शंकरप्रसाद पोखरेल, बुटवल ।
प्रदेश नं ५ का सांसद तारा जिसीले खेती गर्ने किसानलाई सरकारले निशुल्क जग्गा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । प्रदेश संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि शनिबार धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद जिसीले हदबन्दी भन्दा बढी जग्गा हुनेहरुको जमिन सरकारले बिना मुआब्जा खोस्नुपर्ने बताउनुभयो ।
विदेशमा रोजगारी गुमाएर फर्कने लाखौं युवाहरुलाई अब आधुनिक कृषितर्फ आकर्षित गर्नुपर्ने भन्दै जिसीले भूमिहीन किसानलाई निशुल्क जग्गा दिनुपर्ने धारणा राख्नुभएको हो ।
‘वैदेसिक रोजगारीमा गएका हाम्रा लाखौं दाजुभाइहरु रोजगारी गुमाएर फर्कँदैछन् । अब उनीहरुलाई सरकारले देशभित्रै रोजगार दिनुपर्नेछ’ सांसद जिसीले भन्नुभयो, ‘त्यसका लागि जमिन नहुनेहरुलाई सरकारले निशूल्क जग्गा उपलब्ध गराउनुपर्छ । हदबन्दी भन्दा बढी जमिन राख्ने र खेती नगर्नेहरुबाट बिना मुआब्जा जग्गा खोसेर उनीहरुलाई बाँड्नुपर्छ ।’
सांसद जिसीले कृषितर्फ युवालाई आकर्षित गरी मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बेला आएको बताउनुभयो । उहाँले आफू प्रदेश संसदमा संघीयतालाई मलजल गर्न नभइ भन्डाफोर गर्न आएको पनि बताउनुभयो ।
‘अहिलेको अवस्थामा संघीयता खारेज गरेर त्यसको रकम कृषि र बेरोजगार युवा अनि कृषि ब्यबस्थापनमा लगाउनुपर्छ’ जिसीले भन्नुभयो ।
फरक प्रशंगमा उहाँले प्रदेशका मन्त्रीहरुले बजेट बाँडफाँड गर्दा भेदभाव गरेको आरोप समेत लगाउनुभयो ।
पर्यटन मन्त्री समक्ष आफू तीन पटक बजेट माग्न गएपनी मन्त्रीले कुनै वास्ता नगरेको भन्दै संसदमा मन्त्रीले जवाफ दिनुपर्ने उहाँले माग राख्नुभयो ।
यस्तै, कोरोना महामारी रोक्न प्रदेश सरकारले कुनै कदम चाल्न नसकेको उहाँको गुनासो थियो । त्यसका लागि तत्काल प्रभावकारी कदम चाल्न पनि सांसद जिसीले आग्रह गर्नुभएको छ ।