दुबई । युएई नेपाली एकता समाजले नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नक्सा सार्वजनिक गर्नुलाई स्वागत गर्दै उक्त भूमि तुरुन्त फिर्ता ल्याउन माग गरेको छ ।
समाजका सचिव केपी विरहीको हस्ताक्षरमा मे २९, २०२० का दिन जारी वक्तव्यमा आफ्नो भूमिमा भारतले दुई लेनको सडक निर्माण गर्दासम्म पनि पत्तो नपाउनुलाई गम्भीर आपत्तिको विषय पनि बनाइएको छ ।
युएई एकता समाजको वक्तव्यमा नीति तथा कार्यक्रममा एमसिसी परियोजनालाई घुमाउरो तरिकाले सामेल गरिएकोमा विरोध जनाइएको छ ।
त्यसैगरी, वक्तव्यमा रुकुम पश्चिमको चौरजहारी–८ मा भएको जातीय विभेदसम्बन्धी घटनाको निन्दा गरिएको छ । घटनाका मृतकहरूप्रति श्रद्धाञ्ज्ली व्यक्त गर्दै वक्तव्यमा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, दोषी पत्ता लगाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।
वक्तव्यमा कोरोना भाइरसका कारण अलपत्र परेका खाडी मुलुकलगायत विश्वभरिका अलपत्र नेपाली नागरिकलाई तत्कालै स्वदेश ल्याउने बन्दोबस्त मिलाउन सरकारसित आग्रह गरिएको छ ।