काठमाडौँ । गुल्मीको रुद्रावती बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा अखिल (छैठौं) को तर्फबाट कर्णबहादुर नेपाली सभापति पदको
उम्मेदवार हुनुभएको छ । अखिल (छैठौं)को केन्द्रीय कार्यालयले सो जानकारी दिएको हो ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा जन्मनुभएका नेपाली हाल रुद्रावती बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।
अखिल (छैठौं) को विद्यार्थी आन्दोलनमा सानैदेखि सक्रियतापूर्वक सहभागी हुनुभएका उहाँले विद्यार्थी आन्दोलनका एजेन्डासहित क्याम्पसलाई सुदृढ शैक्षिक संस्थाको रूपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुहुन्छ ।
हाल उक्त क्याम्पसको स्ववियु सचिव रहनुभएका उहाँ अखिल (छैठौं) को केन्द्रीय सदस्यसमेत रहनुभएको छ ।
सत्तागठबन्धनका प्रमुख घटकका विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुलाई चुनौती दिँदै अखिल (छैठौं) को तर्फबाट उहाँलगायतका साथीहरू चुनावी मैदानमा उम्मेदवार हुनुहुन्छ ।
उक्त क्याम्पसमा सचिव पदमा भावना दर्लामी, सदस्यमा नितु नेपाली र निराजन खरेल उम्मेदवार रहनुभएको छ ।