कल्पना पौडेल जिज्ञासु ##
शासन फेरिए तर शासन शैली उस्तै,
टोपी बदलियो तर टाउको उही
सिंहदरबारमा अनुहार फेरिए पनि
जनताको आँशु सुक्ने छाँट कहिले ?
राजतन्त्र गयो भन्दै झन्डा फहरायौँ
तर रगतमा चुहिएको त्यो झन्डा
आज दलालको भित्तामा झुन्डिएको छ
बन्दुकले हो भनेर सुरुङ खन्याउनेहरू
आज कोठाभित्र एयरकन्डिसनमा थकाइ मार्छन्
तर मनमाया– उही खेतमा, कम्मर बाँधेर
फोक्सोले सास फेर्छे
मजदुरका हात अझै शृङ्खलामा छन्
अब त्यो शृङ्खला सुनको भयो
र नेताहरूले ‘समानता’ को भाषण
सुविधाको मञ्चमा उभिएर गर्छन्
कसैले पासपोर्टमा आशा बोकेर
माउको अँगालो छोड्छ,
विदेशी रेमिट्यान्सले
भित्रिँदैछ टोलको छानामुनि
तर बाबुको मुख हेर्ने दिनमा
बाबु अस्पतालको सिँचाइ
पाइपमा गलेको छ
विद्यालयमा पढिन्छ ‘नेपाल सुन्दर छ’
तर डेस्क पछाडि
भोकले झुम्मिएका आँखा छन्
शिक्षकलाई तलब छैन
र स्वास्थ्यचौकीमा औषधी छैन
फेसबुकमा राष्ट्रप्रेमी बनिन्छ
अनि देश जलिरहेको पोस्टमा
सिर्फ ‘लाइक’ थिचिन्छ
नेपाल आमा हेर्छिन्–
हिउँजस्तै सेताम्मे आँखाले
धेरै छोरा गुमाएकी आमा
आज पनि प्रश्न गर्छिन्–
“मलाई यो परिवर्तन किन अनाथ लाग्छ ?”
ती पर्वत भन्छन्–
“हामीले पनि आवाज सुनेका थियौँ
तर अहिले सुनिन्छ, केवल मौनता”
नेपाल आमा चुप लाग्ने छैनिन्
उनका आँसु अब झर्ने छैन
उनका आँखा अब टल्किनेछन्
र एउटा नयाँ प्रश्न गर्ने छिन्–
“के फेरि मेरो कोख चाहिन्छ ?
परिवर्तनको बलिको लागि ?
कि अब तिमीहरू पनि
मेरो माटोको सुगन्ध चिन्न सिक्यौ ?”