महेन्द्रनगर (धनुषा), ३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा आज उहाँले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकको पैसा धेरै मानिससम्म पुर्याउनेमा आफ्नो ध्यान रहेको बताउनुभयो ।
ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए सो बैंकलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने उहाँको भनाइ छ । धनुषाका व्यापारीहरूले विगतमा बैंकहरूले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिनुभएको हो ।
सो छलफलमा व्यवसायीहरूले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो गरेका थिए । छलफलमा बैंकका प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिएर तिर्न नसक्नेको संख्या धेरै भएको जानकारी दिएका थिए ।
धनी र गरिब बीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ । “मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ ।”
बैंकको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रीत नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने गभर्नर पौडेलले विचार व्यक्त गरे ।
छलफलमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले प्रस्तुत सुझावहरूलाई नीति निर्माणमा प्राथमिकताका साथ समावेश गरिने र यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे । –रासस