काठमाडौँ । सरकारले यही फागुन २२ गते भित्र ६ वटै अध्यादेश संसदमा निर्णयार्थ पेस गर्ने भएको छ । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सो निर्णय गरेको हो ।
माघ १८ गते बसेको संसद बैठकमा सरकारले ६ वटा अध्यादेश संसदमा पेश गरेको थियो। तर, भूमी अध्यादेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आपत्ति जनाएपछि निर्णयार्थ पेस हुन सकेको छैन।
सत्तारुढ दलले अध्यादेश पास गर्न जसपा र लोकतान्त्रिक समाजवादी दललाई फकाउने भएका छन्।
बैठकमा सहभागी नेकपा (एमाले) का प्रमुख सचेचक महेश बर्तौलाले भने, ‘सत्ताघटक दलहरूबीचमा २१ गतेभन्दा अगाडि छलफल गरेर, जसपा नेपाल, लोसपासहित बसेर छलफल गर्ने र अध्यायदेशलाई निर्णयार्थ पेस गर्ने भन्ने कुरा भयो ।
यस्तै, उनले पहिले अध्यादेश पेस गरेर संसदबाट स्वीकृत गराउने र प्रतिस्थापन विधेयक पेस गर्ने तयारी रहेको पनि बताए ।
नेता बर्तौलाका अनुसार भूमिसम्बन्धी अध्ययादेशका बारेमा जसपा नेपालसँग छलफल गरी आवश्यक संशोधन गर्ने सहमति पनि सत्तारुढ दलबीच भएको छ ।
बैठकमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमालेका उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल, विष्णु रिमाल, महासचिव शंकर पोखरेल सहभागी थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएपनि बैठकमा भने उनी सहभागी भएनन्।