजलाले सोचिन्, व्यक्तिगत स्वार्थपरायण दृष्टिकोणले समाजको विकासक्रममा धेरै नै नकारात्मक असर पार्दै आएको छ । त्यो मानवजातिको एउटा गम्भीर प्रकारको कमजोरी भए पनि त्यो समाजको एक मात्र विशेषता होइन ।

    त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “मानिसमा व्यक्तिवादी र स्वार्थपरायण प्रवृत्ति हुन्छन् । त्यसका साथै उनीहरूमा सामाजिक प्रवृत्ति पनि हुन्छ । उनीहरूमा सामाजिक हितको लागि काम गर्ने प्रवृत्ति पनि हुन्छ । समाजको इतिहासमा मानिसले सामाजिक हितका लागि काम गरेको, त्यसका लागि व्यक्तिगत स्वार्थको त्याग र बलिदान गर्दै आएको पनि लामो, गौरवपूर्ण र उज्ज्वल इतिहास छ । कम्युनिज्मले त्यही प्रकारको उच्च दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ । कैयौँ विचलन, पलायन वा प्रतिक्रान्तिको लामो सिलसिलाका बाबजुद त्यस प्रकारको उच्च सामाजिक र क्रान्तिकारी दृष्टिकोणको प्रायः विकास हुँदै आएको छ र हुँदै जाने कुरा निश्चित छ । त्यसैको परिणाम हो कि समाजलाई सधैँ यथास्थितिमा राखिरहने र प्रतिगमनतिर लैजाने प्रयत्नका बाबजुद समाजको लगातार उच्च रूपमा विकास हुँदै आएको छ ।”

    “समाजमा प्रचलित सोचाइभन्दा मार्क्सवादी–लेनिनवादी चिन्तन वैज्ञानिक छ र त्यो कैयौँ गुणा शक्तिशाली छ । यस प्रकारको चिन्तनद्वारा दीक्षित भएपछि मानिसमा उच्च प्रकारको सामाजिक, क्रान्तिकारी चिन्तन र चरित्रको निर्माण हुन सक्छ ।”

    “क्रान्तिकारी आन्दोलनमा बारम्बारको असफलताका बाबजुद विश्वको इतिहासको लगातार अग्रगामी दिशामा विकास हुँदै आएको छ । मानवजातिको स्वभाव विशुद्ध रूपले व्यक्तिवादी र स्वार्थपरायण भएको भए त्यस्तो हुने थिएन । समाजमा सधैँ प्रतिगामी व्यवस्था नै कायम रहिरहन्थे ।”

    कम्युनिस्टमा सामाजिक हितको लागि काम गर्ने मार्क्सवादी–लेनिनवादी दर्शनमा आधारित उच्च र क्रान्तिकारी दृष्टिकोण हुन्छ र उनीहरूमा सामाजिक हितमा बाधा पुऱ्याउने सबै तत्त्व, वर्ग वा व्यवस्थाका विरुद्ध पनि अन्तसम्म सङ्घर्ष गर्ने प्रतिबद्धता र दृढता हुन्छ तर त्यसरी सामाजिक सेवाको भावना खालि कम्युनिस्टमा मात्र हुन्छ भन्ने होइन ।

    समाजको सेवा वा त्यसमा क्रान्तिकारी परिवर्तनको लागि कम्युनिस्टले नै अग्रगामी भूमिका खेल्दछन् तर त्यो कुरा सोच्ने बेलामा उनको ध्यान यो कुराप्रति पनि गयो कि “कम्युनिस्टमा देखा पर्ने त्यस प्रकारको चिन्तन, चरित्र वा व्यवहार खालि विशुद्ध रूपमा वा सम्पूर्ण रूपले कम्युनिस्टको मात्र चिन्तन, चरित्र वा व्यवहार होइन, समाजमा पनि त्यस प्रकारका प्रवृत्ति पाइन्छन् । मानिसले खालि आफ्नो स्वार्थका लागि मात्र काम गर्दैनन्, समाजमा जुन प्रकारका सामाजिक वा समाज सेवाका भावना प्रकट हुन्छन् । त्यसको एउटा विकसित र परिमार्जित रूपमा कम्युनिस्टको दृष्टिकोण प्रकट हुन्छ । अरूको भन्दा कम्युनिस्टको चिन्तनमा भएको विशेषता यो हो कि त्यसले समाजको हितका लागि वर्तमान समाज व्यवस्था वा संसारलाई नै बदल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।”

    “उनीहरूले समाज सेवाका कार्यलाई निरपेक्ष रूपमा लिंदैनन् । उनीहरूले यस कुरामा विश्वास गर्छन् कि समाजमा विद्यमान सबै शोषण, उत्पीडनको अन्त भएपछि नै समाजको वास्तविक रूपमा विकास हुन सक्छ ।”

    उपन्यासमा अगाडि लेखिएको थियो– “संसारमा कम्युनिस्टले मात्र होइन, संसारमा कम्युनिस्ट आन्दोलन सुरु हुनुभन्दा पहिले पनि हजारौँहजार क्रान्तिकारीले समाजलाई बदल्न समाजमा भएका अन्याय, अत्याचारका विरुद्ध लामो सङ्घर्ष गर्दै आएका छन् । त्याग र बलिदान गर्दै आएका छन् । आफ्नो सम्पूर्ण जीवन आफ्नो उद्देश्य पूरा गर्न समर्पण गर्दै आएका छन् । त्यो क्रान्तिकारी इतिहासमा कम्युनिस्टले सुनौलो पृष्ठ थपेका छन् । सुनौला परिच्छेद जोडिएका छन्… ।”

    त्यस प्रकारका क्रान्तिकारी आन्दोलनको लामो सिलसिला थियो । त्यस प्रकारका क्रान्तिकारी आन्दोलनको परिणामस्वरूप नै दासयुगको अन्त्य भएको थियो । विश्वव्यापी रूपमा सामन्तवादको अन्त्य भयो । संसारको ठुलो भागमा राजतन्त्रको पनि अन्त्य भयो । ती सबै सोचेर उनलाई धेरै खुसी लाग्यो तर यो सोचेर उनलाई धेरै चिन्ता लागेर आयो कि क्रान्तिकारी दार्शनिक पृष्ठभूमि र लामो र गौरवपूर्ण इतिहास भएका कम्युनिस्ट संसारमा ठुलो सङ्ख्यामा बिग्रेर गएका थिए । उनीहरूले पतनोन्मुख दिशा समातेका थिए तर उनको चिन्ता धेरै बेरसम्म रहेन ।

    उनको तुरुन्त नै यो कुराप्रति ध्यान गयो कि, जस्तो कि उपन्यासमा लेखिएको छ, “कम्युनिस्ट बिग्रेर गएका असङ्ख्य उदाहरण छन् तर विश्व कम्युनिस्ट आन्दोलनमा आफूलाई पूरै समर्पित गरेर लागेका कम्युनिस्टको सङ्ख्या पनि धेरै ठुलो छ र त्यो सङ्ख्या अरू बढ्दै जानेछ भन्ने कुरामाथि उनलाई पूरा विश्वास थियो ।”

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.