ऋतु केसी ##
संसद्
जहाँ जनताका सपना बुन्छु भनी
पठाइएका थिए प्रतिनिधि
तर त्यही थलो बनेको छ
गालीगलौजको मञ्च
अभद्रताको अखडा,
र जिम्मेवारीबाट भाग्नेको तमासा
संसद्
जहाँ जनताको आवाज बुनिनुपर्ने हो
आज त्यहाँका शब्द सुनिनसक्नु
विचारभन्दा चिच्याहट बलिया
जिम्मेवारीभन्दा घमण्डको सिँढी उकालो
संसद्
गालीले भरिएको प्रत्येक भाषणबाजी
भुइँमा लथालिङ्ग आचरण
देशको भविष्यको होइन
अहङ्कारको रेखाचित्र कोर्दैछन्
जनताका प्रतिनिधि हुँ भन्नेहरू
के यही हो जनादेशको सम्मान ?
जहाँ न आवाज शान्त छ
न विचार शालीन ?
जहाँ शब्द खुकुरी बनेर हानिन्छन्,
र संसद्
चिच्याहटको युद्धभूमि बनिरहेछ
हामी तिमीलाई विधाता ठानेर
सर्वोच्च स्थानमा पुऱ्यायौ
तर तिमीहरू त सिंहासन चढेपछि
भुल्यौ देशको पीडा
किसानका पसिना,
श्रमिकको भोक
अनि युवाको सपना
ए संसद्का सरदारहरू
जनतामाथि बोलिनुपर्ने समय
तिमीहरू आफैका
झगडामा गुम्सिएका छौँ
हरेक दिन सदनको महत्त्वप्रति
तिमीहरू जुन मजाक गर्दैछौ आज
त्यही मजाक एक दिन
तिमीहरूलाई नै अभिशाप बनेर
जनताको क्रोधले डस्नेछ
जुन दिन जनताको मौनता
चिच्याहटमा बदलिनेछ
त्यही दिन
तिमीहरूको अराजकताको सिंहासन
पलभरमा ढल्नेछ
खबरदार संसद्का सरदारहरू