काठमाडौँ । नेपालले निर्यात गर्ने वस्तुमा सबैभन्दा ठुलो हिस्सा भटमास तेलको देखिएको छ ।
नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रूपमा निर्यात हुने गरेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपियाँ बराबरको सामान निर्यात गरेको छ । यो अवधिमा भटमासको तेल मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार रुपियाँ बराबरको निर्यात भएको छ अर्थात् नेपालले गर्ने कुल निर्यात रकमको एकतिहाइ भटमास तेलको निर्यातबाट आइरहेको छ ।
त्यस्तै, अहिले नेपालले बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल छ । नौ महिनामा नौ अर्ब २३ करोड २७ लाख ६० हजार रुपियाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । यसमा पनि अर्धप्रशोधित सूर्यमुखी तेल आयात गरेर त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्छ ।
विभागका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रूपमा नेपालका व्यवसायीले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् ।
‘यसमा हाम्रा छिमेकी देशले अरू मुलुकबाट आयात गर्दा कति भन्सार महसुल लाग्छ भन्ने कुराले अर्थ राख्छ । साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुटसुविधा उपलब्ध गराइरहेकोमा त्यसलाई नेपाली व्यवसायीले अवसरको रूपमा लिए’ उहाँले भन्नुभयो ।
भारतले तेस्रो मुलुकबाट आयात गर्ने तेलमा बढी भन्सार लाग्ने तर नेपालले साफ्टा सुविधाअन्तर्गत भन्सार छुट पाउने भएका कारण सस्तो मूल्यमा तेल निर्यात गर्न सम्भव भएको हो । विगतमा पामतेलको निर्यात सबैभन्दा बढी हुने गरेको थियो तर २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिन्छ ।
प्रशोधित तेलको निर्यात बढेसँगै नेपालको समग्र निर्यातको अङ्कसमेत बढेको देखिएको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मात्र निर्यात ६५ दशमलव १६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको कुल निर्यात एक खर्ब १३ अर्ब ९४ करोड रुपियाँ बराबर थियो जबकि चालु आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपियाँ बराबर पुगेको छ ।
नेपालले निर्यात बढी गरेको अन्य वस्तुमा कार्पेट, धागो, चियालगायत छन् । यो अवधिमा कार्पेट आठ अर्ब नौ करोड ७५ लाख ३५ हजार रुपियाँ बराबरको निर्यात भएको छ भने अलैँची छ अर्ब २६ करोड नौ लाख रुपियाँ बराबरको निर्यात भएको छ ।
चालु आवको तेस्रो त्रैमाससम्ममा मुलुकले कुल १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख रुपियाँको वैदेशिक व्यापारमा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपियाँको घाटा व्यहारेको छ । यो अवधिको कुल वस्तु निर्यात रू १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख बराबरको छ ।
नेपालले बढी आयात गर्ने वस्तुमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ । पछिल्लो नौ महिनामा ९१ अर्ब २६ करोड तीन लाख रुपियाँ बराबरको डिजेल ४७ अर्ब ७७ करोड ६४ लाख रुपियाँ बराबरको पेट्रोल र रू ४६ अर्ब ५८ करोड ७० लाख बराबरको एलपी ग्याँस आयात गरेको छ ।
त्यस्तै, नेपालले बढी आयात गर्ने वस्तुमा पनि कच्चा (क्रुड) भटमास तेल र कच्चा सूर्यमुखी तेल पनि पर्दछन् । गत साउनदेखि चैत मसान्तसम्ममा ६६ अर्ब पाँच करोड बराबरको अर्धप्रशोधित सोयाबिन तेल र २२ अर्ब ६४ करोड रुपियाँ बराबरको अर्धप्रशोधित सनफ्लावर तेल आयात भएको छ ।
नेपालले बढी आयात गर्ने अन्य वस्तुमा फलाम तथा फलामजन्य वस्तु, स्मार्टफोन, सुन, विद्युतीय सवारी साधनलगायत छन् । नौ महिनामा ३७ अर्ब ८९ करोड रुपियाँ बराबरको फलाम तथा फलामजन्य वस्तु २५ अर्ब ३८ करोड रुपियाँ बराबरको स्मार्टफोन र १० अर्ब ९४ करोड ७९ लाख रुपियाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको हो ।