काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) सहितका १० राजनीतिक दल तथा संगठनहरुले एमसीसी परियोजना लागू गरे नेपाल अमेरिकाको सैन्य अखडामा बदलिन सक्ने चेतावनी दिएका छन् । सोमबार संयुक्त वक्तव्य प्रकाशित गरी १० दलले एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुनेमा जोड दिएका छन् ।
सरकारको नीति तथा कार्यक्रममा आएको एमसीसी अन्तर्गतका परियोजनाका लागि सरकारले बजेट वक्तव्य मार्फत आयोजना कार्यन्वयन गर्न बजेट छुट्याएको छ । संसदले एमसीसी पारित नगर्दै घुमाउरो तरिकाले त्यसलाई स्वीकार गरिएको भन्दै चौतर्फी रुपमा विरोध भइरहेको छ ।
नेकपा (मसाल) सहितका १० राजनीतिक दलले एमसीसी खारेज गर्न दबाब दिँदै आएका छन् भने सत्तारुढ दलभित्रै संसदले यो पारित गर्न नहुने आवाज उठिरहेको छ ।
यस्तो छ संयुक्त वक्तव्य:
१. हामी तलका राजनीतिक पार्टीहरूले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा बृहत्तर राष्ट्रिय हितका विरुद्ध भएको ठहर गर्दै त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।
२. एमसीसी अमेरिकाको इण्डोप्यासिफिक रणनीति अन्तरगतको कार्यक्रम हो । त्यो कुरालाई स्वयं अमेरिकाका विभिन्न सुरक्षा निकाय, मन्त्री तथा काठमाडौँ स्थित अमेरिकी दुतावासले पनि सार्वजनिक रूपमा नै स्वीकार गरिसकेका छन् ।
३. त्यो अवस्थामा उक्त एमसीसी इण्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दावी निराधार र हास्यास्पद छ ।
४. एमसीसीको उद्देश्य हिन्द प्रसान्त क्षेत्रका सबै देशहरूलाई आफ्नो सैन्य रणनीतिका पक्षमा लैजाने र चीनका विरुद्धको मोर्चावन्दीमा ती सबै देशहरूलाई सामेल गर्ने हो ।
५. उक्त एमसीसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र हाम्रो देश अमेरिकाको सैन्य रणनीतिको अङ्ग बन्न पुग्ने छ ।
६. त्यसरी एमसीसीले नेपाललाई अमेरिकाको सैन्य अखडामा बदल्न सक्नेछ ।
७. त्यसैले हामीले एमसीसीको कडा विरोध गर्दै त्यसलाई खारेज गर्नका लागि माग गर्दछौँ र जनतासित त्यसका विरुद्ध देशव्यापी रूपमा आवाज उठाउन अपील गर्दछौँ ।
१. मोहनविक्रम सिंह, महामन्त्री, ने.क.पा. (मसाल)
२. मोहन बैद्य (किरण), महासचिव, ने.क.पा. (क्रान्तिकारी–माओवादी)
३. सीपी मैनाली, महासचिव, ने.क.पा. (माले)
४. चित्रबहादुर के.सी., अध्यक्ष, राष्ट्रिय जनमोर्चा
५. सी.पी. गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
६. लोकनारायण सुवेदी, सहसंयोजक, नेपाल कम्युनिष्ट पार्टी
७. गोपाल किराती, अध्यक्ष, ने.क.पा. (माओवादी केन्द्र)
८. सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल
९. साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद, नेपाल
१०. केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त)