काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र उहाँका समकालीन नेता सिद्धिलाल श्रेष्ठबिच भेटघाट भएको छ ।
श्रेष्ठको निवासस्थान काठमाडौँको शङ्खमूलमा २०८२ जेठ २९ गते बिहीबार उहाँहरूमाझ भेटघाट भएको हो ।
निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध १२ वर्ष जेलजीवन बितानुभएका श्रेष्ठ र सिंहबिच पहिलो भेटघाट काठमाडौँको सेन्ट्रल जेलमा भएको थियो । दरभङ्गा प्लेनमदेखि चौथो महाधिवेशनको केन्द्रीय न्युक्लससम्म उहाँहरूबिच सहकार्य भएको थियो । चौथो महाधिवेशनमा पार्टी विभाजित भएपछि उहाँ पुष्पलालतिर लाग्नुभएको थियो ।
२०२८ सालपछि पाटन (ललितपुर) कम्युनिस्ट गतिविधिको केन्द्र मानिथ्यो । मोहनविक्रम सिंह प्रायः पाटनमै बस्नुहुन्थ्यो । त्यो क्रममा सिद्धिलाल श्रेष्ठ, दिलबहादुर श्रेष्ठ र रामबहादुर श्रेष्ठलगायतका जुझारु नेताहरूसित भेटघाट भइरहन्थ्यो । उहाँहरूसँग पनि मोहनविक्रम सिंहको सहकार्य हुन्थ्यो ।

सिद्धिलाल श्रेष्ठ २०४८ साल र २०५१ सालमा ललितपुरबाट सांसदमा निर्वाचित हुनुभयो । २०५२ सालमा मनमोहन अधिकारीको पालामा उहाँ सामान्य प्रशासनमन्त्रीसमेत बन्नुभएको थियो भने २०६४ सालको संविधानसभा चुनावमा उहाँ समानुपातिक तर्फबाट सांसदमा चयन हुनुभएको थियो ।
लामो समयपछि भेट भएकोमा श्रेष्ठले अत्यन्तै खुसी व्यक्त गर्दै मोहनविक्रमको स्वास्थ्य युवाको जस्तो रहेको अभिव्यक्ति दिनुभयो ।
भेटमा राष्ट्रिय जनमोर्चाकी केन्द्री उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसी र दीपेन्द्र श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
