काठमाडौँ । राप्रपा (नेपाल) का अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले काठमाडौँ नक्सालस्थित नारायण चौरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले नेपालखबरलाई जानकारी दिए।
Advertisement
जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादीले गणतन्त्रको विरोधमा आन्दोलन गरिरहेका छन्।
राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो। उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए। केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको थियो।
राजावादीले काठमाडौँको नारायणहिटी आसपास पनि प्रदर्शन गर्ने तयार गरेसँगै उक्त क्षेत्र भने प्रशासनले यसअघि नै निषेधित क्षेत्र घोषणा गरिसकेको छ।