धनगढ़ी । रुकुमको चौरहजारी नगरपालिका–८ सेतीमा गएको जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको जातीय हिंसाको घटनाका दोषीलाई कारबाही माग गर्दै धनगढीमा अनिश्चितकालिन धर्नाको आयोजना गरिएको छ ।
जातीय समता समाजलगायतका दलित संघ संस्थाको आयोजनामा जेठ २० गतेदेखि धर्ना आयोजना गरिएको हो । ‘संयुक्त दलित संघर्ष समिति’को ब्यानरमा जारी धर्नामा विभिन्न राजनीतिक दल तथा संघ संस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।
त्यस क्रममा शनिबार राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टको प्रमुख आतिथ्यतामा विरोध सभासमेत भएको छ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य नन्दराज भट्ट र लोकेन्द्र लम्साल, जातीय समता समाजका महासचिव गोविन्द विक, नेपाली कांग्रेस जिल्ला सदस्य केशव मिश्र र नृप वहादुर सुनार, नेकपाका गोविन्द राज विक अनेरास्ववियुका गोकुल विश्वकर्मा, अखिल नेपाल महिला संघकी मिना सोव, मुक्ती समाज नेपालका केन्द्रीय अध्यक्ष चक्र वहादुर विक, नेपाल दलीत संघ जिलाध्यक्ष प्रेम वहादुर विक, दलीत मुक्तीमोर्चाका देव वहादुर विक, जातीय समता समाज कंचनपुर अध्यक्ष चक्र रैकाल, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश सचिव मुकेश रैका, मुलप्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द, अखिल नेपाल युवक संघ केन्द्रीय सचिव प्रसान्त थापालगायतले सम्बोधन गर्नुभएको थियो ।
जेठ १० गते जाजरकोटका नवराज विकले रुकुम पश्चिमकी मल्ल थरकी प्रेमिकालाई भगाउन साथीहरुसकित जाँदा स्थानीयले आक्रमण गर्दा भएको घटनामा ६ जना युवकको शव भेरी नदीमा भेटिएको थियो भने १२ जना घाइते भएका थिए।

