दाङ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) लुम्बिनी प्रदेशको दोस्रो भेला दाङको भालुबाङमा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्यमा २०८२ असार १० गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।
अप्फाको लुम्बिनी प्रदेशका अध्यक्ष प्रेमनारायण आचार्यको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपालीले मैनबत्ती बालेर गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै नेपालीले उत्पादनमा जोडिने किसानका समस्याप्रति सरकार उदासिन भएको आरोप लगाउनुभयो ।
‘बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका सामान नेपाली बजारमा आउँछन् । तिनीहरूसँग नेपाली किसानले उत्पादन गरेका सामान प्रतिस्पर्धा गर्न सक्दैनन्’ उहाँले भन्नुभयो– ‘हाम्रो उत्पादनले बजार पाउँदैन । यसमा सरकार नकचरो बनेर बसिरहेको छ बरु देश लुट्नमै लिप्त भएको छ ।’
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापाले देशमा किसान आन्दोलन कमजोर हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
किसान सङ्गठन पनि कमजोर हुँदै गएको अवस्थामा सरकारले बजेट छुट्याउँदा किसानको पक्षमा दुई प्रतिशतभन्दा कम बजेट पनि छुट्याएको बताउनुभयो ।
किसानका समस्या बढ्दै गइरहेको बताउँदै उहाँले त्यसलाई समाधान गर्न सङ्गठित आन्दोलन गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
भेलालाई अप्फाका महासचिव तुलसी सापकोटा, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का केन्द्रीय सदस्य मनिराम खनाललगायतले शुभकामना दिनुभएको थियो ।

अध्यक्षमा पौडेल
भेलाले शिव पौडेल अध्यक्ष रहनुभएको अप्फाको लुम्बिनी प्रदेश समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष गिरिराज पौडेल, सचिवमा रुकबहादुर पराजुली, सहसचिवमा सिद्धि आचार्य र कोषाध्यक्ष भीमलाल आचार्य रहनुभएको छ ।
त्यस्तै, सदस्यमा जागेश्वर रेग्मी, गणेश बन्जाडे, लक्ष्मी पोखरेल, तारा पुरी, बलिसरा पुन, मानबहादुर वाबु, खिमानन्द खनाल, विष्णु आचार्य, तिलकराज पौडेल र विष्णु कुँवर रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले प्रतिबद्धता मन्तव्य राख्नुभएपछि समितिलाई केन्द्रीय सदस्य वीरबहादुर जिसी र दाङ जिल्ला उपाध्यक्ष माधव आचार्यले बधाई दिनुभएको थियो ।
जागेश्वर रेग्मीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण रुकबहादुर पराजुलीले गर्नुभएको थियो ।





