काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गर्नुभयो ।
कुनैपनि सरकारले आयोजना गरेका कार्यक्रमहरुमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरुको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए । कुनै अर्थ र महत्व नै नबुझ्नेहरुको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलन चाहीँ छोड्दा पनि हुन्छ की क्यो हो । कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ । कहिल्यै देखा पर्दैन । त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् की जस्तो लाग्छ । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ । आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने । यस्तो हुँदैन । अर्को पल्टसम्ममा सोधीखोजि गर्नुहोला । हेर्नुहोला रेकर्ड को एक पटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो की होइन सोधेर आउने नभए नाम नराख्नु होला । हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने ।’
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताउनु भयो ।
सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने
सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ। सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा यसबारेमा जानकारी गराइएको हो।
सरकारले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताए। उनकाअनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन्।
बैठकले जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तीन तहकै सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ। यस्तै विदेशस्थित नेपाली राजदूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ। जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ।