काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले व्यावहारिक समस्याका कारण जनजाति र समताका बेग्लाबेग्लै सङ्गठन बनेको खुलासा गर्नुभएको छ ।
२०८२ वैशाख ३ गते बुधबार कपनमा आयोजित जनजाति सम्मेलन र जातीय समता समाजको अड्तिसौँ संयुक्त स्थापना दिवसको कार्यक्रममा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
दुवै समुदाय उत्पीडित समुदाय भएकाले जातीय समस्या समाधानको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनदेखि नै छलफल चलेको उहाँको भनाइ थियो ।
‘पाँचौँ महाधिवेशनपछि जनजाति र दलित समुदायको एउटै सङ्गठन निर्माण गर्ने निर्णयअनुसार अखिल नेपाल दलित जनजाति सङ्घ स्थापना भयो’ उहाँले भन्नुभयो– ‘पछि व्यावहारिक समस्याका कारण जनजाति र समता समाज नामका फरक फरक सङ्गठन स्थापना गरियो ।’
दुवै सङ्गठन एकै मितिमा स्थापना गरिएकाले स्थापना दिवस पनि एकै दिन परेको उहाँको भनाइ थियो ।
‘पहिला रामसिंह श्रीस, सन्तबहादुर नेपालीसहितको संयुक्त न्युक्लियस बनेको थियो’ उहाँले भन्नुभयो– ‘पछि जनजातिको रामसिंह श्रीस, परि थापा र मनमायासमेतको एउटा न्युक्लस र सन्तबहादुर नेपाली, राजेश विश्वकर्मा र भीम विश्वकर्मासहितको अर्को न्युक्लियस बन्यो ।’
उहाँले यी दुवै सङ्गठनले नेकपा (मसाल) को राजनीतिलाई अगाडि बढाइरहेको दाबी गर्नुभयो ।
बुढाथोकीले मसालको सही विचार अपनाएका कारण जनजाति सम्मेलन र समताले साम्प्रदायिक विचारबाट अलग रहेको उहाँले स्पष्ट पार्नुभयो ।