काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना कर्मचारी पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साह पक्राउ परेका छन् ।
श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा सरुवा भएर प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् । पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजनाहरूको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरूमा अनियमितता गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान चलिरहेको बताइएको छ ।
सोही अनुसन्धानको सिलसिलामा अख्तियारबाट खटिएको टोलीले श्रीवास्तव र नायब सुब्बा साहलाई क्रमशः वीरगन्जस्थित प्रतिमा चोक र प्रगतिनगरबाट शुक्रबार नियन्त्रणमा लिएको हो । उनीहरुका साथबाट ४ थान मोबाइल समेत बरामद भएको छ ।
यस्तै पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र सोही नगरपालिका २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट पनि २ थान विद्युतीय उपकरण (मोबाइल) बरामद गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाको दिएको जानकारी अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।