• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विश्वको संरचना तथा चेतना र जीवनका बिचको सम्बन्ध, अन्तसम्बन्ध वा अन्तर्विरोध

"सन्दर्भ 'कामरेड जलजला’ उपन्यास–१५ "

  •   आइतबार, असार ०८, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    विश्वको संरचना धेरै नै विशाल छ । धेरै नै भन्नुभन्दा पनि धेरै, धेरै वा अत्यन्त धेरै विशाल भने पनि अपर्याप्त हुनेछ । विश्व कति धेरै विशाल छ ? त्यो भन्नु सम्भव छैन । त्यो असीम छ । त्यो अनन्त छ । त्योभन्दा ठुलो समस्या यो हो कि करिब १५ अर्ब वर्षपहिले बिगब्याङको विस्फोटबाट अर्थात् एउटा अणुमा भएको विस्फोटबाट विश्वको प्रादुर्भाव भएको थियो र त्यसपछि त्यसको तीव्र गतिले विस्तार भइरहेको छ । त्यही क्रममा नै कैयौँ तारामण्डल र ग्रहसमेतको विकास भयो । त्यसपछि अहिलेसम्म त्यसको कति विकास भयो ? त्यो जान्न नसक्ने कुरा त छँदैछ, त्योबाहेक त्यसको अहिले पनि कति विकास भयो वा कति विकास हुनेछ ? त्यो अनुमान गर्न पनि गाह्रो छ । त्यसैले हामीले यो भन्नुपर्ने हुन जान्छ– त्यो असीम छ । त्यो अनन्त छ ।

    त्यस सन्दर्भमा एउटा अर्को प्रश्न पनि नउठाईरहन सकिन्न : १५ अर्ब वर्षपहिले बिगब्याङको विस्फोट हुनुभन्दा पहिलेको अवस्था कस्तो थियो या गम्भीर प्रश्न हो र वैज्ञानिकले त्यसको कुनै जबाफ दिएको पाइँदैन तर त्यो कारणले प्रश्नको आवश्यकता, महत्त्व वा गरिमा कम हुन्न ।
    खगोलशास्त्रीले विश्वको संरचनाबारे ज्ञान प्राप्त गर्ने अवश्य पनि कोसिस गरिराखेका छन् । त्यो क्रममा उनीहरूको ज्ञानमा धेरै नै वृद्धि भएको छ । त्यो ज्ञान पनि सामान्य प्रकारले होइन, गुणात्मक वा चक्रवृद्धि गतिले वृद्धि हुँदै गएको छ । त्यो क्रममा पृथ्वीबारे नै मानिसको ज्ञानमा धेरै वृद्धि भयो । पहिले मानिसले पृथ्वीलाई च्याप्टो छ भन्ने ठान्दथे तर पछि त्यो गोलाकार छ भन्ने थाहा भयो । पहिले अमेरिका वा पश्चिम गोलार्द्धबारे मानिसलाई केही थाहा थिएन, पछि त्यो पत्ता लाग्यो । पहिले मानिसले पृथ्वीलाई स्थिर भएको ठान्दथे र पछि त्यो गतिशील भएको वा त्यसले आफ्नो कक्षमा परिक्रमा गरिरहेको थाहा भयो । प्राचीन इतिहासबारे पनि मानिसलाई धेरै कुरा थाहा हुँदै गयो । निश्चय नै पृथ्वीबारे अहिले पनि धेरै कुरा थाहा हुन बाँकी नै छ ।

    पहिले मानिसको यो सोचाइ थियो कि पृथ्वी नै सम्पूर्ण विश्वको केन्द्र हो तर पछि त्यो धारणा बदलियो र मान्छेले सूर्यलाई विश्वको केन्द्र मान्न थाले तर पछि त्यो धारणा पनि बदलिएर गयो र अन्तरिक्षमा कैयौँ नयाँ नयाँ र विशाल आकाशगङ्गा पत्ता लाग्दै गए । अहिले पनि मानिसलाई विश्वबारे जे जति ज्ञान भएको छ, त्यो अत्यन्त कम वा नगन्य छ तर मानिसमा सम्पूर्ण विश्व र सृष्टिसमेतबारे ज्ञानप्राप्त गर्ने तीव्र इच्छा प्राचीन कालदेखि नै रहँदै आएको छ । त्यसैले उनीहरूले आफ्नो उत्सुकतालाई पूरा गर्न कैयौँ कल्पनाको पनि सहायता लिँदै आएका छन् । त्यो क्रममा संसारका सबै भागमा कैयौँ धर्म, ईश्वर, देवीदेवता वा धार्मिक परिकल्पना गरिएका छन् ।

    उपन्यासमा लेखिएको छ– “बिगब्याङ सिद्धान्तले विश्वको उत्पत्तिको एउटा वैज्ञानिक व्याख्या गरेको छ तर त्यो व्याख्यासित कैयौँ प्रश्न जोडिएका छन् । त्यस प्रकारको महान् विस्फोट किन भएको थियो ? त्यसको आवश्यकता किन परेको थियो ? त्यसको उद्देश्य के थियो ? त्यसरी महान् विस्फोट मात्र भएको थिएन, त्यसपछि सम्पूर्ण विश्वको परिचालन नियमित रूपले भएको थियो । आकाशका तारा, आकाशगङ्गा वा ग्रह र उपग्रह नियमित गतिमा हिँडिरहेका थिए ।”

    बिगब्याङको सिद्धान्तले विश्वको उत्पत्ति र विकासबारे एउटा वैज्ञानिक व्याख्या प्रस्तुत गरेको छ तर पहिले त्यस प्रकारका कैयौँ सिद्धान्त गलत साबित हुँदै वा तिनीहरूमा परिमार्जन हुँदै आएको छ तर यो सिद्धान्त पनि के पूरै सत्य हो वा त्यसमा अरू परिमार्जन हुँदै जानेछ ? त्यसबारे उपन्यासमा लेखिएको छ– “अहिले उनले (कामरेड जलजलाले) विश्वको उत्पत्ति र संरचनाबारे बिगब्याङ सिद्धान्तको आधारमा नै सोचिरहेकी थिइन् तर के त्यो सिद्धान्त पनि पूरै सही थियो ? पहिले पृथ्वी सूर्य वा विश्वको संरचनाबारे देखा परेका कैयौँ सिद्धान्त गलत साबित भएका थिए† जस्तै : पृथ्वीलाई वा सूर्यलाई विश्वको केन्द्र मान्ने सिद्वान्त । त्यही प्रकारले अहिले सम्पूर्ण विश्वले मानेको बिगब्याङको सिद्धान्त पनि गलत साबित हुने ता होइन । अन्य कुनै सिद्धान्तले त्यसलाई प्रतिस्थापित गर्ने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिदैनथ्यो ।”

    विश्वको उत्पत्ति कसरी भयो ? त्यसबारे खगोलशास्त्रीमा मतभेद हुन सक्दथ्यो तर अहिले विश्व जुन रूपमा विद्यमान थियो, त्यसबारे—अध्यात्मवादीलाई छाडेर—वैज्ञानिकमा मतैक्यता नै थियो तर त्यसबारे उनका मनमा बारम्बार एउटा प्रश्न उठिरहन्थ्यो– “आकाशमा सूर्य, तारा, ग्रह, उपग्रहले अर्बौं वर्षदेखि आफ्ना कक्षमा परिक्रमा गर्दै आएका छन् तर उनीहरूमा चेतना छैन । यसकारण उनीहरूले आफ्नो गति र अस्तित्वबारे केही सोच्न सक्दैनन् । उनीहरूको त्यस प्रकारको कार्यको अभिप्राय वा उद्देश्य के हो ? त्यसबारे केही नसोचीकन आफ्नो आफ्नो काम गरिरहेका छन् । अर्बौं वर्षदेखि अखण्डित गतिले आआफ्ना कक्षमा परिक्रमा गरिरहेका छन् । महान् विस्फोट । असङ्ख्य तारा तर सबै बिनाकुनै उद्देश्य र अभिप्राय । कति विचित्र थियो विश्व ?”

    विश्वको संरचना र त्यहाँ भइरहेको गति वा विभिन्न तारा र ग्रहले गरिरहेको परिक्रमाबारे विचार गर्दागर्दै कामरेड जलजलालाई आश्चर्य लागेर आयो । उनलाई धेरै आश्चर्य लागेर आयो । ती सबै भौतिक पिण्ड थिए । उनीहरूमा कुनै चेतना थिएन । उनीहरूले जे गरिराखेका थिए, त्यसका पछाडि पनि कुनै उद्देश्य थिएन । बिनाकुनै चेतना वा उद्देश्य अर्बौं वर्षदेखि किन उनीहरूले त्यसो गर्दै आएका थिए ? त्यसबारे उपन्यासमा लेखिएको थियो– “अध्यात्मवादीले त्यो सम्पूर्ण कार्य दैवी शक्तिद्वारा भएको बताउँछन् । आइस्टाइनले पनि त्यही बताएका थिए तर त्यस प्रकारको सोचाइमाथि उनको (कामरेड जलजलाको) विश्वास थिएन । उनको स्पष्ट र दृढ विचार थियो, त्यो सम्पूर्ण कार्य भौतिक प्रक्रियाअनुसार नै भएको थियो तर त्यसरी भौतिक रूपले पनि त्यो कार्य कसरी सम्भव भएको थियो, त्यससित जोडिएका कैयौँ प्रश्न थिए, जसको जबाफ निकाल्नु उनका लागि सम्भव थिएन । खालि मानसिक रूपले सोचेर ती प्रश्नको जबाफ निकाल्नु सम्भव थिएन र त्यो वैज्ञानिक विधि पनि थिएन । सायद भविष्यमा वैज्ञानिक अध्ययन र अनुसन्धानद्वारा नै ती प्रश्नको जबाफ प्राप्त हुँदै जानेछ । सायद तीमध्ये कैयौँ प्रश्नको जबाफ प्राप्त नहुन पनि सक्छ र ती प्रश्नको जबाफ प्राप्त हुनुभन्दा पहिले नै मानव जाति समाप्त हुन पनि सक्छ । संसारका कैयौँ प्रजाति, जाति वा सभ्यता नष्ट भएको लामो इतिहास थियो । त्यस अवस्थामा भविष्यमा कुनै समयमा एक वा अर्को कुनै कारणले विद्यमान मानव जाति सम्पूर्ण रूपले नष्ट हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैनथ्यो । त्यस प्रकारको सोचाइ अत्यन्त पीडादायक थियो तर सायद प्रकृतिको विकास र विनाशको साश्वत नियमअनुसार सुदूर भविष्यमा त्यस प्रकारको सम्भावनालाई त्यसरी नै अस्वीकार गर्न सकिँदैनथ्यो, जसरी जन्मपछि मृत्युको अनिवार्यतालाई ।”

    विश्वको संरचनाबारे सोच्दासोच्दै उनको ध्यान एउटा अर्को प्रश्नतिर गयो । विश्व एउटै थियो वा धेरै थिए तर कतिपय वैज्ञानिकले बहुविश्वको अवधारणा पनि प्रकट गरेका थिए । त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “के त्यस प्रकारका अरू पनि विश्व थिए ?”
    त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– “उनले अहिलेसम्म जे जति ज्ञान प्राप्त गरेकी थिइन्, त्यो ज्ञात विश्वका बारेमा नै थियो । त्यो ज्ञात विश्वमा पृथ्वी थियो । सूर्य थियो । सौर्यमण्डल थियो । दुधपथ वा आकाशगङ्गा र अन्य धेरै आकाशगङ्गा थिए । के विश्व त्यहीँसम्म सीमित थियो वा त्यो ज्ञात विश्वबाहेक अन्य विश्वको पनि अस्तित्व थियो ?

    अन्य विश्वको कल्पना गर्नेबित्तिकै उनका मनमा कैयौँ कुरा खेल्न थाले । त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– “त्यहाँ पनि के हाम्रो समाजमा झैँ शोषण, उत्पीडन होला वा त्यहाँका प्राणीले हाम्रोभन्दा बेग्लै सुखी वा सुन्दर जीवन बिताएका होलान् ?”

    अहिलेसम्म ज्ञात विश्व वा ब्रह्माण्डबाहेक अन्य विश्वमा कुन प्रकारको वातावरण वा जीवन हुन सक्दथ्यो ? त्यो कुरा धेरै टाढाको कुरा भयो । त्यसका लागि प्रथमतः त्यस प्रकारका अन्य विश्व थिए वा थिएनन् ? त्यो कुरा नै जान्न वा प्रमाणित हुन बाँकी थियो । त्यसैले कामरेड जलजलाले त्यतातिर सोच्नुभन्दा पहिले उनले ज्ञात विश्वमा नै अन्य तारा वा ग्रहमा जीवनको सम्भावनाबारे विचार गर्न थालिन् । त्यसबारे उपन्यासमा लेखिएको थियो– “पृथ्वीबाहेक अन्य कुनै ग्रहमा जीवको अस्तित्वलाई पूरै निषेध गर्नु, सायद होइन, निश्चित रूपले नै सही हुँदैनथ्यो । पृथ्वीबाहेक अन्तरिक्षका अन्य कैयौँ ग्रहमा पनि पृथ्वीमा जस्तो वातावरण हुनु र त्यहाँ हावापानी वा जीवको अस्तित्व हुनु एकदम असम्भव थिएन ।”

    खालि अन्य ग्रहमा जीवको अस्तित्व हुनु मात्र होइन, त्यहाँ उनीहरूको जीवनको प्रणाली पनि पृथ्वीका जीवको भन्दा बेग्लै हुने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिँदैन्थ्यो । पृथ्वीकै कुरा गरौँ । यहाँ पनि जीवहरू बेग्लाबेग्लै प्रकारका थिए र उनीहरू मानिसभन्दा बेग्लाबेग्लै प्रकारले बाँच्दथे । उदाहरणका लागि मानिसको आयु सामान्यतः सय वर्षको आसपासमा नै थियो यद्यपि कतिपय मानिसहरू त्योभन्दा कम वा बढी समयसम्म पनि बाच्ने गर्दथे तर कछुवाको आयु मानिसको भन्दा धेरै बढी हुने गर्दथ्यो ।

    उनले मनमनै सोचिन्, जुन भौतिक कारणले कछुवाको आयु मानिसको भन्दा बढी हुन्थ्यो, के त्यही भौतिक नियमका आधारमा मानिसको आयु पनि अहिलेको भन्दा बढी बनाउनु सम्भव थिएन ?

    उनको ध्यान एउटा अर्को कुराप्रति गयो । पृथ्वीका बेग्लाबेग्लै प्राणीको आयुको अवधिमा मात्र अन्तर थिएन, उनीहरूको जीवन प्रणालीमा अरू कैयौँ प्रकारका अन्तर पनि थिए । उदाहरणका लागि धर्तीमा बस्ने प्राणीको जीवनका लागि वायु अनिवार्य थियो तर समुद्रका प्राणी बिनावायु बाँच्दथे ।

    उनले सोचिन्– “पृथ्वीमा जसरी हाम्रो जीवन हावा र पानीमा निर्भर रहेको छ, अन्य ग्रहमा यो भन्दा बेग्लै भौतिक नियमले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैनथ्यो । त्यहाँ अन्य कुनै तत्त्वद्वारा पनि जीवनको उत्पत्ति हुन वा त्यसको अस्तित्व रहनु के सम्भव थिएन ? पृथ्वीमा मानिसको जीवन जसरी अल्पायु हुन्छ । त्यही प्रकारले त्यहाँका जीव वा प्राणी अल्पायुका हुनु पनि अनिवार्य थिएन । तिनीहरूको जीवन मानिसको जीवनभन्दा कैयौँ गुणा लामो पनि हुन सक्थ्यो ।”

    उपन्यासमा लेखिएको छ– “कामरेड जलजलाले अन्य आकाशगङ्गाका अज्ञात प्राणीबारे कैयौँ बेरसम्म सोचिरहिन् । तिनीहरूका बेग्लाबेग्लै आकारप्रकार वा प्रकृतिबारे उनका मनमा कैयौँ चित्र बन्दै र बिग्रिँदै गए तर उनीहरूबारे उनले त्यसभन्दा बढी केही सोच्न सक्दिनथिन् र सोचिनन् पनि ।

    वैज्ञानिकले अहिलेसम्म सौर्यमण्डलका ग्रहबारे धेरै कुरा पत्ता लगाइसकेका छन् । अन्तरिक्षका अन्य तारा वा तारामण्डलबारे पनि धेरै कुरा पत्ता लगाइसकेका छन् । उपन्यासमा लेखिएको छ– “तर पृथ्वीजस्तो हावापानी, वायुमण्डल वा वनस्पति वा प्राणी भएको कुनै तारा वा ग्रह पत्ता लागेको छैन । त्यसरी पृथ्वी अहिलेसम्म पत्ता लागेका सबै ग्रह वा तारामण्डलभन्दा बेग्लै र अद्वितीय प्रकारको थियो । त्यस अर्थमा पृथ्वी विश्वको नै अत्यन्त भाग्यमानी ग्रह थियो । विश्वमा पृथ्वीलाई जुन विशिष्ट रूप प्राप्त भएको छ, त्यो कुनै योजनाको परिणाम थियो वा संयोगको परिणाम थियो ? पृथ्वीमा त्यस प्रकारको वातावरणको निर्माण कसरी भएको थियो ? ब्रह्माण्डका करोडौँ, अरबौँ तारा र तिनीहरूसित सम्बन्धित ग्रह वा उपग्रहको तुलनामा पृथ्वीको त्यस प्रकारको विशिष्ट र अद्वितीय स्थान ? त्यो सामान्य कुरा थिएन ।”

    ब्रह्माण्डमा पृथ्वीलाई जुन विशिष्ट स्थान प्राप्त भएको छ, त्यो कुनै योजनाअन्तर्गत भएको थियो वा संयोगवश ? उपन्यासमा त्यसबारे केही विस्तारपूर्वक प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “अहिले पृथ्वी सूर्यबाट जति टाढा छ, त्योभन्दा केही बढी दुरी भएको भए त्यो अहिलेभन्दा धेरै चिसो हुन्थ्यो । केही नजिक भएको भए अहिलेभन्दा धेरै तातो हुन्थ्यो । उक्त दुवै अवस्थामा पृथ्वीको वातावरण, वायुमण्डल, वनस्पति वा जीवनको उत्पत्तिका लागि उपयुक्त हुने थिएन । सूर्यको तौल अहिले जति छ, त्योभन्दा २० प्रतिशत मात्र बढी भएको भए पृथ्वीको तापक्रम शुक्र ग्रहको जस्तै गरम हुन्थ्यो र त्यहाँ वनस्पति वा प्राणीको उत्पत्ति सम्भव हुने थिएन । सूर्यको तापक्रम १० प्रतिशत मात्र कम भएको भए पृथ्वी मङ्गल ग्रहजस्तो चिसो हुने थियो । त्यो अवस्थामा पनि पृथ्वीको वातावरण वा वायुमण्डल वनस्पति वा जीवनको उत्पत्तिका लागि उपयुक्त हुने थिएन । सूर्यको तौल कम वा बढी हुनु वा पृथ्वी सूर्यबाट टाढा वा नजिक हुनु त्यो संयोगको कुरा हो ।”

    त्यसबारे उपन्यासमा लेखिएको छ– “जब १३–१४ अरब वर्षपहिले महान् विस्फोट भएर तारा र ग्रह निर्माण भयो, त्यो बेला सूर्यको तौल वा सूर्यबाट पृथ्वीको दुरीको निर्धारण संयोगको कुरा थियो । कुनै योजनाअनुसार ता सूर्यको तौल वा सूर्यबाट पृथ्वीको दुरी निर्धारित भएको थिएन होला । त्यो संयोगले ब्रह्मान्डका अन्य तारालोक वा ग्रहभन्दा पृथ्वीलाई अद्वितीय स्थान प्राप्त भयो ।”

    ब्रह्माण्डको विशाल आकार, त्यसको उत्पत्ति वा त्यसभन्दा पहिलेको अज्ञात अवस्था । यी सबैबारे बुद्धिले कुनै ज्ञान प्राप्त गर्न नसकेपछि सबै अध्यात्मवादीले ती सबै कुरालाई ईश्वरको कृति बताएर टुङ्गाएका थिए तर त्यसको विपरीत सबै भौतिकवादी दार्शनिकले विश्वको वा जीवनको उत्पत्तिमा कुनै दैवी शक्तिको भूमिका भएको कुरालाई स्वीकार गर्दैनथे ।

    प्रकृति जड थियो । सम्पूर्ण पृथ्वी सूर्यसहित सौर्यमण्डलका सबै ग्रह वा सूक्ष्म ग्रह सुदूर अन्तरिक्षका सबै तारा वा तारामण्डल जड थिए यद्यपि यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैनथ्यो कि तिनीहरूमध्ये कतिपय ग्रहमा जीवनको अस्तित्व पनि हुन सक्दथ्यो तर अहिलेसम्म मानिसलाई त्यसबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन् ।

    प्रकृति र जीवन वा चेतनाको अन्तरसम्बन्धबारे कामरेड जलजला उपन्यासमा अन्यत्र पनि चर्चा गरिएको थियो । उपन्यासको एउटा परिच्छेदमा हर्केको उल्लेख गर्दै लेखिएको थियो– “जब उनको (हर्केको) ध्यान प्रकृतिको त्यो विराट स्वरूपमाथि जान्थ्यो, उनी भावविभोर हुन्थे । त्यो बेला उनलाई यस्तो अनुभूति हुन्थ्यो, सम्पूर्ण विश्व उनीभित्र लीन हुँदै गइरहेको छ र उनी सम्पूर्ण विश्वमा लीन हुँदै गइरहेका छन् । विश्व र उनका बिचमा कुनै अन्तर रहेको थिएन । मानिसले प्रकृतिलाई जड ठान्दथे । सामान्यतः कुरा सत्य पनि त्यही थियो तर जड र जीवन त एकअर्कासित सम्बन्धित थिए । जीवनको आधार जड थियो तर जडमा जीवन अन्तर्निहित थियो । जड पदार्थको अभावमा वा पानी, हावा, अन्न वा भौतिक पदार्थद्वारा बनेको शरीरका अभावमा जीवनको कल्पना पनि गर्न सकिँदैनथ्यो ।”

    यसरी प्रकृति र जीवनका बिचमा अत्यन्त निकट र घनिष्ट सम्बन्ध भएको कुरा प्रष्ट थियो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “जुन जीवनको यति ठुलो महत्त्व थियो, त्यसलाई एउटा अस्तित्वहीन ईश्वर वा त्यही प्रकारका अन्य कुनै अलौकिक वा दैवी धारणामा मात्र अवस्थित गरेर मानिसले कति ठुलो गल्ती गरेका थिए ? उनलाई यो सोचेर दुःख लाग्थ्यो कि त्यस प्रकारका गलत र भ्रामक धारणालाई पनि मानिसले व्यापक रूपमा अपनाएका थिए ।”

    त्यस सन्दर्भमा उपन्यासमा अगाडि लेखिएको थियो– “प्रकृति कति विशाल र सुन्दर थियो ? त्यसमा कति विविधता र विचित्रता थियो ? त्यसमा कति धेरै रहस्य थिए, जसलाई मानिसले पत्ता लगाउन सकेका थिएनन् । जीवन र चेतना प्रकृतिको उपज थियो तर उनलाई लाग्थ्यो, प्रकृतिभन्दा जीवन र समाज कैयौँ गुना बढी सुन्दर, भव्य, विचित्र र रहस्यमय थियो । हजारौँ वर्षदेखि मानिसले जीवनलाई बुझ्ने प्रयत्न गर्दै आएका छन् । धर्म र दर्शन, विज्ञान, कला, साहित्य आदि सबैले जीवनलाई बुझने र त्यसलाई व्याख्या गर्ने प्रयत्न गर्दै आएका छन् ।”

    आइतबार, असार ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.