(मिलन सुनार, स्ववियु सभापतिका उम्मेदवार, अखिल (छैठौं), पृथ्वीनारायण क्याम्पस पोखरा ।)
पोखराको पृथ्वीनारायण क्यापस नेपालको सर्वाधिक धेरै विद्यार्थी अध्ययन गर्ने प्राज्ञिक थलो हो । यहाँ नेपाल भरबाट करिव १० हजार विद्यार्थीहरूले आफ्नो उज्ज्वल भविष्यको सपनालाई साकार पार्न उर्जाशील समय खर्च गरेका छन् । आजका विद्यार्थी भोलिको देश निर्माणको आधार हुन् । समाज परिवर्तन र विकासको संवाहक पनि हुन्।
विशेषगरी जेन्जी पुस्ताका युवाहरूलाई आज राष्ट्र, राष्ट्रियता, देशप्रेमको भावनाबाट ओतप्रोत बनाई सदियौँदेखि समाजका रहँदै आएको क्रुर जातीय विभेदप्रति सर्घषशील न्याय स्वतन्त्रता र समाज रुपान्तरणको संवाहक बनाउन सक्नु पर्छ र हामी सचेत विद्यार्थीहरूले त्यसको नेतृत्व गर्नुपर्छ । म एउटा उत्पीडित जाति समुदाय र क्षेत्रको उर्जाशील विद्यार्थी भएको हुनाले त्यसको नेतृत्व गर्नुपर्ने आवश्यकताको महसुस गरिरहेको अवस्थामा हाम्रो संगठन अखिल (छैठौं) ले मलाई स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षको उम्मेदवारको रूपमा अगाडि सारेको छ । यस निर्णयप्रति म संगठनलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु र आगामी दिनमा संगठन र विद्यार्थीको हितमा केन्द्रित हुने प्रयत्न गर्ने छु ।
सुदूर गाउँमा जन्मेर त्यहाँको वास्तविकतासँग खेलेर म उच्च शिक्षा अध्ययनको शिलशिलामा विश्वविद्यालय तहमा आउँदा मलाई भुईं मान्छेको समस्या थाहा छ । उनीहरूको पीडा, मर्का र वास्तविकता थाहा छ ।
महान् सहिद भूमिराज सापकोटा, रोसनध्वज मल्ल, टीका बहादुर छन्त्याल र डोर बहादुर छन्त्यालको रक्तरन्जित भूमीको साथमा बागलुङ जिल्लाबाट नै सर्वप्रथम भगत सर्वजित विश्वकर्माहरूले दलित आन्दोलनको सवाल उठाएको हुँदा सहिदको सपनालाई आत्मसाथ गर्दै उत्पीडित जाति, समूदायको भावना र मर्मलाई आन्दोलनले पूर्णता दिनको लागि पनि उत्पीडित वर्गले समाजको नेतृत्व गर्नुपर्दछ ।
नेपालमा संघीयताको विकल्प स्थानीय स्वायत्तता हो । नेपालका प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा स्थानीय तहलाई स्वायत्तता दिने गरी प्रदेश खारेजी महाअभियानलाई आन्दोलन मार्फत सफल बनाउन हामी स्ववियुमा निर्वाचित भए त्यसमार्फत महत्त्वपूर्ण भूमिका खेल्ने छौँ ।
भष्टाचार रोक्दै आर्थिक अभियान र भष्टाचार विरूद्व खबरदारी अभियानको नेतृत्व पनि हामीले नै गर्न सक्छौँ भन्ने घटनाक्रमले स्पष्ट पारेको छ ।
खासगरी गण्डकी प्रदेश राजधानी नेपालको पर्यटकीय सम्भावनाको पुञ्जमा रहेको पोखराको पृथ्वीनारायण क्यापसबाट यसपटक स्ववियु सत्ताबाट फरक सन्देश दिनुपर्ने आवश्यकता झन् झन् बढेर गएको देखिन्छ । दक्षिण एसियामा जरो गाडेर बसेको भावनात्मक राजनीतिलाई नेपालबाट सदा सदाको लागि अन्त्य गर्दै विकास समृद्धि र स्वाधिन राष्ट्र निर्माणका लागि महान् कार्यभार अहिलेको जेन्जी पुस्ताले पूरा गर्नु छ ।
त्यसको पहिलो आधार उत्पीडित जाति, समूदाय क्षेत्रका मानिसहरूमा सामाजिक, राजनीतिक, आर्थिक जागरणको साथमा नेतृत्व आवश्यक छ । हामीले त्यस किसिमको नेतृत्व निर्माणको आधार तयार पार्न उम्मेदवारी खडा गरेका छौँ। यस अर्थमा मलाई विश्वास छ कि हामीले चुनाव जितिन्छ अनि जित्नु पर्छ ।
क्यापसमा विद्यार्थीलाई आधुनिक सूचना प्रविधीसँग समुचित रुपमा समायोजन हुन सक्ने वातावरण निर्माण गर्दै सबै प्रकारको लाइन बस्ने समस्याबाट छुटकारा पाउन अखिल (छैठौं)लाई स्ववियुमा निर्वाचित गर्न आवश्यक छ ।
वर्तमान विश्वको जल्दो बल्दो समस्याको रुपमा रहेको जलवायु परिर्वतनको असरबारे चेतनामुलक कार्यक्रम सञ्चालन गरि जागरण ल्याउनुपर्ने आवश्यकतामा अखिल (छैठौं) जोड दिन्छ ।
पृथ्वीनारायण क्यापसमा छात्रवासलाई व्यवस्थापन गरि सबै गरिब विद्यार्थीको पक्षमा शिक्षाको पहुँच पुर्याउन अखिल (छैठौं) प्रतिवद्ध छ । क्यापसमा हुने सबै कार्यक्रमहरुलाई वैज्ञानिक दृष्टिकोणको साथ सर्वपक्षीय सहमतिमा सञ्चालन गर्नेछौँ ।
हरेक गतिविधीमा सरोकावाला निकायसँग छलफल गर्दै अगाडि बढ्ने, उत्पीडित विद्यार्थीको पक्षमा कार्य गर्ने महान् अभिभाराको अवसर मलाई पृथ्वीनारायण क्यापसको उर्जाशील पुस्ताबाट प्राप्त हुने विश्वास छ । त्यसको लागि प्रत्यक्ष तथा समानुपातिक रूपमा अखिल (छैठौं)लाई मतदान गर्न आह्वान गर्दछु।
धन्यवाद ।