भरतपुर । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल देशकै प्रथम स्थान प्राप्त गर्ने अस्पताल बनेको हो ।
अस्पतालले दिएको जानकारीअनुसार मन्त्रालयले देशभरिका १५ ओटा सङ्घीय अस्पतालमा यो अनुगमन गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले उत्कृष्ट अङ्कसहित भरतपुर अस्पतालले ॅग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिनुभयो ।
‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ ।
‘ग्रिनजोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उहाँले बताउनुभयो ।
सुशासन तथा व्यवस्थापन, चिकत्सकीय सेवा र फोहरमैलालगायतका वस्तुको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ । यो हरेक वर्ष मन्त्रालयले गर्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश वुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनुगमन गरेको थियो ।
सुपरिटेन्डेन्ट प्राडा पौडेलले गुणस्तरीय सेवामा आफूहरू निरन्तर लागिरहेको बताउनुभयो ।
‘अस्पतालको सिङ्गो टिम सेवासुधारमा लागिरहेको छ, जसको परिणाम राम्रो आयो’ उहाँले भन्नुभयो ।
मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष स्तरवृद्धि गराउँदै आएको छ ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त गरेको हो । (रासस)