कमल पौडेल, प्युठान ।
राष्ट्रिय जनमोर्चा, प्युठानको आयोजनामा मल्लरननी गाउँपालिकामा प्रतिगमनको खतराविरुद्ध जनचेतना सभा सम्पन्न भएको छ ।
बिहीबार चुजाठाटीमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वसांसद दुर्गा पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो ।
उडाएर चोकबाट सुरु भएको र्यालीले नारा जुलुस सहित चुजाठाटी बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले मसानघाटमा पुगेको राजतन्त्रलाई फेरिगद्दीमा ल्याई शासन सञ्चालन गर्ने कुरा दिवा सपना मात्रै भएको बताउनुभयो । उहाँले यस्तो सपना नदेख्न प्रतिगमनकारीहरूलाई चेतावनी दिनुभयो।
सत्तासीन दलहरूकै गलत क्रियाकलापका कारण यस्तो अवस्था आएको हुँदा यसलाई यसलाई सबै शासकहरूले बुझेर यो गणतन्त्रको रक्षाका लागि लाग्न पौडेलले आग्रह गर्नुभयो ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य कृष्णबहादुर खड्का, लुम्बिनी प्रदेशका अध्यक्ष बमबहादुर खत्री, लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, नेकपा (मसाल) प्युठान जिल्ला प्रवक्ता राम पहाडी, अखिल नेपाल युवा संघका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, जनजाति सम्मेलनका महासचिव अमरध्वज राना, जातीय समता समाजका नेता सूर्य नेपाली लगायतको उपस्थिति रहेको थियो।

राजमो मल्लरानी गाउँ समितिका अध्यक्ष गुणेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष डोरप्रसाद पोखरेलले स्वागत र पालिका सचिव दुर्गा थापाले सञ्चालन गर्नुभएको थियो।
सभाको बीचबीचमा रक्तिमका कलाकारहरूले जोशिला गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
