काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेट्न लैनचोरस्थित भारतीय दूतावास पुगेको खुलासा भएको छ ।
सरकारले हालै भारतद्वारा अतिक्रमित भूमिसहितको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय पक्ष नेपालविरुद्ध आक्रामक भएको सन्दर्भमा प्रधानमन्त्रीका निकट नेता भारतीय राजदूतलाई भेट्न जानु अर्थपूर्ण मानिएको छ ।
बास्कोटाले भारतीय राजदूत विनयमोहन क्वात्रासँग आफूले भेट गरेको पुष्टि गरेका छन् । भेटवार्तामा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको बताएका उनले आफुले सरकारी प्रतिनिधिभन्दा पनि सत्तारुढ दलको सांसदको हिसावले भारतीय राजदूत क्वात्रालाई भेटेको एक अनलाइनलाई प्रतिक्रिया दिएका छन् । यद्यपी उनले कहिले र कहाँ भेट गरेको भन्ने खुलाउन चाहेनन् ।
भारतले गत कार्तिक १६ गते लिलपुलेक, कालापानी र लिम्पियाधुरालगायतका क्षेत्र समेटेर नक्सा जारी गरेको थियो । त्यस विरुद्ध नेपालले आपत्ति जनाएको थियो ।
नेपालले वार्ताका लागि बारम्बार गरेको प्रस्तावलाई वेवास्ता गर्दै आएको भारतले हालै लिपुलेक हुँदै मानसरोबर जाने बाटो खोलेको छ । सो कार्यप्रति असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालयले राजदूत क्वात्रालाई बोलाएर विरोधको ‘कुटनीतिक नोट’ दिएको थियो ।
हालै नेपालले सो क्षेत्रसमेत समेटी नयाँ नक्सा जारी गरेको छ भने नक्सा अनुरुप निशानछाप परिवर्तन गर्न संविधान संशोधन विधेयक संसदमा विचाराधीन छ । भारतले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा सार्वजनिक गरेको भन्दै आएको सन्दर्भमा नेपाल र भारतबीच सम्बन्ध बिग्रिएको छ ।
प्रधानमन्त्री ओलीले विभिन्न माध्यमबाट भारतसँग सम्बन्ध सुधार गर्ने प्रयत्न गरिरहेको बताइन्छ । त्यसै सन्दर्भमा आफ्ना विश्वासपात्र बास्कोटालाई भारतीय राजदूतसँग भेट गर्न पठाएको हुनसक्ने राजनीतिक वृतमा आकलन गरिएको छ ।