प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
जातीय समता समाजका महासचिव भक्त विश्वकर्माले काठमाडौँको सम्पन्न सुनारलाई भन्दा जुम्लाको विपन्न बाहुनलाई आरक्षण दिनुपर्ने बताउनुभएको छ ।
युगदर्शन मिडियाका लागि २०८२ जेठ २१ गते बुधबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।
उहाँ हरेक समाजमा व्यवस्था परिवर्तन हुँदा पाइने सुविधा टाँठाबाठाले नै लिने र पिँढमा परेकालाई त्यो सुविधा सकभर नदिने तितो यथार्थतर्फ इङ्गित गर्दै हुनुहुन्थ्यो ।
‘जुम्लामा बसेको एउटा बाहुन परिवारको मान्छे र काठमाडौँको सम्पन्न परिवारमा जन्मेको सुनारको लाइफस्टाइल एउटै हुँदैन । जुम्लामा बसेको बाहुनले भारी बोकेरै गुजारा गरिरहेको हुन्छ’ उहाँले भन्नुभयो– ‘त्यसैले आरक्षण त्यो बाहुनलाई दिनु उचित हुन्छ ।’
आरक्षण आवधिक हुनुपर्ने बताउँदै उहाँले आरक्षणकै कारणले समाजमा अरू तप्का पीडित हुन नहुने धारणासमेत राख्नुभयो ।
उहाँले भन्नुभयो– ‘आरक्षणले दलितलाई सधैँ अगाडि बढाइदिने होइन, कुनै बेला हटाउनैपर्दछ किनभने यस्ता आरक्षण दिँदै जाँदा भोलि अरू पीडित हुनुपर्ने अवस्था आउन सक्छ ।’
राष्ट्रिय भेला
आगामी जेठ २३ र २४ बुटवलमा राष्ट्रिय भेला भेला आयोजना गरिएको जानकारी दिँदै उहाँले त्यसमा ४०–४२ जिल्लाबाट प्रतिनिधित्व हुने जानकारी दिनुभयो ।
प्रतिगामी खतरा
युगदर्शनसित कुराकानीको क्रममा उहाँले नेपाललाई दुई सय वर्षपछाडि धकेल्ने काम राजसंस्थाले नै गरेको ठोकुवा गर्नुभयो ।
राजसंस्थाले राष्ट्रियताको रक्षा गर्दछ भन्ने दाबीलाई उहाँले ठाडै खारेज गर्नुभयो ।
‘राष्ट्रियताको विषयमा राजाकै पालामा सुरु भएको थियो गडबडी हुन । २०३६ सालमा उनीहरूले निर्दललाई बलियो बनाउन लाखौँ भारतीयलाई नागरिकता दिन सुरु गरेका थिए’ उहाँले भन्नुभयो– ‘आफ्नो सत्ता चलाउन कालापानीमा सेना बसाले । त्रिभुवन त देशै इन्डियालाई बुझाउन गएका हुन् ।’
ज्ञानेन्द्र शाहको व्यवस्थामा सुधार गर्ने दाबीप्रति उहाँले व्यङ्ग्य कस्नुभयो ।
उहाँले भन्नुभयो– ‘छोरो सुधार्न नसक्नेले राज्य सुधार्छ ? एउटा परिवार बचाउन नसक्नेले देश बचाउँछ ? यी सब वाहियात कुरा हुन् ।’
समता : पुरानो सङ्गठन
उहाँले जातीय समता समाज नेपालको सबैभन्दा पुरानो सङ्गठन भएको जानकारी दिनुभयो ।
नेपालका चर्चित दलित नेताले समता समाजको मुखपत्र “समता सन्देश” पढेर राजनीति सुरु गरेको अभिव्यक्ति दिने गरेको उहाँले स्मरण गर्नुभयो ।
स्वार्थकै लागि आस्था नबदल्न आग्रह गर्दै उहाँले निष्ठाको यात्रामा अविचल लागिरहे देशको भविष्य उज्ज्वल रहेको विश्वास व्यक्त गर्नुभयो ।
न्यायको पक्षमा बाहुन सांसदको साथ
अन्तर्वार्ताको क्रममा उहाँले सत्ताधारी पार्टीका दलित सङ्गठनका नेता वा सांसदहरू न्यायको पक्षमा उभिन नसकेको स्मरण गर्नुभयो ।
रुकुमको चौरजहारी सोती घटनाको स्मरण गर्दै उहाँले त्यहाँ छानबिन गरेर यथार्थ प्रतिवेदन ल्याउन दलित सांसदले साथ एक जना सांसदको अभिव्यक्ति स्मरण गर्नुभयो ।
‘मीन विश्वकर्माले भन्नुहुन्थ्यो, मलाई दलित सांसदले साथ दिनुभएन सही प्रतिवेदन ल्याउन तर बाहुन सांसदले साथ दिनुभयो’ महासचिव विश्वकर्माले अगाडि भन्नुभयो– ‘छानबिन समितिमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल हुनुहुन्थ्यो ।’
सङ्घीयता
महासचिव विश्वकर्माले सङ्घीयताले सिङ्गो देशलाई नोक्सानी पुऱ्याइरहेको बताउनुभयो ।
सङ्घीयतामा विदेशी स्वार्थ रहेको स्पष्ट पार्दै उहाँले अगाडि भन्नुभयो– ‘सङ्घीयताले दलितलाई फाइदा गर्ने कुरै भएन, राज्यलाई नै फाइदा गर्दैन भने ।’
उहाँले छिटोभन्दा छिटो सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
दलित सन्दर्भ
नेपालको इतिहासमा कामको आधारमा विभेद हुँदै आएको बताउँदै उहाँले भन्नुभयो– ‘जो उपेक्षित छ, त्यसलाई घृणित काममा लगाइयो भने टाँठाबाठाले राम्रो काम गर्ने भए । त्यसैलाई पछि कानुनी मान्यता मिल्यो ।’
२०७२ सालको संविधान कार्यान्वयन भइरहे पनि जातीय छुवाछुत भेदभावमा फरक नआएको उहाँको भनाइ थियो ।
ॅलिखित कानुनभन्दा व्यावहारिक कानुन ठुलो हुँदो रहेछ, सामाजिक कानुनभन्दा पनि’ उहाँले भन्नुभयो– ‘समाजमा चलिआएको परम्परा एकदम खतरा कानुन हुँदो रहेछ । त्यसलाई मेट्न लिखित कानुनले पनि सकिरहेको छैन ।’
एनजिओ र इसाईकरण
अन्तर्वार्ताको क्रममा उहाँले एनजिओको सीमित प्रकारले प्रगतिशील भूमिका भए पनि अन्ततः देशका लागि त्यो घातक हुने बताउनुभयो ।
‘देशमा एनजिओ, आइएनजिओले जति भूमिका खेल्छ, त्यति देश परनिर्भर हुन्छ’ उहाँले भन्नुभयो ।
त्यस्तै, देशमा इसाईकरण प्रक्रिया तीव्र बन्दै गएको सन्दर्भमा जुम्ला, हुम्ला, मुगुमा चर्च खुलिसकेको तथ्य अगाडि राख्नुभयो ।
‘धार्मिक स्वरूपबाट नेपाल कब्जा गर्न आइएनजिओले फन्डिङ गरिरहेका छन्’ उहाँले भन्नुभयो– ‘इसाईहरूले इसाई हुँदाबित्तिकै स्वर्णिम राज्य प्राप्त हुन्छ, अरू सबै नर्कमा जान्छन् भन्ने नराम्रो सन्देशका साथ जनतामाझ प्रचार गरिरहेका छन् ।’
कर्णाली तथा सुदूर पश्चिमतिर रूढीजन्य संस्कार गम्भीर रूपमा रहेकाले पनि इसाईकरण सफल भइरहेको उहाँको भनाइ थियो ।
दैलेख, कालीकोटतिर देउता लाग्यो भने जग्गा छोड्ने चलन रहेको स्मरण गर्दै उहाँले भन्नुभयो– .देउता लाग्यो भनेर जग्गा छोड्दै जाने हो भने पृथ्वी नै बाझै छोडिदिने ? मान्छे कहाँ बस्ने ?’
(अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शनको युट्युब च्यानल वाच गर्नुहोला)