काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आज २०८२ असार ७ गते शनिबार बिहान चितवनमा भएको सडक दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
आजै उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा शोकवक्तव्य जारी गर्दै राजमोले घाइतेको उपचार तथा क्षतिपूर्तिको मागसमेत गरेको हो ।
नेपालमा सडक दुर्घटना बढ्दै गएको चिन्ता व्यक्त गर्दै राजमोले घटनाको गम्भीर छानबिन गर्न आग्रह गरेको छ ।
ड्राइभरको तालिम तथा परीक्षणमा समेत जोड दिइएको वक्तव्यको पूर्ण पाठ यस्तो छ :
“चितवनमा भएको गम्भीर बस दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाले ठुलो दुःख र शोक प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली र उनीहरूका सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
२०८२ असार ७ गते बिहान पूर्वपश्चिम राजमार्गको खहरेपुलनजिक धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको इभी गाडी आपसमा जुध्दा बसमा बसेका सात जनाको मृत्यु भएको र २४ जना घाइते भएका समाचार पढेर हामी धेरै नै दुखी भएका छौँ । त्यो अत्यन्त गम्भीर र दुःखद घटना हो । त्यो घटनाबारे छानबिन गरेर त्यो दुर्घटना कसरी भएको हो ? त्यससम्बन्धी तथ्य सार्वजनिक गर्नुपर्ने माग हामीले गर्दछौँ ।
नेपालमा बारम्बार यस प्रकारका घटना हुने गरेका छन् । अहिले चितवनमा घटेको घटना मात्र होइन, नेपालमा नै त्यस प्रकारका दुर्घटना किन हुने गर्दछन् ? त्यसबारे नै गम्भीर अध्ययन हुनुपर्ने आवश्यकतामा हामी जोड दिन्छौँ । गाडीको अवस्था, मानवीय कमजोरी वा बाटाको अवस्था आदिको कारणले त्यस प्रकारका दुर्घटना हुने गरेका छन् । त्यसबारे पनि छानबिन गरेर अहिलेको अवस्थामा समग्र रूपले सुधार गर्नुपर्ने आवश्यकता छ । त्यसका साथै गाडीमा ड्राइभर नियुक्त गर्ने बेलामा पनि निश्चित मापदण्ड बनाएर उनीहरूको तालिम वा अनुभव वा कामको रेकर्डको मूल्याङ्कन गरे उनीहरूलाई ड्राइभरमा नियुक्त गर्ने कडा व्यवस्था गरिनुपर्दछ किनभने एउटा ड्राइभरको हातमा धेरै मानिस र उनीहरूका परिवारको समेत जीवन निर्भर हुन्छ । त्यसैले गर्दा नियुक्ति भइसकेपछि पनि उनीहरूलाई तालिम र परीक्षणको नियमित व्यवस्था गरिनुपर्दछ ।
घाइतेको उपचारका लागि कम्पनी वा सरकारका तर्फबाट समुचित उपचार व्यवस्था गरिनुपर्दछ । त्यसका साथै मृतकका परिवारलाई पनि पर्याप्त क्षतिपूर्ति दिनुपर्ने आवश्यकतामा पनि हामीले जोड दिन्छौँ । घाइतेलाई जो गम्भीर रूपले घाइते भएका छन्, उनीहरू उपचारको व्यवस्थाका साथै क्षतिपूर्ति पनि दिनुपर्ने आवश्यकताप्रति हामीले सरकारको ध्यान आकर्षित गर्न चाहान्छौँ ।”
सात जनाको मृत्यु
चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा भएको दुर्घटनामा हालसम्म सात जनाको मृत्यु भएको छ भने मृतकको सङ्ख्या २४ पुगेको छ ।
पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको थियो ।
घाइतेको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
मृतक
१) मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोमप्रसाद रुपाखेती ।
२) मकवानपुर हेटौँडा ५ बस्ने ५३ वर्षीया मैँयाकुमारी न्यौपाने पहाडी ।
३) हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला ।
४) हाल नामथर वतन नखुलेकी अन्दाजी २४/२५ वर्षीया महिला ।
५) हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीया पुरुष ।
६) नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला ।
७) नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीया पुरुष ।
घाइते
१) मकवानपुर हेटौँडा उमनपा–१३ बस्ने १६ वर्षीय सक्षम थापा ।
२) मकवानपुर हेटौँडा उमनपा–१२ का वर्षीय ३२ को सिंहवीर घलान ।
३) मकवानपुर हेटौँडा उमनपा–४ का ३१ वर्षीय विष्णु लम्साल ।
४) मकवानपुर हेटौँडा उमनपा–८ का ३४ वर्षीया गङ्गा घलान ।
५) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल ।
६) झापा गौरादह नगरपालिका–९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल ।
७) कञ्चनपुर बेलौरी नगरपालिका–४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी ।
८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका–९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली ।
९) अछाम साफेबगर नगरपालिका–१० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत ।
१०) कैलाली लम्किचुवा नगरपालिका–८ बस्ने ४५ वर्षीय जम बुढा ।
११) कञ्चनपुर पूर्णवास नगरपालिका–६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा ।
१२) झापा गौरदह नगरपालिका–६ बस्ने ७० वर्षीया टिका न्यौपाने ।
१३) कञ्चनपुर पूर्णवास नगरपालिका–६ बस्ने ६९ वर्षीय जमबहादुर थापा ।
१४) कैलाली गोरीगङ्गा नगरपालिका–११ बस्ने ३२ वर्षीया सुरेश बोगटी ।
१५) कैलाली लम्कीचुवा नगरपालिका–१ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा ।
१६) कैलाली लम्कीचुवा नगरपालिका–१ बस्ने ४८ वर्षीय बलसिंह बुढा ।
१७) रौतहट चपुर नगरपालिका–७ बस्ने ४५ वर्षीय बुलटन साह ।
१८) मकवानपुर बकैया गाउँपालिका–४ बस्ने २६ वर्षीय अनिसा घिमिरे
१९) कालिकोट पलाता गाउँपालिका–४ बस्ने ५३ वर्षीय रत्न बुढा ।
२०) झापा दमक नगरपालिका–८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल ।
२१) झापा मेची नगरपालिका–१५ बस्ने २३ वर्षीय प्रवेश सौरेन ।
२२) सप्तरी राजविराज नगरपालिका–५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय ।
२३) कैलाली गोदावरी नागरपालिका–४ बस्ने ३४ वर्षीय महेश चौधरी ।
२४) मोरङ बेलबारी नगरपालिका–७ बस्ने २७ वर्षीय सुमन चौधरी ।