काठमाडौँ । अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले आफ्नो सङ्गठनले आगामी चैत ५ गतेको स्ववियु निर्वाचनमा हार्नुपर्ने कुनै कारण नभएको दाबी गर्नुभएको छ ।
सैद्धान्तिक तथा राजनीतिक हिसाबले आफूहरू सही भूमिका रहेको बताउँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
२०८१ फागुन २९ गते बिहीबार युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्मासित कुराकानी गर्दै उहाँले भन्नुभयो– ‘सही विचारको कुरा गर्ने हो भने हामी हार्नुपर्ने कुनै कारण छैन ।’
अन्तर्वार्ताको क्रममा उहाँले अखिल (छैठौं) ले स्ववियु निर्वाचनमा दुईओटा विषयतर्फ ध्यान केन्द्रित गरेको बताउनुभयो ।
‘अहिलेको परिस्थितिमा हामीले मुख्यतः दुईओटा नारा प्रमुख रूपमा ल्याएका छौँ’ उहाँले भन्नुभयो– ‘एउटा जनवादी शिक्षा र दोस्रो तात्कालिक राजनीतिलाई समेट्ने गरी सङ्घीयताको खारेजी स्ववियु निर्वाचनको एजेन्डा बनेको छ ।’
अध्यक्ष जिसीले स्ववियु निर्वाचनमा उम्मेदवारी सबै प्रदेशमा कायम होस् भनेर अधिकतम क्याम्पसबाट उम्मेदवारी दिइएको जानकारी दिँदै स्ववियुको संस्थागत महत्त्वलाई तालमेलसँग जोडेको दाबी गर्नुभयो ।
तालमेलको विषयमा सोधिएको विषयमा उत्तर दिँदै गर्दा उहाँको भनाइ थियो– ‘प्रतिक्रियावादी विद्यार्थी सङ्गठन, खासगरी राजावादी विद्यार्थी सङ्गठनसँग द्विपक्षीय तालमेल कहिँ पनि भएको छैन ।’
स्ववियुको सन्दर्भमा बढी राजनीति भएको र त्यसलाई विघटन गर्नुपर्ने आलोचकको तर्कप्रति उहाँले आंशिक सहमती जनाउनुभयो ।
‘स्ववियु सम्पूर्ण रूपले ठिक छ म भन्दिनँ । स्ववियुभित्र पनि विकृति छन्’ उहाँले भन्नुभयो– ‘तर स्ववियु चाहिँदैन भन्ने कुरा सुन्दा जति मिठो लाग्दछ, वास्तवमा यो धेरै नै खतरनाक कुरा हो ।’
स्ववियुको इतिहासबारे सङ्क्षिप्त चर्चा गर्दै उहाँले २०२२ वैशाख २९ गते नेपालका विद्यार्थीहरू स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, गोर्खा भर्ती केन्द्रको खारेजीलगायतका विषयलाई लिएर आन्दोलनमा आएको र त्यो आन्दोलनपछि स्वतन्त्र विद्यार्थी आन्दोलनको विषय व्यापक रूपमा उठेको स्मरण गर्नुभयो ।
अन्तर्वार्ताको क्रममा उहाँले त्रिविमा चरम राजनीति भएकाले पनि त्यहाँ चरम बेथिती रहेको औल्याउनुभयो । त्यस क्रममा उहाँले आफ्ना कमजोरी लुकाउन त्रिवि प्रशासनले दोषजति विद्यार्थीलाई दिने गरेको पनि बताउनुभयो ।
त्यस्तै, उहाँले विद्यार्थीका मुद्दा निजी स्कुलमा अझ गम्भीर रूपमा उठाउनुपर्ने आवश्यकतामा जोड दिँदै आगामी समयमा त्यसतर्फ आफ्नो सङ्गठनले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्नातकोत्तरतर्फको नेपाली विषयमा पारिजात र बिपी कोइरालाका पाठ हटाइएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले आफूहरू त्यसको विरोधमा रहेको बताउनुभयो ।
‘स्नातकोत्तर नेपालीमा हिँजो जसरी पारिजातको कोर्स थियो, त्यसलाई हटाइएको छ नियोजित रूपमा, यसबारे हामीले आन्दोलन गर्नुपर्छ’ जिसीको भनाइ थियो ।
अखिल (छैठौं) एजेन्डा र हाम्रो शक्ति, सामर्थ्यको हिसाबले सडकमै रहेको बताउँदै उहाँले सरकारी संस्थाभित्रै शुल्क लिन थालिएकोमा आफूहरूको विरोध रहेको प्रष्ट पार्नुर्भयो ।
त्यस्तै, उहाँले पढ्नकै लागि विदेश गएका नेपाली विद्यार्थीको मामिलामा मुख्य कुरा रोजगारीको भएको बताउनुभयो । आफू विदेश जाँदा नेपाली विद्यार्थीहरूले अध्ययनमा भन्दा पनि रोजगारीमा ध्यान केन्द्रित गरेको उहाँको भनाइ थियो ।
उहाँले नेपालमा प्लस टू, स्नातक, स्नातकोत्तरका कक्षाहरू समयमै पूरा नहुँदा रोजगारीको खोजीमा विद्यार्थीहरू विदेश पलायन भइरहेको धारणासमेत व्यक्त गर्नुभयो ।
सबैजसो विद्यार्थी सङ्गठनले उठाउने तर तिनका मातृपार्टीले सरकारमा पुगेर पनि व्यवहारमा कहिल्यै कार्यान्वयन नगर्ने जनवादी शिक्षाबारे सोधिएको प्रश्नमा उहाँको भनाइ थियो– ‘जनवादी शिक्षा भनेको जीवनका लागि परिश्रम गरी आनन्दसँग आफ्नो जीवन गुजार्ने शिक्षा प्राप्त गर्नु हो ।’
आगामी चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाले घोषणा गरेको सङ्घीयता विरोधी आन्दोलनलाई आफूहरूले सघाउने प्रतिबद्धता उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘नेतृत्व तहमै रहेर सडक सङ्घर्षको अघिल्लो रोहमै अखिल (छैठौं) हुनेछ ।’
(अध्यक्ष जिसीसितको भिडियो अन्तर्वार्ताको पूर्णका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्नुहोस्)