काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले नेपालमा अमेरिकी चासो बढेको बताउँदै भन्नुभएको छ– ‘कुनै दिन अमेरिकाले नेपालका नेपालीलाई बिहारतिर पठाइदिऊ, यहाँ चीनको विरुद्ध अमेरिकाले परेड खेल्नुपऱ्यो भन्न बेर छैन ।’
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको २०८१ फागुन १६ गते शुक्रबार अबेर राती सम्पन्न आठौँ राष्ट्रिय भेलामा उद्घाटन मन्तव्य राख्दै उहाँले यस्तो धारणा अभिव्यक्ति दिनुभएको हो ।
‘पछिल्लो समयमा नेपालमा अमेरिकाको इन्ट्रेस्ट कति बढिरहेको छ भन्ने जगजाहेर नै छ’ उहाँले भन्नुभयो– ‘कुनै दिन अमेरिकाले नेपालका नेपालीलाई बिहारतिर पठाइदिऊ, यहाँ चीनको विरुद्ध अमेरिकाले परेड खेल्नुपऱ्यो भन्न बेर छैन ।’
उहाँले अगाडि भन्नुभयो– ‘यदि अमेरिकाले यस्तो प्रस्ताव गऱ्यो भने नेपालको अहिलेका शासकले लुत्रुक्क परेर हुन्छ भन्न पनि सक्छन् ।’
अध्यक्ष केसीले नेपाललाई चीन विरोधी अखाडा बनाउन अमेरिकाले चाहिराख्नुको अतिरिक्त प्राकृतिक सम्पदा कब्जा गर्नु अर्को कारण रहेको उहाँको दाबी थियो ।
‘अमेरिकाले चीनको विरुद्ध नेपाली भूमिलाई अखाडा बनाउन चाहान्छ, यो लुकेको कुरा भएन’ उहाँले भन्नुभयो– ‘त्यसका अतिरिक्त युक्रेन, प्यालेस्टाइनमा जस्तै नेपालका खनिज पदार्थ कब्जा गर्नका लागि पनि अमेरिकाको नेपालप्रतिको इन्ट्रेस्ट बढेको हो ।’
उहाँले नेपालमा युरेनियमजस्तो बहुमूल्य खनिज पदार्थ रहेकाले अमेरिकाले आँखा लगाएको हुन सक्ने शङ्का व्यक्त गर्नुभयो ।
सङ्घीयताको प्रसङ्गमा मन्तव्य राख्दै उहाँले केन्द्रबाट बजेट पठाएर प्रदेशमा सरकार, मन्त्री, सांसद र कर्मचारी धेरै दिन पाल्न नसकिने बताउनुभयो ।
‘एउटा सरकार पाल्न नसकेर विदेशबाट ऋण लिइरहेका सांसद्ले आठ आठ ठाउँका सरकार पाल्न सक्छन् ?’ केसीले व्यङ्ग्यमिश्रित प्रश्न गर्नुभयो ।
उहाँले सङ्घीयता अनावश्यक रहेको तथ्य आम रूपमा स्थापित हुँदै गइरहेको बताउनुभयो ।
आगामी चैत २४ देखि ३० गतेसम्म राजमोले सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन गर्न थालेको बताउँदै उहाँले देशका विभिन्न न्यायपूर्ण आन्दोलनमा जस्तै यो आन्दोलनमा पनि विदेशस्थित नेपालीको सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।
त्यस्तै, उहाँले नेपालीलाई आखिरमा नेपाली भूमि नै काम लाग्ने बताउँदै विदेश बसाइँ बाध्यता भएको स्मरण गराउनुभयो ।
‘भारत, बर्मा, भुटानमा नेपालीहरू पटक पटक लखेटिएका छन्’ उहाँले भन्नुभयो– ‘तपाईंहरू आखिरमा आउने आफ्नै मातृभूमि नेपालमा हो । त्यसैले आफ्नो देशप्रतिको जिम्मेवारी अझै बढाउनुपर्दछ ।’
मसालको आन्दोलनलाई प्रवासीका साथ : पुरी
भेलामा शुभकामना मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले मसालको आन्दोलनमा प्रवासी नेपालीको सधैँ साथ रहने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–’हामीलाई थाहा छ, तपाईंहरूले हाम्रो पार्टीको आन्दोलनलाई सधैँ साथ दिँदै आइरहनु भएको छ र आगामी दिनमा पनि त्यो सहयोग रहिरहनेछ ।’
प्रवक्ता पुरीले अहिले देशमा राजावादी खतरा बढ्दै गइरहकोतर्फ सहभागीको ध्यानाकर्षण गराउनुभयो ।
‘अहिले फेरि राजावादीहरू गणतन्त्रको विरुद्धमा सक्रिय भइरहेका छन्’ उहाँले भन्नुभयो– ‘देशमा प्रतिगमनको खतरा बढ्दै गइरहेकाले यस सन्दर्भमा नेपाली जनताले उच्च प्रकारको सतर्कता अपनाउनुपर्दछ ।’
उहाँले राष्ट्रिय जनमोर्चाको ब्यानरमा सङ्घीयता विरोधी आन्दोलनको सन्दर्भ उठाउँदै त्यसमा सहयोग गर्न पनि सम्पूर्ण प्रवासी नेपालीसित अनुरोध गर्नुभयो ।
देश र जनताप्रतिको दायित्व पूरा गरौँ : शर्मा
भेलामा शुभकामना दिँदै अर्का वक्ता राजमोका केन्द्रीय सल्लाहकार आनन्द शर्माले प्रवासस्थित नेपालीले आफ्नो घरपरिवारसँगै देश र जनताप्रतिको दायित्व पनि पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले देशको परिस्थिति राम्रो नहुँदासम्म घरपरिवारको अवस्था पनि राम्रो हुन नसक्ने बताउनुभयो ।
‘देशको परिस्थिति राम्रो नहुँदासम्म घरपरिवारको अवस्था पनि राम्रो हुन सक्दैन’ उहाँको भनाइ थियो ।
‘आफ्ना व्यक्तिगत र सामाजिक समस्या समाधान गर्नका लागि एकातिर सङ्गठनलाई व्यवस्थित गर्नुपर्छ’ नेता शर्माले यी दुवै जिम्मेवारीको सन्दर्भभा भन्नुभयो–’अर्कोतिर, तपाईंहरूले देश र जनताप्रतिको दायित्व पनि पूरा गर्नुपर्दछ ।’
अहिले देशको राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा मुख्य विषय बनेको बताउँदै उहाँले त्यसको पक्षमा क्रियाशील हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सङ्घीयताको विरोध राष्ट्रियता रक्षासित जोडिएको विषय भएको बताउँदै उहाँले त्यसमा सक्दो सहयोग गर्न अपिल गर्नुभयो ।