काठमाडौँ । सरकारले शिक्षक महासंघसँग असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्झौता उलंघन गरेको भन्दै महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ । असार १५ गते पारित गर्ने सहमति भएपनि शिक्षा विधेयक अगाडि नबढेपछि महासंघले सो धारणा सार्वजनिक गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने उल्लेख छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक पारित गरेर संसदमा पेश नगरेकाले शिक्षकसँगको सहमतिअनुसार असार १५ गतेभित्र शिक्षा विधेयक पारित नभएको बताइएको छ ।
शिक्षकसँग ९ बुँदे सहमतिमा शिक्षामन्त्री रघुजी पन्तले एकल हस्ताक्षर गरेका थिए । उक्त सहमति मन्त्रिपरिषद बैठक बसेर अनुमोदन गरिएको थियो । त्यसैगरी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका थिए । विद्यालय शिक्षा ऐन र सेवा सुविधाको माग गर्दै २९ दिन काठमाडौंको सडकमा शिक्षकले आन्दोलन गरेका थिए ।
शिक्षकको आन्दोलनले गर्दा तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन्।