हेटौँडा । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका छन् ।
शनिबार हेटौँडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री दाहालको तस्बिर जलाएका हुन्।
प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशन उद्घाटन सत्रमा सो संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोस्टममै प्रचण्डको फोटो जलाए ।
सयौँ बैंक लुटिएको, देशमा आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएकोभन्दै उनले प्रचण्डको तस्बिर जलाएको बताए ।
उनले रोस्टममा प्रचण्डको फोटो जलाइरहँदा संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह प्रमुख अतिथि थिए ।
शुक्रबार प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइ मारा र मूर्ति चोर’ जस्ता गम्भीर आरोप लगाएका थिए ।
सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भनेका थिए, ‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए भन्ने नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’
उनले अगाडि भनेका थिए, ‘मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो।’
प्रचण्डको यस्तो अभिव्यक्तिपछि राजावादीहरू थप चिढिएका छन् ।