काठमाडौँ । १० महिनाको अवधिमा नेपाली विदेश भम्रणमा जाँदा १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये चालु आर्थिक वर्षको वैशाखसम्म शिक्षातर्फ १ खर्ब १२ अर्ब ४४ करोड विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म यो व्यय अघिल्लो वर्षको सोही अवधिभन्दा १७.९ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ५६ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४ अर्ब २५ करोड रहेको थियो।
यस्तै, नेपालले चालू आर्थिक वर्षको १० महिनामा विदेशी पर्यटक भित्रिँदा ७५ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ।
२०८०र०८१ मा ६९ अर्ब ७३ करोड रहेको आम्दानी ८.६ प्रतिशतले वृद्धि भई पौने ७६ करोड रुपैयाँ पुगेको हो।
वैशाखसम्म खुद सेवा आय ८६ अर्ब ५३ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोडले घाटामा थियो।
रेमिट्यान्समा वृद्धि
रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । वैशाख महिनामा भित्रिएको रेमिट्यान्स रकमले ऐतिहासिक रेकर्ड कायम गरेको हो । यो महिना १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वैशाख मसान्तमा जम्मा ११५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ०१ अर्ब ७५ करोड रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।
यसअघि एकै महिना १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स आव्रवाह भएको रेकर्ड छ । यो गत फागुनको तथ्याङ्क हो ।
विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो
वैशाख मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म कुल सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । चैत महिनाको अन्त्यसम्म यस्तो सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रहेको थियो ।
रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक सुधार हुँदा यो महिना विदेशी विनिमय सञ्चिति बढेको हो । वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । योसँगै यो अवधिमा कुल रेमिट्यान्स रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
यो विनिमय सञ्चितिले १७।४ महिनाको वस्तु र १४।६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त पुग्ने देखिन्छ ।