धनगढी । सेती प्रादेशिक अस्पतालले शुक्रबार डिस्चार्ज गरेका ६ जना कोरोना संक्रमितलाई फेरि अस्पतालमै फर्काइएको छ । अस्पतालबाट डिस्चार्ज भएका अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका–२ का २० र २२ वर्षीय पुरुषलाई फेरि अस्पतालमा राखिएको हो ।
अस्पतालले डिस्चार्ज गरेपछि पानीमा भिज्दै ५ घण्टा अलपत्र परेका उनीहरुलाई फेरि अस्पतालमा फर्काएर प्रि आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ । उनीहरुलाई भोलि सम्बन्धित पालिकासँग समन्वय गरी घर फिर्ता पठाइने अस्पताल स्रोतले जनायो ।
६ जना संक्रमितले कोरोना नजितेपनि स्वास्थ्य मन्त्रालयले भर्खरै जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।
यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो । तर स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि लक्षण नदेखिएका संक्रमितलाई डिस्चार्ज गर्न थालिएको छ ।
लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको थियो ।
यो पनि हेर्नुहोस्
सुदूरपश्चिममा नमूना संकलन स्थगित, कोरोना निको नहुँदै बिरामी पनि डिस्चार्ज